स्वास्थ्य मन्त्रालय, लुम्बिनीको २०८२-८३ को अर्धवार्षिक समीक्षा सम्पन्न

स्वास्थ्यसमाचार/स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेशको आयोजनामा आ.व. २०८२/८३ को अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममार्फत प्रदेशअन्तर्गत सञ्चालनमा रहेका स्वास्थ्य कार्यक्रमहरूको प्रगति समीक्षा गर्नुका साथै सेवा प्रवाह, बजेट कार्यान्वयन, उपलब्धि र चुनौतीबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री खेम सारुले अर्धवार्षिक समीक्षाले प्रदेशका स्वास्थ्य कार्यक्रमहरूको वास्तविक अवस्था उजागर गरेको बताउनुभयो। उहाँले देखिएका कमजोरी सुधार गर्दै स्वास्थ्य सेवा प्रवाहलाई अझ प्रभावकारी, गुणस्तरीय र जनमैत्री बनाइने स्पष्ट पार्नुभयो।

साथै उहाँले बजेटको प्रभावकारी कार्यान्वयन, मानवस्रोत व्यवस्थापन र सेवा विस्तारलाई आगामी दिनमा मन्त्रालयको प्रमुख प्राथमिकतामा राखिने उल्लेख गर्नुभयो।

स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले अर्धवार्षिक समीक्षा कार्यक्रमले आगामी कार्यदिशा निर्धारण गर्न महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो। उहाँले प्रदेशभर स्वास्थ्य सेवालाई अझ प्रभावकारी, गुणस्तरीय र परिणाममुखी बनाउने उद्देश्यसहित समीक्षा गरिएको उल्लेख गर्नुभयो।

समीक्षा कार्यक्रममा स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरी, आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. राजेन्द्र गिरी तथा सबै जिल्लाका प्रमुख र प्रादेशिक अस्पतालका प्रमुखहरूको सहभागिता रहेको थियो।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :