स्वास्थ्यसमाचार / आज विश्व क्यान्सर दिवस नेपालसहित विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यसै अवसरमा सार्वजनिक तथ्यांकले रुपन्देही जिल्लामा क्यान्सर उपचारको बोझ वर्षेनी बढ्दै गएको देखाएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारको सिफारिसअनुसार विपन्न नागरिक उपचार कोषमार्फत रुपन्देही जिल्लाका ४सय८७ जना क्यान्सर पीडितले निःशुल्क उपचार सेवा लिन सिफारिस पाएका छन् । यस्तै, लुम्बिनी प्रदेश सरकारअन्तर्गत प्रदेश स्वास्थ्य उपचार कार्यक्रममार्फत प्रति बिरामी दुई लाख रुपैयाँ आर्थिक सहयोगका लागि २सय४८ जना क्यान्सर बिरामी सिफारिस भएका जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
लुम्बिनी प्रदेशमा क्यान्सर लागेका विरामीको संख्या बढ्दै गएको छ । प्रदेश सरकारसँग वार्षिक दुई हजारले क्यान्सरको उपचारको सहयोग माग्दै निवेदन दिएका छन् भने एकै वर्षमा ९ करोड खर्च भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारले क्यान्सर, मृगौला र मुटुको उपचारमा सहयोग गर्न गतवर्ष १३ करोड रुपैयाँ गरेको र क्यान्सरको उपचारको लागि मात्रै ९ करोड खर्च भएको सरकारको तथ्याक रहेको उल्लेख गरेको छ।प्रदेश सरकारले उपचारको लागि दुई लाख रुपैयाँ सहयोग गर्दै आएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीकी स्वास्थ्य प्रमुख उमा थापाका अनुसार क्यान्सर लगायत नसर्ने रोगको बोझ तीव्र रूपमा बढ्दो क्रममा छ । “क्यान्सर, मिर्गौला, मुटु, बोनम्यारो, सिकल–सेल एनिमिया, हेड तथा स्पाइनल इन्जुरीजस्ता गम्भीर नसर्ने रोगले बिरामी मात्र होइन, परिवार र समाजलाई समेत गहिरो असर पारिरहेको छ,” उनले भनिन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा वर्षेनी करिब ४० हजार नयाँ क्यान्सरका बिरामी थपिने गरेका छन् भने क्यान्सरका कारण हुने मृत्यु समग्र मृत्युदरको १० प्रतिशतभन्दा बढी पुगेको छ ।
पछिल्ला पाँच आर्थिक वर्षमा मात्रै संघीय सरकारले गम्भीर रोग उपचार कार्यक्रमअन्तर्गत करिब १० अर्ब रुपैयाँ आर्थिक सहायता वितरण गरिसकेको छ । कुल उपचार खर्चमध्ये ७० प्रतिशतभन्दा बढी हिस्सा क्यान्सर र मिर्गौला रोगमै खर्च हुने गरेको सरकारी तथ्यांक छ ।
विशेषज्ञहरूका अनुसार नेपालमा क्यान्सर बढ्नुका प्रमुख कारणमा सुर्तीजन्य पदार्थ सेवन, मदिरा प्रयोग, असन्तुलित आहार, शारीरिक निष्क्रियता, वायु प्रदूषण तथा रासायनिक विषादीयुक्त खाद्यपदार्थ पर्दछन् । अध्ययनअनुसार क्यान्सरबाट हुने कुल मृत्युको २२ प्रतिशत सुर्तीजन्य पदार्थ सेवनका कारण हुने गरेको छ ।
क्यान्सर रोग विशेषज्ञहरूका अनुसार ७०-८० प्रतिशत क्यान्सर जीवनशैली सुधार र प्रारम्भिक पहिचानबाट रोक्न सकिन्छ । समयमै स्वास्थ्य परीक्षण गर्ने बानी, सुर्तीजन्य पदार्थ त्याग, सन्तुलित आहार, नियमित व्यायाम र सकारात्मक सोचले क्यान्सरजस्ता नसर्ने रोगलाई जित्न सकिने विज्ञहरूको सुझाव छ ।
विश्व क्यान्सर दिवसको अवसरमा रुपन्देहीमा विभिन्न संस्थामार्फत सचेतनामूलक कार्यक्रम आयोजना गर्दै रोग रोकथाम र प्रारम्भिक पहिचानमा जोड दिइएको छ ।

प्रतिकया दिनुहोस्