जेनजी रुपन्देहीको संयोजक बने आदित्य आचार्य

बुटवल । जेनजी रुपन्देहीको आज सम्पन्न भेलाले आदित्य आचार्यलाई संयोजक चयन गरेको छ। संयोजक आचार्यले देशका ७७ वटै जिल्लाको सहभागीता हुनेगरी रुपन्देहीले सहजीकरण गर्ने गरी काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय भएको जानकारी दिए।

भेलाले जेनजीको आन्दोलनका कारण पुरानो सत्ता ढलेको निष्कर्ष निकाल्दै आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा गर्न र मृतकका परिवारलाई राहतको व्यवस्था गर्न माग गरेको छ।

संयोजक आचार्यका अनुसार भेलाले वर्तमान संसद् विघटन गर्ने, स्वतन्त्र र निष्पक्ष निर्वाचनको वातावरण बनाउने र सर्वस्वीकार्य व्यक्तिलाई आन्तरिक मन्त्रीपरिषद्को अध्यक्ष तोक्ने शर्त राख्ने निर्णय गरेको छ। उनले उक्त मन्त्रिपरिषदलाई चुनावी सरकारका रूपमा अघि बढाउने बताए।

उनका अनुसार आन्दोलनका क्रममा मारिएका सहिदका अभिभावकलाई समेत नेपाली सेनासँग हुने वार्तामा सहभागी गराउने निर्णय गरिएको छ।त्यस्तै, भेलाले संघीयता र प्रदेश संरचना खारेज गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्ने, गैरदलीय राष्ट्रिय सभाको गठन गर्ने र ३ महिनाभित्र अन्तरिम संविधान निर्माण गर्ने जस्ता ठोस एजेन्डा अघि सारेको छ।

संयोजक आचार्यले आफ्नो नेतृत्वमा पाँच जनाको टोली आजै काठमाडौं प्रस्थान गरी वार्ता प्रक्रिया अघि बढाउने जानकारी दिए।

सम्बन्धित शिर्षक :