अर्घाखाँचीका ८७ सय किशोरीलाई ‘एचपिभी’ खोप लगाइने

स्वास्थ्यसमाचार/पाठेघरको मुखको क्यान्सर रोकथामका लागि अर्घाखाँचीका ८७ सय किशोरीलाई ‘एचपिभी’ खोप लगाइने भएको छ ।आगामी माघ २२ देखि सञ्चालन हुने खोप अभियानअन्तर्गत विद्यालयमै पुगेर छ देखि १० कक्षामा अध्ययनरत किशोरीलाई उक्त खोप लगाउने भएको हो ।

विद्यालय बाहिरका १० देखि १४ वर्षमुनिका किशोरीलाई पनि खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख शिव सार्कीले बताउनु भयो।उहाँका अनुसार खोप कार्यक्रम सञ्चालनका लागि सबै पालिका २ सय स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिम दिएको बताउनु भयो ।यसपछि शिक्षक, पालिकाका स्रोतव्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, चिकित्सक, अन्य स्वास्थ्यकर्मीहरूलाई तालिम दिने कार्यक्रम रहेका सार्कीलेले बताउनु भयो ।

लुम्बिनी प्रादेशिक अस्पतालका स्त्रीरोग बिशेषज्ञ अनुपा थापाले भन्नुभयो समयमै रोगको पहिचान र निदानका लागि पाठेघरको मुखको जाँच नियमित गराउनु पर्छ । ३० वर्षमाथिका महिलाले पाँच–पाँच वर्षमा र एचआइभी सङ्क्रमित महिलाले हरेक तीन वर्षमा पाठेघरको मुखको नियमित जाँच गराउन आग्रह गर्नु भयो ।

नेपालमा गरिएका विभिन्न अध्ययनले क्यान्सर रोगको दर र जोखिम दिनानुदिन बढ्दै गएको देखाएका छन् ।त्यसमा पनि महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा धेरै हुने गरेको पाइएको छ ।

‘एचपिभी’ भाइरस मुख्यतः सङ्क्रमित व्यक्तिसँगको यौन सम्पर्कका क्रममा सङ्क्रमित व्यक्तिको यौनाङ्गको छाला, श्लेष्म झिल्ली वा तरल पदार्थको सम्पर्कमार्फत सर्ने गरेकाले सावधानी अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।

सम्बन्धित शिर्षक :