स्वास्थ्यसमाचार/ रुपन्देहीमा कात्तिक १७ र १८ गते ८० हजार ५८७ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइने भएको छ।
दसैँका कारण नियमित तालिकामा परिवर्तन गर्दै सरकारले यस वर्ष कात्तिक १७ र १८ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्न लागेको हो।
रुपन्देहीका वरिष्ठ तथ्याङ्क अधिकृत टुकराज पोखरेलका अनुसार जिल्लामा दुवै कार्यक्रमअन्तर्गत ८० हजार ५८७ बालबालिकालाई सेवा दिने तयारी गरिएको छ।
स्वास्थ्य सेवा विभागका अनुसार यस वर्ष देशभर करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने तयारी छ।
कार्यक्रम सञ्चालनका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिनेछन्।
कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।
बालबालिकामा हुने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ र २०५६ सालदेखि जुकाको औषधि नियमित रूपमा खुवाउँदै आएको छ।


प्रतिकया दिनुहोस्