नेपाल चिकित्सक संघ निर्वाचन: डा.बद्रीद्वारा सार्वजनिक चुनावी प्रतिवद्धता

स्वास्थ्यसमाचार/ नेपाल चिकित्सक संघ (एनएमए) को आगामी निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको समूहले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। ‘पेशागत मर्यादा र अटुट एकता: सबल एशोसिएशनका लागि टिम बद्रीको प्रतिबद्धता’ भन्ने नाराका साथ जारी गरिएको पत्रमा चिकित्सकहरूको पेशागत सुरक्षा, पारिश्रमिक वृद्धि, दरबन्दी थप, कार्यस्थलमा सुरक्षा, मानसिक स्वास्थ्य, र संस्थागत सुधारलाई मुख्य प्राथमिकतामा राखिएको छ।

समूहका संयोजक डा. बद्री रिजालले जानकारी दिनुभयो कि प्रतिबद्धता पत्र मुख्यतया छ वटा मुख्य क्षेत्रमा केन्द्रित छ। समूहले सरकारी सेवामा चिकित्सकहरूको न्यून सङ्ख्या औँल्याउँदै, पहिलो वर्षमै २,१०० र पाँच वर्षभित्र १०,००० बढी चिकित्सक थप गर्ने योजना अघि सारेको छ। यसैगरी, चिकित्सकहरूको अतिरिक्त समयको आम्दानीमा लाग्ने करको पुनरावलोकन र कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता लागू गर्ने प्रतिबद्धता पनि पत्रमा उल्लेख छ।

कार्यस्थलमा हुने हिंसा र आक्रमण रोक्न स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन गरिने, प्रत्येक अस्पतालमा हस्पिटल कम्युनिकेसन एण्ड कन्फ्लिक्ट म्यानेजमेन्ट कमिटी गठन गरिने र मुलुकी अपराध संहिताको इलाज सम्बन्धी दफा संशोधनमा दबाब दिने योजना पनि प्रस्तुत गरिएको छ।

चिकित्सकहरूको मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनका लागि ड्यूटी आवर र वेलनेस कार्यक्रम सञ्चालन गर्ने र एनएमएलाई जिल्ला–जिल्लासम्म विस्तार गर्दै अग्रज तथा नयाँ पुस्ताबीच अनुभव आदानप्रदानका लागि एनएमए गुरुकुल सिरिज सुरु गर्ने प्रतिबद्धता पनि पत्रमा समावेश गरिएको छ।

संघको निर्वाचन कार्यक्रम अनुसार काठमाडौं उपत्यका बाहिर माघ २-३ गते र भित्र माघ १५-१७ गते मतदान हुनेछ। टिम बद्री समूह अन्तर्गत अध्यक्षमा डा. बद्री रिजाल, वरिष्ठ उपाध्यक्षमा डा. संजीव तिवारी, उपाध्यक्ष/प्रदेश संयोजकमा डा. रोशन खड्का, डा. अमित रञ्जन मिश्र, डा. सुवास भट्टराई, डा. नवराज लम्डारी, डा. नन्दा गुरूङ, डा. प्रमोद जोशी, महासचिवमा डा. विश्वराज दवाडी, कोषाध्यक्षमा डा. संयुक्त आचार्य, सहसचिवमा डा. हुलास अग्रवाल र सहकोषाध्यक्षमा डा. तेजसुसिंह मल्ल उम्मेदवारीमा रहेका छन्।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :