स्वास्थ्यसमाचार/नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले स्वास्थ्य सेवालाई आफ्नो मुख्य प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२, रुपन्देहीको निर्वाचन प्रचारप्रसार समितिको वडा नम्बर ४, ट्राफिक चोकस्थित कार्यालय उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै पौडेलले गुणस्तरीय, पहुँचयोग्य र सर्वसुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्नु नै आफ्नो प्रमुख एजेन्डा रहेको बताउनुभयो । “राजनीति व्यक्तिगत स्वार्थका लागि होइन, जनताको स्वास्थ्य र जीवनस्तर सुधार्ने प्रभावकारी माध्यम हो,” उहाँले भन्नुभयो ।
पौडेलले आफू राजनीतिमा आउनुअघि देखिनै स्वास्थ्य क्षेत्रमा सामाजिक लगानी गर्दै आएको उल्लेख गर्दै बुवा–आमाको नाममा नागरिक समाजलाई एम्बुलेन्स हस्तान्तरण, रेडक्रस भवनमा सभाहल निर्माण, विभिन्न स्वास्थ्य संस्थालाई सहयोगलगायतका कामहरू उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो । यस्ता कामहरू निरन्तरता पाउने उहाँको भनाइ थियो ।
उहाँले निर्वाचनपछि रुपन्देही–२ का नागरिकका लागि आधारभूत स्वास्थ्य सेवा सुदृढ गर्ने, आपतकालीन सेवा प्रभावकारी बनाउने तथा स्थानीय तहसँग समन्वय गरेर स्वास्थ्य पूर्वाधार विस्तार गर्ने योजना अघि सारिने जानकारी दिनुभयो । साथै पहिरो जोखिम भएका क्षेत्रका बासिन्दाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै जोखिम न्यूनीकरणसँग जोडिएका स्वास्थ्य तयारीका कार्यक्रम पनि अघि बढाइने बताउनुभयो ।
कार्यक्रम वडा सभापति अरुणकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामबहादुर कार्की, क्षेत्रीय सभापति प्रजापाल गिरी, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, महासमिति सदस्य जमुना ढकाललगायतले मन्तव्य राख्दै स्वास्थ्य, शिक्षा र रोजगारीलाई केन्द्रमा राखेर अघि बढ्ने उम्मेदवारका रूपमा पौडेल उपयुक्त रहेको धारणा राख्नुभयो ।
वक्ताहरूले विगतमा जनस्वास्थ्यलाई बेवास्ता गर्ने प्रवृत्तिको आलोचना गर्दै यसपटक स्वास्थ्यलाई प्राथमिकता दिने नेतृत्व आवश्यक रहेको उल्लेख गरे ।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही–२ बाट पौडेललाई विजयी गराउने उद्देश्यसहित नेपाली कांग्रेसले वडा स्तरमै संगठन सुदृढ गर्दै प्रचारप्रसार कार्यालय उद्घाटन गरेको हो ।

प्रतिकया दिनुहोस्