स्वास्थ्यसमाचार/ एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) नेपालले एचआईभी रोकथाम, परीक्षण, उपचार तथा हेरचाह सेवामा निरन्तर सहकार्य गर्दै आएको जनाएको छ। बुटवलमा आयोजित मिडिया ब्रेकफास्ट कार्यक्रममा एएचएफ नेपालले नेपाल सरकारसँग सहकार्य गर्दै देशभरका १९ वटा एआरटी क्लिनिकमार्फत सेवा प्रवाह भइरहेको जानकारी दिएको हो।
कार्यक्रममा एएचएफ नेपालका लुम्बिनी प्रदेश संयोजक धर्मराज भट्टराईले एएचएफ सन् १९८७ मा अमेरिकामा स्थापना भएको अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था रहेको जानकारी दिए। हाल विश्वका ५० भन्दा बढी देशमा एचआईभी तथा एड्ससम्बन्धी उपचार, परीक्षण र हेरचाह सेवा सञ्चालन गर्दै आएको संस्थाले नेपालमा सन् २००८ देखि काम सुरु गरेको उनले बताए।
उनका अनुसार “Sustaining the Gain, Strengthen HIV Prevention, Testing, Treatment and Care Services at ART Clinics of Nepal” नामक परियोजना सन् २०२२ देखि २०२७ सम्म सञ्चालनमा रहेको छ। परियोजनाले राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१–२०२६ अनुसार ९५–९५–९५ लक्ष्य हासिल गर्न सहयोग पुर्याउने उद्देश्य राखेको छ।
एएचएफ नेपालले लक्षित समुदायमा एचआईभी रोकथाम, परीक्षण तथा उपचार सेवाको पहुँच विस्तार, एआरटी केन्द्रहरूको सेवा गुणस्तर सुधार, बिरामीको नियमित फलोअप तथा उपचारमा निरन्तरता सुनिश्चित गर्न सहयोग गरिरहेको जनाएको छ। कार्यक्रममा कण्डम वितरण, जनचेतनामूलक सन्देश प्रसारण, लक्षित समुदायमा एचआईभी परीक्षण तथा नयाँ संक्रमितलाई एआरटी सेवासँग जोड्ने गतिविधिबारे जानकारी दिइएको थियो।
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलस्थित एआरटी शाखामा २०८२ चैत मसान्तसम्म १ हजार ७०५ जना बिरामी नियमित उपचारमा रहेका छन्। हालसम्म शाखामा ३ हजार ४२ जना बिरामी दर्ता भएको र सबैको वार्षिक विवरण अभिलेखीकरण गरिएको जानकारी प्रस्तुत गरिएको थियो। त्यसमध्ये १ हजार ५३३ जनाको बायोमेट्रिक दर्ता गरिएको छ।
त्यस्तै, एचआईभी संक्रमित आमा तथा बच्चासम्बन्धी सेवा (CABA) अन्तर्गत १६६ जनाले नियमित सेवा लिइरहेका छन्। तीमध्ये ११० जना वयस्क र ५६ जना बालबालिका रहेका छन्। पछिल्लो तीन वर्षमा PMTCT सेवाअन्तर्गत ४३ गर्भवती महिलाले सेवा लिएको र जन्मिएका कुनै पनि बच्चामा संक्रमण नदेखिएको जानकारी कार्यक्रममा दिइयो।
यस्तै, पछिल्लो एक वर्षमा POST EXPOSURE PROPHYLAXIS (PEP) सेवा ९ जनाले लिएको र तीमध्ये कसैमा पनि संक्रमण पुष्टि नभएको एएचएफ नेपालले जनाएको छ।
कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका फोकल पर्सन भिम ज्ञवालीले अस्पतालमा सञ्चालित एआरटी सेवाको अवस्था र सेवा प्रवाहबारे जानकारी गराएका थिए। एएचएफ नेपाल लुम्बिनी प्रदेश संयोजक धर्मराज भट्टराईले कार्यक्रमको उद्देश्य तथा एचआईभी नियन्त्रण अभियानबारे कार्यपत्र प्रस्तुत गरेका थिए।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले मिडियाले जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै एचआईभी सम्बन्धी सचेतना र सूचना प्रवाहमा सहकार्य गर्न पत्रकार महासंघ तयार रहेको बताए।अध्यक्षले हिजो पत्रकारहरुले गरेको सहकार्यको कारण आज संक्रमण दर घटदै गएको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेय, स्वास्थ्यकर्मी तथा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार हरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै धर्मराज भट्टराईले भैरहवामा मात्रै ३ सयभन्दा बढी संक्रमितले नियमित औषधि सेवन गरिरहेको र लुम्बिनी प्रदेशभर ५ हजार ५ सयभन्दा बढी संक्रमित उपचार सेवामा आबद्ध रहेको जानकारी दिए। हाल संक्रमितको दर प्रति हजारमा १२ जना अर्थात ०.१२ प्रतिशत रहेको समेत उनले बताए।

प्रतिकया दिनुहोस्