डाक्टर अर्जुन सापकोटासहित आठ जनालाई भ्रस्टाचार मुद्दामा सफाइ

स्वास्थ्यसमाचार/ भ्रष्टाचार गरेको आरोप लागेका स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा. अर्जुनप्रसाद सापकोटासहित आठ जनालाई विशेष अदालतले सफाइ दिएको छ ।

कोभिड–१९ विरुद्धको सुरक्षा सामग्री खरिदमा भ्रस्टाचार गरेको भन्दै अख्तियारले सापकोटा सहित आठ जना बिरुद्ध मुद्दा दायर गरेको थियो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ८ मंसिरमा दायर गरेको मुद्दामा विशेष अदालतले १५ चैतमा फैसला सुनाउँदै आरोपित सबैलाई सफाइ दिएको हो।

विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले खरिद प्रक्रियामा बदनियत पुष्टि हुने ठोस तथा वस्तुनिष्ठ प्रमाण नदेखिएको निष्कर्ष निकाल्दै उनीहरूलाई निर्दोष ठहर गरेको हो।

विशेष अदालतको फैसलापछि डा. सापकोटाले अदालतले न्याय गरेको बताउनुभयो। उहाँले अब एक–दुई दिनभित्रै आपूर्ति केन्द्रमा पुगेर आफ्नो जिम्मेवारी सम्हाल्ने बताउनुभयो।

अख्तियारले उनीहरूमाथि मिलेमतोमा चौथो कम कबोल गर्ने कम्पनीसँग सम्झौता गरी ३१ लाख १७ हजार रुपैयाँ हिनामिना गरेको आरोप लगाएको थियो। कम कबोल गर्ने कम्पनीलाई जानी–जानी अयोग्य ठहर गरी अनियमितता गरिएको अभियोग दायर गरिएको थियो।

अदालतको फैसलासँगै निलम्बनमा रहेका सापकोटासहित लेखा अधिकृत राधाकृष्ण श्रेष्ठ, फार्मेसी सुपरभाइजर राजेश्वर रञ्जितकार, रेफ्रिजेनेटर टेक्निसियन रविकुमार महतो, बायोमेडिकल इन्जिनियर राजेश्वर कमली, लेखा नियन्त्रण कार्यालयका लेखा अधिकृत नेत्रनरसिंह कार्की तथा जनमुक्ति हेल्थ इन्टरप्राइजेजका सञ्चालक नवराज श्रेष्ठ पुनलाई सफाइ दिएको हो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :