स्वास्थ्यसमाचार / जिल्लामा क्षयरोग (ट्यूबरकुलोसिस) निःशुल्क र प्रभावकारी भए पनि सामाजिक डर, लाञ्छना र जनचेतनाको अभावका कारण नियन्त्रणमा चुनौती बढिरहेको छ। स्वास्थ्यकर्मीहरूका अनुसार बिरामीहरूले धेरैपटक ढिला गरी मात्र स्वास्थ्य संस्थामा पुग्ने गरेका छन्।
तानसेन–सेती पोखरीका ७३ वर्षीय कविराम नेपाली केही समयअघि क्षयरोगका कारण थला परेका थिए। “अब बाँच्दिनँ” भन्ने अवस्थामा पुगेका उनी अहिले नियमित औषधि सेवनपछि पूर्ण रूपमा स्वस्थ भएका छन्। उनले भने, “नियमित औषधि खाएपछि रोग निको हुँदो रहेछ, मैले त नयाँ जीवन पाएँ।”
माथागढी गाउँपालिकाका दिपक दर्लामी र निस्दी गाउँपालिकाका २४ वर्षीय कमल सुनारीजस्ता बिरामीले पनि समयमै निःशुल्क उपचार पाएर स्वास्थ्य लाभ लिएका छन्। तर समाजको डर र लाञ्छनाका कारण उपचार नपाएर ज्यान गुमाउने घटनाहरू पनि घटेका छैनन्। पूर्वखोला गाउँपालिकाकी एक महिलाले श्रीमान्बाट सरेको रोग लुकाउँदा उपचार नपाएर श्रीमानको मृत्यु भएको बताइन्।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार चालु आर्थिक वर्षमा ७८ नयाँ बिरामी भेटिएका छन् भने ९ जनाले ज्यान गुमाइसकेका छन्। आर्थिक वर्ष २०७९/८० मा १९० बिरामीमध्ये १३ जनाको मृत्यु भएको थियो भने २०८१/८२ मा बिरामी संख्या १६३ भए पनि मृत्यु २५ पुगेको छ। कार्यालयका प्रमुख टुक प्रसाद पोखरेलले तीन प्रकारका क्षयरोग– फोक्सोमा कीटाणु देखिने, नदेखिने र फोक्सो बाहिरको क्षयरोग– रहेको जानकारी दिए।
स्वास्थ्यकर्मीहरूका अनुसार दुई साताभन्दा बढी खोकी लाग्नु, ज्वरो आउनु, तौल घट्नु, भोक कम लाग्नु जस्ता लक्षण देखिए तुरुन्त परीक्षण गराउनुपर्छ। नेपाल सरकारमार्फत सबै सरकारी स्वास्थ्य संस्थामा टिबीको परीक्षण र उपचार निःशुल्क उपलब्ध छ। डट्स (DOTS) प्रणालीमार्फत स्वास्थ्यकर्मीको निगरानीमा औषधि सेवन गराइएमा नियमित उपचारले टिबी पूर्ण रूपमा निको हुने चिकित्सकहरूले बताउँछन्।

प्रतिकया दिनुहोस्