गुल्मीदरबार गाउँपालिका :पूर्ण खोप, संस्थागत प्रसुती र पोषणमैत्री स्वास्थ्य संस्था सुनिश्चित

स्वास्थ्यसमाचार/ गुल्मीको गुल्मीदरबार गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित, पूर्ण संस्थागत प्रसुती गाउँपालिका र पूर्ण पोषण मैत्री स्वास्थ्य संस्था सुनिश्चित पालिका घोषणा गरिएको छ।

गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रमकामा जिल्ला समन्वय समितिका प्रमुख द्रोण बहादुर खत्रीले उक्त घोषणा गर्नुभएको हो।
घोषणा कार्यक्रममा बोल्दै समन्वय प्रमुख खत्रीले पूर्वाधार विकासले मात्रै पूर्ण विकास हुन नसक्ने विचार ब्यक्त गर्नुभयो।

प्रमुख खत्रीले भन्नुभयो “शिक्षा, स्वास्थ र पोषण लगायतका क्षेत्रमा तोकिएको मापदण्ड अनुसार राम्रो गर्न सकिएन भने घोषणा कार्यक्रमले मात्र अपेक्षा गरेको उपलब्धि हासिल भएको मान्न सकिदैन”त्यसैले कार्यक्रमलाई दिगो रुपमा संचालनका लागि नियमित अनुगमन र सहजीकरणको खाँचो रहने भएकोले पालिकाले यसतर्फ विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो।

साथै उहाँले स्थानीय तहहरुले मानव विकास र सामाजिक विकासको क्षेत्रमा विशेष कार्यक्रमहरु संचालन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो।
कार्यक्रममा बोल्दै गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले पूर्वाधार विकाससँगै मानव विकास र स्वास्थ्य तथा पोषणको क्षेत्रमा विभिन्न कार्यक्रमहरु अगाडी बढाएको बताउनुभयो।घोषणा मात्रै गरेर नहुने भन्दै यसलाई दिगोपना दिनका लागि सबैको सहयोग आवश्यक हुने बताउनुभयो।

गुल्मीदरबार गाउँपालिका अन्तर्गतका सबै वडाहरु साविकका सबै गाविसहरू २०७१ साल देखि नै पूर्ण खोप घोषित भई हरेक वर्ष सुनिश्चित हुँदै आएकोमा गाउँपालिकाको स्थापनाकाल देखि नै उक्त कार्यक्रमको दिगोपनामा जोड दिई पालिकालाई पूर्ण खोप पालिका सुनिश्चित गर्दै हरेक वर्ष प्रमाणिकरण गरिदै आएको समेत अध्यक्ष थापाले जानकारी दिनुभयो।

पूर्ण खोप सुनिश्चितता र दिगोपनाको कारण खोपबाट बचाउन सकिने सबै रोगहरु नियन्त्रण भएका उहाँको भनाइ छ।आफुहरुको अथक प्रयासपछि २०८० जेठ ६ गते गुल्मीदरबार गाउँपालिकालाई नेपालकै पहिलो पूर्ण पोषण मैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको समेत स्मरण गराउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले त्यस गाउँपालिकामा हुने सबै गर्भवतीहरुलाई स्वास्थ्य संस्थामै प्रसुती गराउने अभियान अन्र्तगत ‘कस्तो छ आमा कार्यक्रम, मेरी आमा स्वस्थ आमा कार्यक्रम र निःशुल्क एम्बुलेन्स सेवा’ जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउनुभयो।

विगत ५ वर्ष देखि सो गाउँपालिका अन्तर्गतका कुनै पनि महिलाहरु घरमा सुत्केरी नभएको समेत जानकारी गराउँदै उहाँले ‘उपाध्यक्ष कोसेली, बाबालाई चिठी, गर्भवती झण्डा’ लगायतका कार्यक्रम समावेश गरी प्रभावकारी रुपमा सञ्चालन भइरहेका समेत जानकारी गराउनुभयो।यस्तै सरकारले तोकेबोजिमका बर्थिङ सेन्टरमा सुत्केरी हुनेहरुलाई गर्भवती उत्प्रेरणा स्वरुप यातयात खर्च, न्यायो झोला प्रसुती हुँदाकै बखतमा उपलब्ध गराउँदै आएको बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेले पोषण कार्यक्रम,पूर्ण संस्थागत प्रसुती कार्यक्रमतर्फ र पूर्ण खोप घोषणा कार्यक्रमतर्फ गरिएका क्रियाकलापहरूका विषयमा सहभागीहरुलाई जानकारी गराउनुभयो।

गाउँपालिकालाई सो कार्यक्रमहरु घोषणाका लागि जिल्ला खोप समन्वय समितिको तर्फबाट आवश्यक अनुगमन भई पालिकाले अनुमति प्राप्त गरेकाले ३ वटै कार्यक्रम घोषणा गर्दै दिगोपनाका लागि अगाडी बढेको समेत घिमिरेले बताउनुभयो।

गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद अर्यालले आवश्यक सम्पूर्ण मापदण्डहरु पुरा गरेकाले पालिकालाई पूर्ण संस्थागत प्रसुती सेवा युक्त स्थानीय तह तथा जिल्ला घोषणा मापदण्ड, पूर्ण पोषण मैत्री स्वास्थ्य संस्था घोषणा मापदण्ड र राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम सबै मापदण्डहरु पुरा गरेकाले गाउँपालिकालाई क्रमशःपूर्णसंस्थागत प्रसुती सेवा युक्त,पूर्णपोषण मैत्री स्वास्थ्य संस्था सुनिश्चित र पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको जानकारी दिनुभयो।

लुम्बिनी प्रदेशका १ सय ९ स्थानीय तहमध्ये २१ औं स्थानमा यस पालिकालाई घोषणा गरेको बताउनुभयो।पालिकाको कार्यालय रहेको गौडाकोट बजार देखि पालिकाको सभा हलसम्म विभिन्न सन्देश सहितका प्लेकार्ड सहित प्रभातफेरी कार्यक्रम गरि सभामा परिणत भएको घोषणा सभामा वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,पालिकाका शाखा प्रमुखहरु,सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि,महिला स्वास्थ्य स्वयंसेविका र स्थानीयको सहभागीता रहेको थियो।

सम्बन्धित शिर्षक :