बुटवलमा ३ दिनमै एचपीभि खोपको ८०% लक्ष्य पूरा, फागुन १ सम्म अभियान

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकामा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि सञ्चालन गरिएको एचपीभी (HPV) खोप अभियानमा उत्साहजनक प्रगति देखिएको छ। स्वास्थ्य शाखाका अनुसार कुल २ हजार २५० जनालाई खोप लगाउने लक्ष्य राखिएको अभियानमा हालसम्म करिब ८० प्रतिशत उपलब्धि हासिल भएको छ।

उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयका अनुसार माघ २५ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन भइरहेको अभियानअन्तर्गत विद्यालय बाहिर रहेका तथा समुदायमा रहेका लक्षित किशोरीलाई प्राथमिकताका साथ खोप लगाइएको हो। उहाँले छोटो समयमै ८० प्रतिशत लक्ष्य हासिल हुनु सकारात्मक  भएको बताउनुभयो।

स्वास्थ्य शाखाकी जनस्वास्थ्य अधिकृत कल्पना भुसालका अनुसार गत वर्ष बुटवल उपमहानगरपालिकामा करिब २० हजार किशोरीलाई एचपीभी खोप लगाइएको थियो। यस वर्ष पनि विद्यालय बाहिर रहेका, विभिन्न कारणले नियमित खोपबाट छुटेका तथा समुदायमै रहेका किशोरीलाई समेटेर अभियान सञ्चालन गरिएको हो। अभिभावक, विद्यालय, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय जनप्रतिनिधिको समन्वयमा अभियान प्रभावकारी बनेको उहाँले जानकारी दिनुभयो।

स्वास्थ्य शाखाले एचपीभी खोप पाठेघरको मुखको क्यान्सर रोकथामका लागि अत्यन्त प्रभावकारी भएको बताउँदै लक्षित उमेर समूहका किशोरीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको छ। साथै, समुदायस्तरमा सचेतना अभिवृद्धि गर्दै खोप कार्यक्रमलाई नियमित खोप सेवाअन्तर्गत निरन्तर सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :