स्वास्थ्यसमाचार/ प्रादेशिक अस्पताल लुम्बिनी (हब) को आयोजनामा तथा प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र, लुम्बिनी प्रदेश को समन्वयमा स्वास्थ्य आपतकालीन सेवा सुदृढीकरण सम्बन्धी कार्यशाला आज सम्पन्न भएको छ।
प्रादेशिक अस्पताल लुम्बिनी अन्तर्गतका हब तथा स्याटेलाइट अस्पताल नेटवर्कमार्फत प्रदान हुने स्वास्थ्य आपतकालीन सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यशालामा प्रदेशभरिका सम्बन्धित अस्पतालका प्रमुख, आपतकालीन सेवा संयोजक तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन प्रमुख डा. प्रकाश बुढाथोकीले जनस्वास्थ्य आपतकाल तथा विपद्को अवस्थामा अस्पतालहरूको भूमिकाको महत्व औंल्याउँदै विपद् पूर्वतयारीलाई सुदृढ बनाउनु अपरिहार्य रहेको बताउनुभयो।
उहाँले अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको नियमित अद्यावधिक र प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिनुपर्ने उल्लेख गर्नुभयो।
त्यसैगरी, आपतकालीन सम्पर्क नम्बर तथा विवरणको नियमित अद्यावधिक, आकस्मिक चिकित्सकीय टोलीको सूची अद्यावधिक गर्दै क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन, एम्बुलेन्स व्यवस्थापन र प्रभावकारी प्रेषण (रेफरल) प्रणालीको सुदृढीकरण गर्नुपर्नेमा जोड दिइयो।
हब तथा स्याटेलाइट अस्पतालहरूबीच नियमित समन्वय बैठकको संस्थागत व्यवस्था गरी सूचना आदान–प्रदानलाई व्यवस्थित बनाउने, अभ्यास (ड्रिल) सञ्चालन गर्ने तथा विपद्को समयमा शीघ्र प्रतिक्रिया सुनिश्चित गर्ने विषयमा समेत छलफल भएको थियो।
कार्यशालाले प्रदेशस्तरमा स्वास्थ्य आपतकालीन सेवा सञ्जाललाई थप सुदृढ, समन्वित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिकया दिनुहोस्