रुपन्देहीमा २२६ क्लिनिक दर्ता, तर ६सय भन्दा बढी सञ्चालनको अनुमान: दर्ताबाहिरका क्लिनिक छन कहाँ?

स्वास्थ्यसमाचार/ रुपन्देही जिल्लामा निजी स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको दर्ता, सञ्चालन र अनुगमनको अवस्थाबारे विभिन्न निकायका तथ्याङ्कहरूबीच फरक–फरक विवरण सार्वजनिक भएका छन्।बुटवल, तिलोत्तमा र सिद्धार्थनगर क्षेत्रमा क्लिनिक तथा ल्याबको संख्या, दर्ता प्रक्रिया र अनुगमनको प्रभावकारिताबारे सम्बन्धित अधिकारीहरूले आ–आफ्नो तथ्य प्रस्तुत गर्दै अवस्था अझै व्यवस्थित हुन नसकेको बताएका छन्।

बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख युवराज पाण्डेले बुटवल क्षेत्रमा हालसम्म ३० वटा क्लिनिक दर्ता भएको बताउनु भयो। उहाँले दर्ता भएका संस्थाहरूको सूची स्थानीय तहमा अद्यावधिक भए पनि सञ्चालनमा रहेका केही क्लिनिकहरू नियमित मापदण्डअनुसार नभएको अवस्था पनि देखिएको बताउनु भयो।

त्यस्तै, तिलोत्तमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलका अनुसार नगर क्षेत्रमा औपचारिक रूपमा मात्र २ वटा क्लिनिक दर्ता भएका छन्। उहाँले तिलोत्तमामा ११६ भन्दा बढी बिरामी जाँच तथा उपचार सेवा दिने क्लिनिक र ल्याब सञ्चालनमा रहेको बताउनु भयो। तीमध्ये दर्ता भएका रूपमा निता र नवजीवन फिजियोथेरापी क्लिनिक मात्र रहेको उहाँले बताउनु भयो। बाँकी धेरै सेवा प्रदायक संस्थाहरू दर्ता प्रक्रियामा नआएको देखिएको उहाँको भनाइ रहेको छ।

सिद्धार्थनगर नगरपालिकामा पनि अवस्था त्यस्तै रहेको देखिएको छ। नगर स्वास्थ्य शाखाका सिअहेव डिवी थापाले हालसम्म सी र डी ग्रेडका ल्याब २१ वटा तथा १५ बेड क्षमताका २ वटा अस्पताल मात्र दर्ता भएको बताउनु भयो। उहाँले केही दिन अघि स्वास्थ्य प्रहरी र जिल्ला प्रशासनको संयुक्त अनुगमन टोलीले ४० वटा क्लिनिकमा अनुगमन गर्दा १७ वटा क्लिनिकमा तालाबन्दी गरिएको बताउनु भयो। तर भैरहवा क्षेत्रमा कति क्लिनिक सञ्चालनमा छन् भन्ने स्पष्ट दर्ता रेकर्ड अझै प्राप्त नभएको उहाँले बताउनु भयो।

स्वास्थ्य कार्यालय रुपन्देहीका ल्याब टेक्निसियन अधिकृत खिमलाल पाण्डेले जिल्लाभर १०१ वटा क्लिनिक दर्ता भएको बताउनु भयो। उहाँका अनुसार औषधि व्यवस्था विभागमा १२०० भन्दा बढी संस्था दर्ता भए पनि करिब ६०० भन्दा बढी क्लिनिकले प्रत्यक्ष रूपमा उपचार सेवा दिइरहेको पाइएको बताउनु भयो।

तीमध्ये धेरै क्लिनिक तथा ल्याबहरू बिना दर्ता सञ्चालनमा रहेको देखिएको उहाँले बताउनु भयो। उहाँले जिल्लास्तरबाट अनुगमन गर्ने नीति भए पनि कारबाही गर्ने अधिकार सीमित भएकाले समस्या बढिरहेको बताउनु भयो।

यस्तै, स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत कृष्ण चौधरीले रुपन्देही जिल्लामा मात्र ७२ वटा क्लिनिक दर्ता भएको बताउनु भयो। उहाँले लुम्बिनी प्रदेशमा नयाँ स्वास्थ्य ऐन लागू भएपछि पालिकालाई डी र ई ग्रेडका ल्याब तथा ५, १० र १५ बेडका अस्पताल दर्ता गर्ने अधिकार दिइएको बताउनु भयो। स्वास्थ्य कार्यलयमा दर्ता गर्नको लागी ब्यबस्था गरिएको बताउनु भयो ।

बुटवलका केही क्लिनिक सञ्चालकहरूले भने एउटै व्यक्तिको नाममा दर्ता गरेर धेरैले सेवा सञ्चालन गर्ने प्रवृत्ति रहेको बताउनु भएको छ। उहाँहरूले अनुगमन गर्दा प्रायः एउटै–दुई वटा क्लिनिक मात्र हेर्ने गरिएको तर अन्य धेरै संस्था छोडिने गरेको गुनासो गर्नु भयो। अनुगमनका नाममा टोली आउँदा क्लिनिक बन्द गरेर हिँड्ने प्रवृत्ति पनि रहेको उहाँहरूले बताउनु भयो।

यता, अनुगमनका लागि इलाका प्रशासन कार्यालयबाट गएको टोली समेत कार्यस्थलमा पुगेर पर्याप्त अनुगमन नगरी फर्किएको आरोप पनि उठेको छ। एक कर्मचारीका अनुसार टोली अनुगमनका लागि गएको भए पनि विस्तृत निरीक्षण नगरी फर्किएको बताउनु भयो।

समग्रमा रुपन्देहीमा स्वास्थ्य संस्थाहरूको दर्ता, सञ्चालन र अनुगमन प्रणालीबीच समन्वय अभाव देखिएको छ। दर्ता नभएका क्लिनिकहरू धेरै भए पनि कारबाही प्रक्रिया कमजोर हुँदा सेवा गुणस्तर र बिरामी सुरक्षामा प्रश्न उठिरहेको सरोकारवालाहरूले बताउनु भएको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :