दुर्गममा विशेषज्ञ सेवा सुनिश्चित गर्न १४ चिकित्सक दरबन्दीमै फिर्ता

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहुँचको भरमा काज मिलाएर काठमाडौँ तथा मुख्य शहरका अस्पतालमा केन्द्रीत विशेषज्ञ चिकित्सकलाई आफ्नै दरबन्दी रहेका दुर्गम तथा आवश्यक अस्पतालमा फिर्ता पठाउने काम सुरु गरेको छ ।

स्वास्थ्य मन्त्री निशा मेहताको निर्देशनमा मन्त्रालयले विशेषज्ञ चिकित्सक (नवौँ /दशौँ तह) लाई दरबन्दी भएका ठाउँ तथा आवश्यक स्थानमा खटाउन थालेको हो ।पहिलो चरणमा १४ जना विशेषज्ञ चिकित्सकहरुको काज फिर्ता गरि दरबन्दी भएको ठाउँमा पठाइएको मन्त्री मेहताको सचिवालयले जनाएको छ ।

विशेषज्ञ स्वास्थ्य सेवालाई देशभर सन्तुलित रूपमा बिस्तार गर्न गर्ने दिशामा महत्वपूर्ण र तीव्र कदम अघि बढेको छ । मन्त्रीको सचिवालयले भनेको छ, ‘दुर्गम जिल्लामा विशेषज्ञ चिकित्सकको उपलब्धता सुनिश्चित गर्ने, देशभर समुचित परिचालनमार्फत सुशासन कायम गर्ने तथा आम नागरिकलाई आफ्नै क्षेत्रमा विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यका साथ यो प्रक्रिया अघि बढाइएको हो।

लामो समयदेखि हुन नसकेको यो काम मन्त्रालयले अब कार्यान्वयनमा ल्याएको हो।’मन्त्रालयले पहिलो चरणमा डडेल्धुरा अस्पताल, नारायणी अस्पताल र गजेन्द्र नारायण सिंह अस्पतालका लागि दरबन्दी अनुसार काठमाडौं उपत्यका र अन्य सुगम क्षेत्रमा कामकाजमा खटिएका १४ जना विशेषज्ञ चिकित्सक (नवौँ /दशौँ तह) लाई सम्बन्धित अस्पतालमा फिर्ता पठाइएको बताएको छ ।

यस अनुसार डडेलधुरा अस्पतालमा ४ जना, नारायणी अस्पतालमा ५ जना र गजेन्द्र नारायण सिंह अस्पतालमा ५ जना विशेषज्ञ चिकित्सक थपिएका छन्।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :