६७औँ स्थापना दिवसको अवसरमा बुटवलमा बृहत् सरसफाइ अभियान

स्वच्छ र सुन्दर बुटवल निर्माणका लागि सबैको सक्रिय सहभागिता अपरिहार्य छ: नगरप्रमुख पान्डेय

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाको ६७औँ स्थापना दिवसको अवसरमा स्वच्छ, सुन्दर र व्यवस्थित शहर निर्माणको लक्ष्यसहित बुटवलमा बृहत् सरसफाइ अभियान सुरु गरिएको छ। अभियानको सुरुवात बसपार्क क्षेत्रबाट गरिएको हो।

सरोकारवालाहरूको उत्साहजनक सहभागितासहित सुरु गरिएको अभियानमा सिद्धार्थ गौतम बुद्ध क्याम्पसका विद्यार्थी, पश्चिम नेपाल बस प्रा।लि।का कर्मचारी, विभिन्न टोल विकास समितिका प्रतिनिधि, जनप्रतिनिधि तथा उपमहानगरपालिकाका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले शहरका मुख्य क्षेत्रहरूमा सरसफाइ गर्दै वातावरण संरक्षणप्रति सामूहिक जिम्मेवारीबोध गराएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले सरसफाइलाई एकदिने औपचारिक कार्यक्रमका रूपमा सीमित गर्न नहुने धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “सरसफाइ अभियान निरन्तर चल्ने प्रक्रिया हो। स्वच्छ र सुन्दर बुटवल निर्माणका लागि सबै नगरवासीको सक्रिय सहभागिता अपरिहार्य छ।”

नगर प्रमुख पाण्डेले सरसफाइलाई दैनिक जीवनशैलीको हिस्सा बनाउन आग्रह गर्दै अभियानमा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।उपमहानगरपालिकाका अनुसार सरसफाइ अभियानलाई निरन्तरता दिइनेछ।

भोलि बिहान ७ बजे योगिकुटी चोकबाट अभियानको अर्को चरण सुरु हुने जानकारी पनि दिइएको छ। नियमित सरसफाइ अभियानमार्फत बुटवललाई सफा, स्वस्थ र आकर्षक शहरका रूपमा विकास गर्ने उपमहानगरपालिकाको लक्ष्य रहेको उहाको भनाई छ । कार्यक्रममा उप प्रमुख साबित्रा देबी अर्यालय लगायको सहभागीता रहेको थियो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :