स्वास्थ्यसमाचार/ स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०८२/ ०८३ को अर्धवार्षिक समीक्षा कार्यक्रममा सम्पन्न भएको छ ।
दाङको भालुवाङमा भएको समिक्षामा वोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारूले स्वास्थ्य सेवा संरचना विस्तारमा मात्र सीमित नराखी सेवाको गुणस्तर, पहुँच र प्रभावकारितामा केन्द्रित हुन आवश्यक रहेको वताउनु भयो ।
उहाले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा हालसम्म ४१.७ प्रतिशत प्रगति हासिल गरे पनि अझै सुधार गर्नुपर्ने धेरै क्षेत्र बाँकी रहेको उल्लेख गर्नु भयो । मन्त्री सारुले “अबको प्राथमिकता भनेको सेवा विस्तारसँगै गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु हो,” उहाले भन्नु भयो।
मन्त्री सारूले स्वास्थ्य संस्थाहरूको भौतिक पूर्वाधार विस्तार मात्र पर्याप्त नहुने बताउँदै दक्ष जनशक्ति, आधुनिक उपकरण, औषधिको नियमित उपलब्धता र सेवाग्राहीमैत्री प्रणाली विकासमा ध्यान दिन निर्देशन दिनु भयो।
उहाले प्रदेशका सबै स्वास्थ्य प्रमुख तथा सम्बन्धित निकायलाई जिम्मेवारीबोधका साथ काम गर्न आग्रह गरे। ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकहरू अझै पनि गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित रहेको उल्लेख गर्दै मन्त्री सारूले स्वास्थ्य सेवा सबै नागरिकको मौलिक अधिकार भएको बताउनु भयो।
“प्रदेशका दुर्गम क्षेत्रसम्म सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउनु हाम्रो दायित्व हो,” उहाले भन्नु भयो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताउनु भयो।
उहाले स्वास्थ्य सेवा सुधारका लागि दीर्घकालीन योजना, पारदर्शिता र जवाफदेहिता आवश्यक रहेको वताउनु भयो ।कार्यक्रमको अध्यक्ष तथा स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले सीमित स्रोतसाधनका बाबजुद मन्त्रालयले उल्लेखनीय काम गर्न सफल भएको वताउनु भयो।
उहाले मन्त्रालयले तय गरेका लक्ष्य हासिल गर्न कर्मचारी, स्वास्थ्यकर्मी र सरोकारवालाबीच समन्वय अपरिहार्य रहेको उल्लेख गर्नु भयो्। समीक्षा कार्यक्रममा उठेका सुझावहरू आगामी कार्ययोजनामा समेटिने पनि उहाले बताउनु भयो ।
स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीले प्रदेशभरका स्वास्थ्य संस्थाको अवस्था, जनशक्ति र सेवाप्रवाहबारे जानकारी गराउँदै केही जिल्लामा अझै आधारभूत स्वास्थ्य सेवा पूर्ण रूपमा पुग्न नसकेको वताउनु भयो ।उहाले आगामी दिनमा स्वास्थ्यकर्मी तालिम, उपकरण व्यवस्थापन र अनुगमन प्रणालीलाई सुदृढ बनाइने वताउनु भयो ।
समीक्षा कार्यक्रममा सहभागी स्वास्थ्य कार्यालय प्रमुखहरूले औषधि अभाव, जनशक्ति कमी, पूर्वाधार अपुग र बजेट व्यवस्थापनका चुनौतीहरूबारे ध्यानाकर्षण गराएका थिए। उनीहरूले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन र सेवाग्राहीको विश्वास बढाउन विशेष पहल आवश्यक रहेको बताए।
अर्धवार्षिक समीक्षा कार्यक्रममा मातृ तथा शिशु स्वास्थ्य, पोषण, खोप, सरुवा तथा गैरसरुवा रोग नियन्त्रण, स्वास्थ्य बीमा र आकस्मिक सेवाको अवस्थाबारे विस्तृत छलफल गरिएको थियो। पछिल्लो समय खोप अभियान, सुरक्षित मातृत्व कार्यक्रम तथा आधारभूत स्वास्थ्य सेवामा सुधार देखिएको मन्त्रालयले जनाएको छ।
आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. राजेन्द्र गिरी तथा सबै जिल्लाका प्रमुख र प्रादेशिक अस्पतालका प्रमुखहरूको सहभागिता रहेको समिक्षाको सञ्चालन चाँदनी शर्माले गर्नु भएको थियो ।



प्रतिकया दिनुहोस्