स्वास्थ्यसमाचार/इलाम जिल्लामा क्षयरोग नियन्त्रणका लागि सञ्चालन गरिएका सक्रिय खोज तथा परीक्षण कार्यक्रमबाट पुस महिनामा मात्रै ४० जना नयाँ क्षयरोग (टीबी) का बिरामी पहिचान भएका छन्। यो तथ्याङ्कले इलाममा क्षयरोग अझै पनि एक गम्भीर सार्वजनिक स्वास्थ्य समस्याका रूपमा विद्यमान रहेको देखाएको छ, साथै सक्रिय खोज रणनीतिले लुकेर रहेका बिरामी पहिचान गर्न प्रभावकारी भूमिका खेलेको संकेत पनि दिएको छ।
स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्याका अनुसार चालु आर्थिक वर्षको सुरुदेखि पुस महिनासम्म जिल्लाभर कुल १०३ जना क्षयरोगका बिरामी पहिचान भई उपचारमा रहेका छन्। उहाँले समयमै रोग पत्ता लागेमा र नियमित रूपमा औषधि सेवन गरेमा क्षयरोग पूर्ण रूपमा निको हुने रोग भएकाले समुदायस्तरमा सक्रिय खोज (Active Case Finding) कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी दिनुभयो।
स्वास्थ्य कार्यालय इलामको समन्वयमा सञ्चालित क्षयरोग नियन्त्रण कार्यक्रमअन्तर्गत समुदायस्तरमा शंकास्पद बिरामी पहिचान, खकार परीक्षण, एक्स–रे सेवा तथा नियमित परामर्शलाई तीव्रता दिइएपछि नयाँ बिरामीहरू पत्ता लागेका हुन्। यस अभियानमा स्थानीय तहका स्वास्थ्य शाखा तथा क्षयरोग कार्यक्रमका साझेदार संस्था बागमती सेवा समाजले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्वास्थ्य कार्यालयले जनाएको छ।
बागमती सेवा समाजले इलाम जिल्लामा समुदायस्तरमा जनचेतना अभिवृद्धि, स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन, जोखिम समूहमा रहेका व्यक्तिहरूको सक्रिय खोज तथा उपचारमा रहेका बिरामीलाई निरन्तर सहयोग गर्दै आएको छ। संस्थाको सहकार्यले सेवा पहुँचमा रहेका अवरोधहरू कम गर्न र लुकेर बसेका क्षयरोगका बिरामीहरू पहिचान गर्न उल्लेखनीय योगदान पुगेको स्वास्थ्य कार्यालयको भनाइ छ।
विशेष गरी दुर्गम बस्ती, आर्थिक रूपमा कमजोर तथा स्वास्थ्य सेवाबाट टाढा रहेका समुदायमा क्षयरोगका लक्षणबारे जानकारी दिने, समयमै परीक्षण गराउन उत्प्रेरित गर्ने र उपचार निरन्तरतामा सहयोग गर्ने कार्य प्रभावकारी देखिएको छ। यसले उपचार बीचमै छाड्ने (Treatment Default) जोखिम घटाउन समेत मद्दत पुगेको स्वास्थ्यकर्मीहरू बताउँछन्।
स्वास्थ्यकर्मीहरूका अनुसार दुई हप्ताभन्दा बढी खोकी लाग्ने, ज्वरो आउने, तौल घट्ने, राति अत्यधिक पसिना आउने जस्ता लक्षण देखिएमा क्षयरोगको शंका गर्नुपर्छ। यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गएर निःशुल्क परीक्षण गराउन सबैलाई आग्रह गरिएको छ।
आगामी दिनमा स्वास्थ्य कार्यालय इलाम र साझेदार संस्था बागमती सेवा समाजबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै क्षयरोग उन्मूलनको राष्ट्रिय लक्ष्य हासिल गर्न निरन्तर प्रयास गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रतिकया दिनुहोस्