एआई प्रविधिबाट पाल्पामा क्षयरोगी खोज अभियान शुरु

स्वास्थ्यसमाचार/ पाल्पामा पहिलो पटक क्षयरोगी खोज्न आधुनिक प्रविधि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरिएको छ । समुदायमा क्षयरोगीको संख्या बढ्दै गएपछि क्षयरोग पत्ता लगाउन एआईको प्रयोग थालिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयको समन्वय तथा स्थानीय तहको आयोजनामा एआईमार्फत क्षयरोगी खोज्न थालिएको छ । जसका लागि स्वास्थ्यकर्मीको टोली एआई उपकरणसहित गाउँ–गाउँका स्वास्थ्य संस्थामा पुगेर परीक्षण गरिरहेका छन् । अहिले यहाँको पूर्वखोला गाउँपालिकामा यो अभियान सञ्चालन भइरहेको छ ।

समुदायमा लुकेर रहेका क्षयरोगका बिरामीहरूलाई छिटो र छरितो ढङ्गले पत्ता लगाउन एआई एक्सरे प्रविधि प्रयोग थालिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताउनुभयो । सामान्य एक्सरेमा नदेखिने सूक्ष्म समस्याहरू पनि यो प्रविधिले तत्काल पहिचान गर्ने हुनाले उपचार प्रक्रिया सहज भएको ढकालले बताउनुभयो ।

“एआई भनेको डिजिटल कम्प्युटर प्रणाली हो, जसले एक्स–रे विश्लेषण गरेर सम्भावित क्षयरोग पहिचान गर्छ । यसले परम्परागत रूपमा खकार परीक्षण गर्नुअघि नै जोखिम भएका बिरामी छुट्याउन सहयोग गर्छ,” उहाँले भन्नुभयो ।

पालिकाको वडा नं. ५ विरकोट स्वास्थ्य चौकी र वडा नं. १ सिलुवा स्वास्थ्यचौकीमा शिविर सञ्चालन गरी शंकास्पद बिरामीहरूको परीक्षण गरिएको छ । वडा नं. ५ विरकोट स्वास्थ्यचौकीमा एक सय ८७ जनाको परिक्षण गरिएकोमा ३४ जना शंकास्पद विरामी भेटिएको र १ जनाको तत्कालै उपचार शुरु गरिएको स्वास्थ्य शाखा प्रमुख ढकालले बताउनुभयो ।

उहाँका अनुसार वडा नं. १ को सिलुवा स्वास्थ्यचौकीमा दुई सय ८० जनाको परीक्षण गरिएकोमा ४५ जना क्षयरोगीका शंकास्पद विरामी भेटिएको र ३ जना तत्कालै उपचार शुरु गरिएको छ । दुबै स्वास्थ्यचौकीमा परीक्षणको क्रमा भेटिएका शंकास्पद क्षयरोगीहरुको थप परीक्षणको लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल रिफर गरिएको छ ।

एआई प्रविधी एक्सरेले फोक्सोको तस्बिरलाई सफ्टवेयरमार्फत विश्लेषण गर्छ र क्षयरोगको सम्भावनालाई प्रतिशतमा देखाउने प्राविधिक साझेदार विएनएमटी नेपाल पाल्पा परियोजनाका संयोजक सुदिप पौडेलले बताउनुभयो । यो प्रविधीबाट परीक्षण गर्दा लुकेर बसेका नयाँ क्षयरोगीका विरामी पत्ता लगाएर उपचारमा ल्याउने र अरुलाई सर्न नदिने उहाँको भनाई छ ।

अरु एक्सरे मेसिन भन्दा एआई प्रविधिले विरामी पत्ता लगाउन सजिलो भएको शिविरमा संलग्न एआई प्रविधिबाट क्षयरोग चेकजाँच गर्दै आउनुभएका यसोधरा आधारभुत अस्पताल कपिलबस्तुका मेडिकल अधिकृत अमुल्य कुमार पाठकले बताउनुभयो । पालिकाले विभिन्न सङ्घ संस्थाको सहकार्यमा गाउँ–गाउँ पुगी घरदैलोबाट क्षयरोगका विरामीहरु खोजेर उनीहरुलाई समय उपचार गरी पालिकालाई क्षयरोगमुक्त बनाउन लागिएको वडा नं. ५ का वडा अध्यक्ष विष्णु कुमार पल्लीले बताउनुभयो ।

ग्रामीण क्षेत्रमा प्रविधिको प्रयोगसँगै लुकेका बिरामी पत्ता लगाउन सहज भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ । एआईको प्रयोगले परीक्षणलाई छिटो, प्रभावकारी र पहुँचयोग्य बनाएको उनीहरूको विश्वास छ ।नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ ।

सो लक्ष्य प्राप्तिका लागि जिल्ला क्षयरोगी खोज अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख टुकप्रसाद पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “लक्षण देखिएका बिरामी आफै पनि स्वास्थ्य संस्थामा आउन अपिल गरेका छौं । दुई हप्तासम्म लगातार खोकी लाग्नु, छाती दुखेर स्वाश फेर्न गाह्रो हुनु, तौल घट्नु वा थकाइ लाग्नु, रगतसहित वा रहित खकार खोक्नु, साँझ पख हल्का ज्वरो र पसिना आउनु जस्ता लक्षणदेखिएमा क्षयरोग हुन् ।”

एक जना क्षयरोगीले घरपरिवार र समुदायलाई सङ्क्रमित बनाउन सक्ने भएकाले रोगी पत्ता लगाउन ठूलो उपलब्धि मानिने उहाँले बताउनुभयो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :