स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा पाठेघरको क्यान्सर रोकथामका लागि एचपीभी (HPV) खोप अभियान माघ २५ गते देखि फागुन ०४ सम्म सञ्चालन गरिने भएको छ। प्रदेश स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश खोप समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो।
प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गा लक्ष्मी श्रेष्ठको अध्यक्षतामा माघ ११ गते सम्पन्न बैठकले विद्यालय जाने कक्षा ६ मा अध्ययनरत किशोरी तथा विद्यालय नजाने १० वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरी एचपीभी खोप सेवा सञ्चालन गर्ने निर्णय गरेको छ।
बैठकले प्रतिनिधि सभाको चुनाव, मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व रमजान तथा वार्षिक परीक्षा र विद्यालय बिदालाई मध्यनजर गर्दै माघ २५ देखि फागुन ०४ गतेभित्र अभियान सम्पन्न गर्ने निर्णय गरेको छ।
यसका लागि लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइहरूसँग आवश्यक समन्वय गरी तयारी तथा व्यवस्थापन गर्न सबै स्वास्थ्य कार्यालयलाई पत्राचार गर्ने निर्णय गरिएको छ।
यस्तै, एचपीभी खोप सेवा कार्यक्रम २०८२ सञ्चालनका लागि आवश्यक खोप तथा खोपजन्य सामग्री (एचपीभी खोप, सिरिन्ज, सेफ्टी बक्स तथा AEFI सामग्री) प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र बुटवलमार्फत उपलब्ध गराइनेछ। साथै, एचपीभी खोप रजिष्टर तथा एचपीभी खोप कार्ड स्वास्थ्य निर्देशनालयमार्फत माघ २३ गतेभित्र सम्बन्धित स्वास्थ्य कार्यालयसम्म ढुवानी गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकमा प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, प्रदेश योजना आयोग, स्वास्थ्य कार्यालयहरूका प्रतिनिधि तथा WHO, UNICEF र WaterAid का प्रतिनिधिहरूको सहभागिता रहेको थियो। खोप सुरक्षीत छ। प्रभावकारी छ। सबैलाई किशोरी र उनीहरुका अभिभावकलाई खोप सेवा ढुक्क भएर लिनु हुन स्वास्थ्य सचिव श्रेष्ठले आग्रह गर्नु भयो ।
के हो पाठेघरको क्यान्सर?
पाठेघरको क्यान्सर महिलामा देखिने गम्भीर तर समयमै रोकथाम गर्न सकिने क्यान्सर मध्ये एक हो। यो क्यान्सर मुख्यतया महिलाको पाठेघरको मुख (सर्भिक्स) मा हुने संक्रमणका कारण विकसित हुन्छ। विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार पाठेघरको क्यान्सरको प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरस (HPV) संक्रमण हो।
एचपीभी भाइरस यौन सम्पर्कबाट सर्ने भाइरस हो। यसको केही प्रकार लामो समयसम्म शरीरमा सक्रिय रहँदा पाठेघरको कोशिकामा असामान्य परिवर्तन गराउँछ, जसले क्रमशः क्यान्सरको रूप लिन सक्छ। सुरुको अवस्थामा यस क्यान्सरका स्पष्ट लक्षण नदेखिन सक्ने भएकाले समयमै पहिचान गर्न कठिन हुन्छ।
पाठेघरको क्यान्सरका लक्षण तथा चिन्हहरू
पाठेघरको क्यान्सर सुरुको अवस्थामा खासै लक्षण नदेखिन सक्छ। तर रोग बढ्दै जाँदा तलका लक्षण तथा चिन्हहरू देखिन सक्छन्–
• महिनावारी बाहिर रगत बग्नु
• यौन सम्पर्कपछि रगत आउनु
• रजोनिवृत्तिपछि रगत बग्नु
• दुर्गन्धयुक्त सेतो पानी बग्नु
• तल्लो पेट वा ढाड दुखाइ
• यौन सम्पर्क गर्दा पीडा हुनु
• अत्यधिक थकान वा कमजोरी महसुस हुनु
यस्ता लक्षण देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा जाँच गराउन चिकित्सकहरू सुझाव लिनु पर्दछ। समयमै पहिचान भएमा पाठेघरको क्यान्सर रोकथाम तथा उपचार सम्भव हुन्छ।
पाठेघरको क्यान्सरका रोकथाम उपाय
• एचपीभी (HPV) खोप लगाउने
• नियमित पाठेघरको मुखको जाँच (स्क्रिनिङ) गराउने
• सुरक्षित यौन व्यवहार अपनाउने
• लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा जाँच गराउने
एचपीभी (HPV) खोप के हो?
एचपीभी खोप ह्युमन प्यापिलोमा भाइरस (HPV) बाट हुने संक्रमण रोक्न प्रयोग गरिने खोप हो। यही भाइरसका केही प्रकारले पाठेघरको क्यान्सर गराउँछन्। एचपीभी खोप लगाउँदा शरीरमा प्रतिरक्षा शक्ति विकास भई भविष्यमा पाठेघरको क्यान्सरको जोखिम हुन दिदैन।


प्रतिकया दिनुहोस्