स्वास्थ्यसमाचार/प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठकले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम स्वीकृत गर्दै प्रतिष्ठानको दीर्घकालीन विकासका लागि महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित बैठकमा रजिष्ट्रार प्रा। श्याम लम्सालले प्रस्तुत गरेको नीति, योजना, कार्यक्रम तथा बजेट सम्बन्धी प्रस्तावहरू छलफलपछि अनुमोदन गरिएको छ ।
प्रतिष्ठानले हाल ३३० श्यैयाको अस्पताल सञ्चालन गर्दै विभिन्न विशेषज्ञ सेवा प्रदान गरिरहेको छ भने बैठकले चार सय श्ययाको आधुनिक शिक्षण अस्पताल निर्माणसम्बन्धी गुरुयोजना पारित गरेको छ । उक्त योजनाका लागि आवश्यक स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयमा प्रक्रिया अघि बढाइएको छ ।
प्रतिष्ठानको नेतृत्व सुदृढ, नयाँ सदस्यहरूको मनोनयन
बैठकले प्रतिष्ठानसभामा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै कार्यकारी परिषद्को सिफारिसअनुसार बलीभद्र राना, श्रीप्रकाश श्रेष्ठ, यमुना थापा मगर, सुशीला चौधरी, चन्दादाताबाट सुदीप गौतम र कर्मचारीतर्फबाट विनोद दाहाललाई मनोनयन गर्ने निर्णय गरेको छ ।
अतिक्रमित जग्गा फिर्ता र प्रशासनिक सुधारको निर्देश
बैठकले प्रतिष्ठानको स्वामित्वमा रहेका अतिक्रमित जग्गाहरू खाली गराई उचित उपयोगमा ल्याउने निर्णय गरेको छ । साथै, कार्यकारी परिषद्का सदस्यहरूको मनोनयन तथा कर्मचारी सेवा, शर्त तथा नियमावलीका विषयमा विस्तृत अध्ययन गरी आगामी बैठकमा पेश गर्ने निर्देशन दिएको छ ।
समयमै योजना कार्यान्वयनको प्रधानमन्त्री ओलीको निर्देशन
बैठकमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानका पूर्ववर्ती आर्थिक वर्षहरू २०७९/८० र २०८०/८१ का बजेट तथा कार्यक्रम सिनेट बैठक समयमा बस्न नसक्दा ढिलो अनुमोदन गर्नुपर्ने कमजोरी भविष्यमा दोहोरिन नदिन निर्देशन दिए ।
उनले नीति तथा योजनाहरू निर्धारित समयमै कार्यान्वयन गर्न आवश्यक प्रक्रियाहरू पूरा गर्दै अघि बढ्न आग्रह गर्दै नेपाली जनताको स्वास्थ्य सेवा र समग्र समृद्धिमा योगदान पुर्याउने गरी काम गर्न जोड दिए ।
आगामी बजेट निर्माणका लागि समिति गठन
बैठकले प्रतिष्ठानको आगामी बजेट तथा कार्यक्रम प्रभावकारी बनाउन रजिष्ट्रार प्रा। श्याम लम्सालको संयोजकत्वमा विशेष समिति गठन गरेको छ ।
बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं सहकुलपति प्रदीप पौडेल, प्रतिष्ठानका उपकुलपति डा। विकास लामिछाने, राष्ट्रिय योजना आयोगका सदस्य, स्वास्थ्य तथा अर्थ मन्त्रालयका सचिवलगायतको सहभागिता रहेको थियो ।
प्रतिष्ठानको बजेट स्वीकृति, शिक्षण अस्पताल विस्तार, प्रशासनिक सुधार तथा समयमै योजनाहरू कार्यान्वयन गर्ने निर्णयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्षमता अभिवृद्धि गर्दै स्थानीयस्तरमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा टेवा पुर्याउने विश्वास गरिएको छ ।
प्रतिकया दिनुहोस्