स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा क्यान्सर रोग नियन्त्रण तथा न्यूनीकरण गर्ने उद्देश्यले एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप अभियान औपचारिक रूपमा सुरु गरिएको छ। अभियानको शुभारम्भ लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुमगरले प्युठान नगरपालिका–स्थित कालिका बोर्डिङ स्कुलबाट गर्नु भयो।
कार्यक्रममा मन्त्री सारुमगरले पालिका स्वास्थ्य शाखा प्रमुखलाई खोप हस्तान्तरण गर्नुका साथै किशोरीहरुलाई खोप कार्ड प्रदान गर्दै अभियानको औपचारिक सुरुवात गर्नु भएको हो ।
प्युठानबाट सुरु भएको यो अभियानमा लुम्विनी प्रदेशका करिब ६१ हजार किशोरीहरुलाई खोप प्रदान गर्ने लक्ष्य राखिएको छ। त्यसैगरी प्युठान जिल्लामा मात्र करिब २ हजार ९ सयभन्दा बढी किशोरीहरूलाई खोप सेवा उपलब्ध गराइने स्वास्थ्य कार्यालयका प्रमुख नरेश श्रेष्ठले जानकारी दिनु भयो।
एचपीभी खोपले विशेषगरी पाठेघरको मुखको क्यान्सर रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने भएकाले किशोरीहरुको स्वास्थ्य सुरक्षाका लागि यो अभियान प्रभावकारी हुने चिकित्सकहरु वताउनुहुन्छ ।
खोप अभियानको शुभारम्भसँगै स्वास्थ्य मन्त्री सारुमगरले प्युठान जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरूको अनुगमन गर्नु भएको थियो । अनुगमनका क्रममा उहाले प्युठान अस्पताल र स्वास्थ्य कार्यालयको स्थलगत निरीक्षण गर्नुका साथै माण्डबी गाउँपालिका अन्तर्गत देविस्थान स्वास्थ्य चौकीको समेत निरीक्षण गर्नु भयो ।
अनुगमनको क्रममा मन्त्री सारुमगरले स्वास्थ्य संस्थामा सेवा लिन आएका सेवाग्राहीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै बिरामीहरूले भोगिरहेका समस्या तथा स्वास्थ्य सेवाको अवस्थाबारे जानकारी लिनु भयो । उहाले अस्पतालमा सञ्चालन भइरहेका विभिन्न विभागहरूको अवलोकन गर्दै चिकित्सक, नर्स तथा व्यवस्थापन समितिका पदाधिकारीहरूसँग अन्तक्र्रिया समेत गर्नु भएको थियो ।
अन्तक्र्रियाका क्रममा मन्त्री सारुमगरले प्युठान अस्पतालमा स्वास्थ्य सेवा विस्तार तथा सेवाको गुणस्तर सुधार गर्न मन्त्रालयबाट आवश्यक सहयोग तथा सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै अस्पतालमा निर्माणाधीन नयाँ भवनको प्रगति अवस्थाको अवलोकन गर्दै भवन निर्माण कार्यलाई छिटो सम्पन्न गर्न मन्त्रालयले समन्वय र सहजीकरण गर्ने समेत गर्नु भयो।

प्रतिकया दिनुहोस्