स्वास्थ्यसमाचार/फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सोमबारदेखि निर्वाचन आयोग ले प्रचार–प्रसार खुला गरेसँगै रुपन्देही जिल्लामा चुनावी सरगर्मी बढेको छ। यसपटक रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा स्वास्थ्य क्षेत्र मुख्य चुनावी एजेण्डाका रूपमा उभिएको देखिन्छ।
नेपाली कांग्रेस का उम्मेदवार उद्योगी चुन्न प्रसाद पौडेलले सार्वजनिक गरेको २२ बुँदे प्रतिबद्धतामा स्वास्थ्य सेवालाई उच्च प्राथमिकता दिइएको छ। उनले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने तथा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच लाख रुपैयाँसम्मको उपचार सेवा उपलब्ध गराउन पहल गर्ने बताएका छन्।
क्षेत्र नं. २ का सरकारी अस्पतालहरूको स्तरोन्नति गर्दै विशेषज्ञ चिकित्सक सेवा विस्तार गर्ने, आकस्मिक कक्ष (इमर्जेन्सी) सुदृढ गर्ने र उपचार अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने सुनिश्चित गरिने उनको प्रतिबद्धता छ। स्वास्थ्य बीमाको पहुँच ग्रामीण तथा विपन्न समुदायसम्म विस्तार गरिने र सरकारी, सामुदायिक तथा निजी अस्पतालसँग समन्वय गरी सेवा प्रभावकारी बनाइने उल्लेख गरिएको छ।
उम्मेदवार पौडेलले निर्वाचित भएमा प्रतिनिधि सभा सदस्यका रूपमा प्राप्त हुने सेवा–सुविधाको सम्पूर्ण रकम क्षेत्रका नागरिकको स्वास्थ्य उपचारमा खर्च गर्ने घोषणा समेत गरेका छन्। यसले स्थानीय स्तरमा स्वास्थ्य सेवामा थप स्रोत जुटाउने अपेक्षा गरिएको छ।
यसैबीच क्षेत्र नं. २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलका उम्मेदवारहरूले पनि स्वास्थ्य पूर्वाधार सुधार, गुणस्तरीय सेवा विस्तार र सर्वसुलभ उपचारलाई प्राथमिकतामा राख्दै घरदैलो कार्यक्रम सञ्चालन गरिरहेका छन्।
चुनावी अभियान तीव्र बन्दै जाँदा रुपन्देही–२ मा स्वास्थ्य सेवा सुधार, अस्पताल स्तरोन्नति र स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयन प्रमुख बहसका विषय बनेका छन्। मतदाताले यसपटक स्वास्थ्य क्षेत्रको ठोस योजना र कार्यान्वयन क्षमताका आधारमा उम्मेदवार छनोट गर्ने संकेत देखिएको छ।

प्रतिकया दिनुहोस्