टुटेको शाकाहारी अहम्

एउटा चिया पसलमा बसेर चिया खाँदै छु । हालसालै देशमा युवापुस्ताको ठूलो विद्रोहपछि देश एउटा लयमा आउँदै छ कि जस्तो लाग्छ । हातमा मोबाइल छ । सजिलो ईन्टरनेटसेवा छ ।

मोबाइलमा सामाजिक सन्जालमा औंलाहरुले तिव्र नृत्य गरिरहेका छन् । ती सञ्जालहरुमा कसैको यति धेरै खेदो खन्छन् कि अन्त्यमा असत्य पनि सत्य लाग्न सक्छ । कसैको यति धेरै देवत्वकरण गर्छन् कि स्वयं त्यो व्यक्तिले कति पटक आफ्नै अनुहार समयको ऐनामा राख्न पर्ने हुन्छ ।

अहिले नियुक्त शिक्षा मन्त्रीको सरलता र निस्कपट भनाइहरूको देवत्व चर्चा गरिरहेका छन् र सबैले पछ्याइरहेका छन् । कुनै दिन सानो त्रुटी भेटियो भने सबैजना फेरि उस्तै खेदो खन्न लागिपर्छन् । सकिन्छ भने काम गर्ने सुझावहरु दिने हो । सबै कुरालाई सामाजिक सन्जालमा अंश अंश काटेर अपुरो भ्रमित प्रस्तुती गर्ने प्रवृत्ति हट्नुपर्छ ।

जे भए पनि महावीर पुन अत्यन्तै असल मनका दुर्लभ व्यक्ति हुन् भन्ने कुरामा मलाई सन्देह थिएन र छैन पनि । गहन, सोझो र अप्रदुषित विचार दिने महाबिर पुनको भनाइलाई कमेडीकै रुपमा सन्जालमा भरिनु युक्तिसंगत छैन । यस्तै विचार गर्दै गर्दा मेरो चिया सकिन्छ । सायद ती प्रदूषणसहित महाबिरको गाथा यत्ति दुई शब्दले सकिन्न । एउटा प्रश्न चाहिँ जन्मिन्छ ” के म त्यति सरल हुन सक्छु र ? ” चिया पसलको पार्श्वमा भजन बजिरहेको छ ” तु अन्तर्यामी सबका स्वामी ……..”

चाडपर्वले गर्दा होला बाटोमा गाडीहरू पातलो दौडिरहेका छन् । धेरै समय कुर्दा पनि गाडी त आइपुग्दैन । त्यसपछि बाइक पठाओ गरेर भए पनि काममा निस्किनुपर्छ मलाई । जाँदै गर्दा बाटोमा केही दृश्यहरूले मनमा हलचल हुन्छ । एउटा ट्रकको पछाडि राँगा भैंसी हरु खाँदेर गएको दृश्यले ती जनावरहरुको मनोदशा कस्तो होला भनेर कल्पना गर्छु ।

इतिहासका पाना पल्टाउने हो भने दास प्रथा व्यापक हुने समयमा यसरी नै मान्छेहरुलाई ओसारपसार गर्थे रे भनेर पढ्न सकिन्छ । कल्पना गर्दा पनि आङ सिरिङ्ग हुने ।

त्यस्तै गरी एउटा सानो भ्यानमा खसीहरू पूरै खाँदेर लगेको दृश्य देखिन्छ । त्यो दृश्यले पनि उस्तै मनोभाव जन्मिन्छ । अब कसैको आहार बन्ने पूर्वानुमान ले होला त्यो भ्यानबाट रोदनको आवाज सुन्न सकिन्थ्यो । कोचाकचले गर्दा असहज भएर चिच्याएको पनि हुन सक्छ । मसँग पशुको भाषा बुझ्ने क्षमता त छैन । तर त्यहाँ करुणाको अभाव बुझ्ने थोरै क्षमता भने छ ।

अघिल्लो दिन कयौं बोइलर कुखुराहरूलाई खुट्टामा बाँधेर मोटरसाइकलको साइडमा झुण्ड्याएर लगेको देखेको थिएँ । हाम्रो देश निकै मासुप्रेमी देश हो भन्ने लाग्यो । पोषणको कतै अभाव हुन नपर्ने हो !!

आफ्नो भने मासु सेवनमा रुचि नभएको हुनाले म चाहिँ स्वादका खातिर ती खसी, राँगा, कुखुराहरूलाई पुर्याइने पीडाको भागी छैन है भन्ने कुराले कता हो कता मनमा झिनो सन्तोष मिल्छ । र मेरो अस्तित्व हल्लिन पाउँदैन ।
मेरो अहम् पनि डगमगाउँदैन ।

साँझतिर कामबाट फर्किने बेला फेरि चिया खान मन लाग्छ । क्यान्टिनमा चिया अर्डर गरेर मोबाइल चलाउँदै बस्छु । त्यही क्रममा केही वर्ष पहिले खिचेको फोटो गुगलले सम्झना दिलाउँछ । दुई वर्ष पहिले भन्दै प्रकट भएको फोटोमा लुम्बिनी प्रदेशको गोरुसिङ्गे भन्ने स्थान नजिकको गाई गोरुहरूको बथानको फोटो खिचेको रहेछु । ट्रकको ठक्करले एउटा गोरुको मृत्यु पनि भएको थियो । ती सबै गाई गोरुहरू प्रयोगसिद्धीपछि जङ्गलमा छोडिएका हुन् ।

धेरै वर्षसम्म दुहुनो गाई थाकि सकेपछि पाल्ने मान्छेले भार महसुस गर्ने गर्छन् । र कतै जङ्गलमा छोडिदिन्छन्। कतै भिरबाट खसाएको पनि समाचार सुनेको थिएँ । गोरुलाई त जन्मेको केही समयमै छोडिदिन्छन् वा बेचिदिन्छन् । दूध बढी उत्पादन गर्नकै लागि सुइहरु प्रयोग गर्ने गरेको पाइन्छ । बाच्छा बाच्छीलाई आमाबाट टाढा राखेर मातृ वात्सल्यमाथि अन्याय गरिन्छ । जबरजस्ती दूध उत्पादन गर्न नयाँ नश्लहरुको विकास गर्ने प्रयोग गरिन्छ । दूधबाट उत्पादन हुने सबै खाद्यवस्तुहरूको मूल श्रोतको बारेमा कथा खोतल्ने हो भने भयावह महसुस हुन्छ ।

पशु शोषण हाम्रो आधारभूत मूल्य मान्यता र संस्कारले पक्कै दिँदैन । गाईवस्तुमाथिको त्यो अन्याय देखेर सबैको मन विचलित पक्कै हुन्छ । गाईवस्तु पाल्ने कृषकले भिरबाटै खसाउन पर्ने अवस्था आउनुमा कति सम्मको बाध्यता होला वा कतिसम्म स्वार्थी र निर्दयी होला भन्ने अनुमान गर्न सकिन्छ ……..। आदि । एउटा गीतको याद आउँछ ” सन्सारी माया विचित्र मरेर के पो लान्छ र……”

दया करुणाका विचारहरु प्रवाह हुँदै गर्दा मेरो चिया पनि सकिन्छ । दूध चिया सकिन्छ !! शाकाहारी हुनुको अहम भत्किन्छ । राती खानाको लागि डेरामा जाँदा डेरीबाट दुई सय ग्राम पनिर किन्ने योजनामा मनभित्र प्रश्नहरु खडा हुन्छन् । कोठामा पुग्छु । डेरी बाटोमै छुट्छ । तर जिब्रोको स्वाद र इच्छाले हल्का पछुतो मानिरहन्छ ।
उही
मासु नखाने शाकाहारी ।

सम्बन्धित शिर्षक :