स्वास्थ्यसमाचार/गुल्मीका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धकाे खाेप (एचपिभी) दिने तयारी अन्तिम चरणमा पुगेको छ ।
स्वास्थ्य कार्यालय गुल्मीले जिल्लास्तरीय खाेप समन्वय समितिमार्फत यससम्बन्धी जानकारी दिँदै तयारी अन्तिम चरणमा पुर्याएकाे हो । यो खाेप माघ २४ गतेदेखि फागुन २ गतेसम्म संचालन हुनेछ ।
जिल्लाभरका विद्यालयमा कक्षा ६ मा पढ्ने किशोरीका लागि पाठेघरकाे मुखको क्यान्सरविरुद्धकाे खाेप (एचपिभी) दिइन लागेको हो। यो खाेप विद्यालय नजाने किशोरीका हकमा १० वर्ष उमेर समूह, गत वर्ष छुटेकामध्ये कक्षा ७ देखि १० सम्म अध्ययनरत किशोरी र विद्यालय नजाने ११ वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई दिइने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक ताराबहादुर कार्कीले बताए । जिल्लाभर यो वर्ष २ हजार ४ सय ६५ किशोरीलाई यो खोप दिने तयारी छ ।
यो खाेप गत वर्ष अभियानका साथ लगाइएको थियो । यस वर्षदेखि भने नियमित दिइन लागेको हो । आगामी वर्ष फागुनमा यो खाेप नियमित अन्तर्गत प्रदान गरिनेछ । यो खाेप सबै विद्यालयमा प्रदान गरिने र छुटफुट भएकालाई नजिकको स्वास्थ संस्थामार्फत दिइने स्वास्थ्य कार्यालयकाे तयारी छ ।
जिल्ला समन्वय समिति गुल्मीका प्रमुख तथा जिल्लास्तरीय खाेप समन्वय समितिका संयाेजक द्राेणबहादुर खत्रीले लक्षित समूहलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो माध्यमबाट प्रदान गर्न आग्रह गरे ।
उनले प्रतिखाेप ९ हजार रुपैयाँ भन्दा बढी खर्च हुने भएकोले यसमा सबै सचेत भएर खाेप लक्षित समूह सबैले लगाउनुपर्ने बताए। ‘लक्षित समूह सबैले खाेप जसरी पनि पाउनैपर्छ’, उनले भने, ‘यसमा सबै स्वास्थ्यकर्मीले गुणस्तरीय र सुरक्षित खाेप सम्बन्धित समुहमा पुर्याउनुपर्छ ।’

प्रतिकया दिनुहोस्