स्वास्थ्यसमाचार/ रोटरी क्लब अफ रुपन्देहीको आयोजनामा तिलोत्तमा नगरपालिका वडा नं. १४ स्थित सरस्वती आधारभूत विद्यालयमा मेगा हेल्थ क्याम्प सञ्चालन गरिएको छ।
क्याम्पमा १५ जना चिकित्सकको टोलीले ३सय ५० जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको छ ।स्वास्थ्य परीक्षण का क्रममा १२६ जनाको थाइराइड परीक्षण गरिएकोमा ४० जनामा थाइराइडसम्बन्धी समस्या देखिएको छ। तीमध्ये ८ जनामा कडा किसिमको थाइराइड देखिएको तिलोत्तमा नगरपालिकाका स्वास्थ्य अधिकृत तथा कार्यक्रमको संयोजक रामप्रसाद ढकालले जानकारी दिनुभयो।
मणिग्राम आधारभूत अस्पतालकी चिकित्सक डा. प्रतिमा बस्यालले थाइराइडको समस्या अपेक्षाकृत धेरै देखिएको उल्लेख गर्दै सम्बन्धित बिरामीहरूलाई पुनः परीक्षण तथा नियमित उपचार आवश्यक रहेको बताउनुभयो।
तिलोत्तमा नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष अशिन पौडेलले वडामा कुपोषण, उच्च रक्तचाप तथा थाइराइडलगायतका स्वास्थ्य समस्या भएका नागरिकको संख्या उल्लेखनीय रहेको बताउनुभयो। १५ हजार बढी जनसंख्या रहेको वडा भौगोलिक रूपमा सुगम भए पनि चेतनाको कमीका कारण यस्ता स्वास्थ्य समस्या देखिएको उहाँको भनाइ छ।
उहाले नगर तथा रोटरीसंग सहकार्यगरेर स्वास्थ्य शिबिर लगायतका कार्यक्रम संञ्चालन गर्नु पर्ने आबश्यक रहेको बताउनु भयो । मेगा हेल्थ क्याम्पवाट प्राप्त स्वास्थ्य प्रतिवेदन नगरप्रमुख रामकृष्ण खाँणलाई बुझाइएको होे।
प्रतिवेदन ग्रहण गर्दै नगरप्रमुख खाँणले नगरलाई नागरिकलाई स्वस्थ,सुरक्षित र स्वच्छ बनाउनु स्थानीय सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभयो। उहाँले, “स्वास्थ्य उपचारसँगै स्वच्छता, पोषण र जनचेतना अभिवृद्धि आजको आवश्यकता रहेको बताउनु भयो । यस्ता स्वास्थ्य शिविरहरूले रोग पहिचानमा सहयोग पु¥याउनुका साथै नागरिकलाई समयमै उपचारतर्फ प्रेरित गर्ने खाँणको भनाई छ ।”
“नगरपालिकाले आफ्ना स्रोत–साधनका साथै सामाजिक संस्था, गैरसरकारी क्षेत्र र स्वयंसेवी संस्थासँग हातेमालो गर्दै स्वास्थ्य क्षेत्रलाई अझ मजबुत बनाउँदै लैजानेछ,” उहाँले स्पष्ट पार्नुभयो।
स्वास्थ्य शिविरमा थाइराइड, उच्च रक्तचाप तथा कुपोषणजस्ता समस्या देखिनु चिन्ताको विषय भएको उल्लेख गर्दै नगरप्रमुख खाँणले यसलाई गम्भीर रूपमा लिएर आगामी दिनमा लक्षित स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गरिने बताउनुभयो। “रोग लागेपछि उपचार गर्नुभन्दा पनि रोग लाग्न नदिन चेतनाको विकास अत्यन्त जरुरी छ,” उहाँले भन्नु भयो।
स्वास्थ्य क्षेत्रमा निरन्तर योगदान पु¥याउँदै आएको रोटरी क्लब अफ रुपन्देहीको भूमिकाको प्रशंसा गर्दै नगरप्रमुख खाँणले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू नगरका लागि प्रेरणादायी रहेको बताउनुभयो। प्रतिवेदन बुझाउने कार्यक्रममा रोटरी क्लब अफ रुपन्देहीका अध्यक्ष कष्ण गौतम तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।

प्रतिकया दिनुहोस्