रुपन्देही जिल्लाको दीर्घकालीन समृद्धि र दिगो विकासका लागि राजनीतिक दल, स्थानीय तह, निजी क्षेत्र, नागरिक समाज र अन्य सबै सरोकारवालाबीच साझा दृष्टिकोण निर्माण हुनु आजको आवश्यकता हो। जिल्लाको स्वास्थ्य, शिक्षा, पर्यटन, यातायात, उद्योग र पूर्वाधार विकासलाई समेट्ने गरी कम्तीमा निम्न १० वटा परियोजनामा साझा सहमति र प्रतिबद्धता अपरिहार्य देखिन्छ।
१. लुम्बिनी प्रादेशिक अस्पताललाई मेडिकल कलेजमा स्तरोन्नति
निर्माणाधीन १२०० शैयाको लुम्बिनी प्रादेशिक अस्पताललाई मेडिकल कलेजमा स्तरोन्नति गरी बुटवललाई मेडिकल शिक्षाको केन्द्रको रूपमा विकास गर्नुपर्छ। छुट्टै मेडिकल कलेज प्रस्ताव गर्नुको सट्टा यही अस्पताल परिसरमै अध्ययन र आवासीय भवन निर्माण गर्नु व्यावहारिक र प्रभावकारी विकल्प हुन सक्छ।
२. लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बर्थिङ अस्पताल
गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा कम्तीमा २०० शैयाको अन्तर्राष्ट्रिय स्तरको बर्थिङ अस्पताल स्थापना गरिनुपर्छ। यसमा निजी क्षेत्रको लगानी हुन सक्छ भने सरकारले आवश्यक वातावरण र नीतिगत सहजीकरण गर्नुपर्छ। यस सम्बन्धमा नेपाल लगानी बोर्डले प्रारम्भिक २ पृष्ठको प्रतिवेदन तयार गरिसकेको छ।
३. लुम्बिनी बुद्धिष्ट सर्किट केन्द्रित आधुनिक यातायात प्रणाली
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल–लुम्बिनी–तिलौराकोट–जगदिशपुर ताल–जितपुर–सैनामैना–बुटवल–देवदह–सुनवल–रामग्राम हुँदै पुनः विमानस्थलसम्म जोडिने सुरक्षित र आधुनिक यातायात प्रणाली सार्वजनिक–निजी साझेदारीमा विकास गर्नुपर्छ। यसका लागि डेडिकेटेड स्तरीय सडक आवश्यक छ। साथै बुटवल–भैरहवा सडकमा Electric Tram Railway System जस्ता Mass Transport प्रणाली विकास गर्नु उपयुक्त हुन सक्छ।
४. लुम्बिनीलाई World Peace and Spiritual City का रूपमा विकास
लुम्बिनी र यसको आसपासका क्षेत्रलाई एकीकृत रूपमा विकास गर्न राजनीतिक हस्तक्षेपबाट मुक्त, स्वायत्त र अधिकारसम्पन्न Lumbini Development Authority (LDA) स्थापना गर्नुपर्छ। स्थानीय समुदाय, निजी क्षेत्र, बुद्धिष्ट धर्मगुरु र स्थानीय तहको अपनत्व रहने गरी हालको लुम्बिनी विकास कोष खारेज गरी नयाँ संरचना आवश्यक देखिन्छ।
५. गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन
विमानस्थलको व्यावसायिक सञ्चालन व्यवस्थापन करारमार्फत गर्न सकिने विषयमा गम्भीर छलफल आवश्यक छ। काठमाडौँ बाहेक पोखरा, विराटनगर, जनकपुर, नेपालगञ्ज, धनगढी लगायत शहरसँग नियमित उडान, भैरहवा–मुक्तिनाथ उडान र भैरहवाबाट रेसुङ्गा जस्ता साना विमानस्थलमा उडान विस्तार गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी छ।
६. कालिगण्डकी डाइभर्सन परियोजना
सर्वोच्च अदालतमा परेको रिट खारेज भइसकेको सन्दर्भमा कालिगण्डकी डाइभर्सन परियोजनालाई प्राथमिकताका साथ अगाडि बढाउन सकिन्छ। तर धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पारिस्थितिकीय प्रणालीमा क्षति नपुग्ने गरी स्थानीय समुदायको पूर्ण सहभागिता सुनिश्चित हुनुपर्छ।
७. बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन
बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पूर्ण रूपमा सञ्चालन गर्न स्पष्ट कार्ययोजना बनाई सार्वजनिक–निजी साझेदारीमा निजी क्षेत्रलाई सञ्चालनको जिम्मा दिनु उपयुक्त हुन्छ।
८. Lumbini Trade Center (LTC) स्थापना
बुटवलमा व्यापारिक गतिविधि प्रवर्द्धनका लागि सार्वजनिक–निजी साझेदारीमा Lumbini Trade Center स्थापना गर्न सकिन्छ। यससम्बन्धी प्रारम्भिक अवधारणा पनि नेपाल लगानी बोर्डले तयार गरिसकेको छ।
९. मोतिपुरलाई कृषि औद्योगिक जोनको रूपमा विकास
मोतिपुर औद्योगिक क्षेत्रलाई यस क्षेत्रको कृषि उत्पादनको औद्योगिकीकरण गर्ने उद्देश्यले Agriculture Industrial Zone (AIZ) का रूपमा विकास गर्नुपर्छ।
१०. प्रादेशिक बस टर्मिनल र Business Incubation Center
हालको बुटवल बसपार्क तिलोत्तमामा स्थानान्तरण भएपछि नयाँ स्थानमा आधुनिक प्रादेशिक बस टर्मिनल स्थापना गर्नुपर्छ। साथै पुरानो बसपार्क क्षेत्र र सडक विभागको खाली जग्गा प्रयोग गरी स्टार्टअप र नवप्रवर्तन प्रवर्द्धन गर्ने Business Incubation Center स्थापना गर्न सकिन्छ।
नोट:
यी विचारहरू लेखकका व्यक्तिगत हुन् र म कार्यरत संस्थाको प्रतिनिधित्व गर्दैनन्। सार्वजनिक बहसको माध्यमबाट सबै सरोकारवालाहरूको साझा दृष्टिकोण निर्माण होस् भन्ने उद्देश्यले यो लेख प्रस्तुत गरिएको हो। रचनात्मक बहसको अपेक्षा गर्दछु।

प्रतिकया दिनुहोस्