स्वास्थ्यसमाचार/ रुपन्देही जिल्लाभरका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर (सर्भिकल क्यान्सर) रोकथामका लागि आजदेखि एचपीभी खोप अभियान सुरु भएको छ। स्वास्थ्य कार्यालय रुपन्देहीले खोप फागुन ४ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ।
जिल्लाभरका विद्यालयमा कक्षा ६ मा अध्ययनरत किशोरीहरूलाई प्राथमिकताका आधारमा खोप दिइनेछ। विद्यालय नजाने किशोरीको हकमा १० वर्ष उमेर समूह, गत वर्ष छुटेका कक्षा ७–१० का किशोरी तथा ११–१४ वर्ष उमेर समूहका विद्यालय नजाने किशोरीलाई पनि खोप उपलब्ध गराइने छ।
यस वर्ष जिल्लाभर १२,४१९ जना किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ, जसमा ६१० जना विद्यालय नजाने किशोरी पनि समावेश छन् — जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीकी प्रमुख जनस्वास्थ्य प्रशासक उमादेवी थापाले जानकारी दिनुभयो।
गत वर्ष अभियानको रूपमा खोप दिइएको भए पनि यस वर्षदेखि नियमित कार्यक्रमअन्तर्गत खोप प्रदान गरिन लागिएको छ। आगामी वर्षदेखि एचपीभी खोप पूर्ण रूपमा नियमित खोप कार्यक्रममा समावेश गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।
रुपन्देहीका सबै पालिकामा खोप सुरु भए पनि लुम्बिनी सांस्कृतिक नगरपालिकामा फागुन ४ गतेमात्र खोप लगाइनेछ। नगरपालिकामा रनिङशिल्ड कप प्रतियोगिताको कारण सो मिति तय गरिएको स्वास्थ्य कार्यलयले जानकारी दिएको छ।
खोप दिने पालिकाहरूमा विभिन्न टोली बनाई स्वास्थ्य कार्यलय तथा खोप समन्वय समितिका पदाधिकारीहरूले अनुगमन पनि गरिरहेका छन्।


प्रतिकया दिनुहोस्