स्वास्थ्यसमाचार/गुल्मीको चन्द्रकोट गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवा सुनिश्चितता पालिका घोषणा गरिएको छ। त्यस्तै पुर्ण खोप दिगोपना कार्यक्रमलाई पनि संगै निरन्तरता दिइएको छ। घोषणा सभाको आईतबार लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले उद्घाटन गरेका थिए।
उदघाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री सारुले देशभरका आँकडा भन्दा बढि लुम्बिनी प्रदेशमा मातृ मृत्यु दर बढि रहेको बताएका थिए। देशभर मातृ मृत्यु दर एक लाख जनामा १५१ जना मातृ मृत्यु दर रहेकोमा लुम्बिनी प्रदेशमा एक लाख जना गर्भवती महिला मध्ये २०७ जनाको मृत्यु हुने गरेको र १२ जिल्ला मध्ये बाँके, कपिलवस्तु र रुपन्देहीका दक्षिण , पश्चिम भेगमा मातृ मृत्युदर अन्य जिल्लामा भन्दा बढि रहेको जानकारी दिएका थिए।
उनले मातृ मृत्यु दर घटाउन प्रदेश सरकार लागी परेको बताउँदै अस्पतालमा सुत्केरी आमाहरुलाई ४८ घण्टा सम्म राख्न सकिए मातृ मृत्यु दर घटाउन सकिने उनको भनाई थियो। पुर्ण संस्थागत प्रसुती र पुर्ण घोप सुनिश्चिता पालिकाहरु घोषणा गर्ने प्रदेश सरकारको अभियानका क्रममा प्रदेशका १०९ वटा पालिका मध्ये चन्द्रकोट बीसौं पालिका घोषणा हुन पुगेकोमा उनले त्यस पालिकालाई बधाई दिएका थिए।
हरेक क्षेत्रमा सबैको क्रियाशीलता, सबल एवम् सक्षम चन्द्रकोट, भ्रष्टाचारमा शुन्य सहनशीलता भन्ने नारासहित आयोजित घोषणा सभामा भव्य समारोहका बीच चन्द्रकोट गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति एवम् पूर्ण खोप दिगोपना पालिका घोषणा कार्यक्रम सम्म आई पुग्दा निकै मेहनत गर्नु परेको प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौड्यालले बताए।
राष्ट्रिय खोप कार्यक्रम अनुसार यहाँ रहेका सबै बालबालिकालाई खोप दिए पश्चात् चन्द्रकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको बताइएको छ। गाउँपालिकाका आठ वटै वडामा रहेका लक्ष्यित अर्थात १६ देखि ५९ महिनाका ८२९ जना बालबालिकालाई खोप लगाउने कार्य सम्पन्न भएसँगै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख प्रकाश चन्द्र शर्माले जानकारी दिए।
स्वास्थ्य शाखा प्रमुख शर्माका अनुसार दिब्रुंग स्वास्थ्य चौकीबाट ४५, बिसुखर्क स्वास्थ्य चौकीबाट १०३, हर्राचौर स्वास्थ्य चौकीबाट ७१, शान्तिपुर स्वास्थ्य चौकीबाट १६८, ग्वाघा स्वास्थ्य चौकीबाट ७४, हरेवा स्वास्थ्य चौकीबाट ६२, रुपाकोट स्वास्थ्य चौकीबाट १०९ र तुराङ स्वास्थ्य चौकीबाट १९७ गरी यहाँ रहेका कूल ८२९ जना लक्ष्यित बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्।
त्यस पालिका स्वास्थ्य शाखाले पशे गरेको प्रतिवेदनलाई उद्धृत गर्दै जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले गत बर्ष चन्द्रकोट गाउँपालिकामा १९५ जना महिला सुत्केरी हुँदा ९५ जनाले पालिका बाहिर पुगेर प्रसुति सेवा लिएको बिषय राम्रो नभएकोले स्थानीय स्वास्थ्य संस्थामै ढुक्क भएर प्रसुति सेवा लिन आग्रह गरेका थिए।
खोप निर्देशिका समेत रहेका आचार्यका अनुसार आवश्यक सबै प्रक्रियाहरु पूरा गरेर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना गाउँपालिकाको रुपमा घोषणा गरिएको उहाँले बताउनुभयो । संस्थागत प्रसूति सेवा सुनिश्चित गर्न गाउँपालिकाले छ वटा स्वास्थ्य संस्थामा वर्थिङ्ग सेन्टरको व्यवस्था गरेको छ । पालिकामा १०० प्रतिशत महिलाले स्वास्थ्य संस्थामा प्रसूति गरिसकेको बताइएको छ।
गाउँस्तरमै स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले यस गाउँपालिकामा स्वास्थ्य चौकी आठवटा, बर्थिङ सेन्टर छवटा, ल्याब सेवा पाँचवटा, सामुदायिक स्वास्थ्य इकाई नौवटा सञ्चालन गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाइएको गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीले बताउनुभयो। गाउँपालिका सधै नागरिकको साथमा रहेको उनको भनाइ छ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारीले चन्द्रकोट गाउँपालिकालाई यो स्थानमा ल्याई पुर्याउन यहाँका स्वास्थ्यकर्मी तालुकदार निकाय, यहाँका जनप्रतिनिधिले निकै मेहनत गर्नु परेको स्मरण गर्दै अहिले सबै सूचकहरु पुरा गरी घोषणा गर्न पाउँदा हर्ष लागेको बताए।
पूर्ण संस्थागत प्रसूति एवम् पूर्ण खोप दिगोपना चन्द्रकोट गाउँपालिका घोषणा समारोहमा संविधान सभा सदस्य सृजना तरामु मगर, जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्री, मुसिकोट नगरपालिकाका मेयर जिवलाल खरेल जीवन, उपमेयर गंगा श्रेष्ठ, रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, गुल्मीदरबार गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगा, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, वडाध्यक्ष, कार्यपालिका सदस्य जनप्रतिनिधि लगायतको विशेष आतिथ्यता रहेको थियो।
सरोकारवाला निकायको जिम्मेवारी व्यक्तिहरुले गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवा प्राप्त साथै पूर्ण खोप दिगोपना पालिका साझा प्रतिबद्धता लेखिएको ब्यानरमा हस्ताक्षर गरेका थिए।
यस कार्यमा सफलता प्राप्त गरेको प्रति कार्यक्रमका बिशेष अतिथी जिल्ला समन्वय प्रमुख खत्री, प्रमुख जिल्ला अधिकारी गौतम, मुसिकोट नगरपालिकाकाकी उपमेयर गंगा श्रेष्ठ, गुल्मीदरबार गाउँपालिका उपाध्यक्ष तरा थापा ढेंगा लगायतले बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो।
घोषणा सभामा धामी झाँक्री जस्ता अन्धविश्वासका कारण गर्भवतीको समयमै अस्पताल पुराउन नसक्दा गर्भवती महिलाको ज्यान जाने गरेको बिरुद्ध वडा नम्वर एक शारदा मावि सारा साराङका विद्यार्थीहरुले मार्मिक सडक नाटक मञ्चन गरेका थिए। त्यस्तै चन्द्रकोटका स्वास्थ्यकर्मीहरुले विभिन्न सन्देश मुलक गीत र नृत्य प्रस्तुत गरेका थिए।
गाउँपालिका अध्यक्ष खत्री क्षेत्रीका अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष भण्डारीको स्वागत मन्तब्य र प्रशासकिय अधिकृत शिव ज्ञवालीको सञ्चालन रहेको थियो। गुल्मी जिल्लाका १२ वटा पालिका मध्ये पुर्ण प्रसुति सेवा सुनिश्चिता र पुर्ण खोप दिगोपना पालिका घोषणा हुने चन्द्रकोट गाउँपालिका पाँचौ हो।
सहज स्वास्थ्य सेवा प्रवाहमा जिल्लाको रेसुङ्गा नगरपालिका पहिलो र चन्द्रकोट गाउँपालिका दोश्रो स्थानमा रहेको चन्द्रकोट गाउँपालिकाका पुर्व पालिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय प्रमुख खत्रीले कार्यक्रममा बताउनु भएको थियो।
प्रतिकया दिनुहोस्