लुम्बिनीमा दुई लाख ९८ हजार किशोरीलाई एचपिभी खोप लगाइने

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप पठाएको छ ।

लुम्बिनीमा दुई लाख ९८ हजार नौ सय १० मात्रा खोप आएको प्रदेश स्वास्थ्य आपुर्ति केन्द्र लुम्बिनीले जनाएको छ।‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा खोप नेपाल आएपछि प्रदेशमा पठाइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले जानकारी दिए। उनले सबै १७ लाख ७० हजार २० मात्रा खोप नेपाल आइसकेको बताए ।

निर्देशक डा रायमाझीका अनुसार गाभीले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप निःशुल्क उपलब्ध गराएको हो ।
सङ्घीय सरकारले यही माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई खोप लगाइने जनाएको छ ।

प्रदेशले खोपलाई सुरक्षित भण्डारण गर्ने र आआफ्नो जिल्लामा पठाउने महाशाखाका निर्देशक डा रायमाझीले बताए ।उक्त खोप एक मात्रा लगाएपछि पुग्ने महाशाखाका निर्देशक डा रायमाझीले जानकारी दिए ।

प्रदेश आपुर्ति केन्द्र लुम्बिनीका प्रमुख डा राजेन्द्र गिरीले प्रदेशलाई आबश्यक पर्ने खोप आईपुगेको बताए । उनले प्रदेशमा २ लाख ६० हजार बढी किशोरी रहेको तथ्याकं भएपनि अहिले पनि जिल्लामा जानकारी लिने कार्य रहेको बताए ।

महाशाखाका निर्देशकका अनुसार नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरसको सङ्क्रमण रहेकाले त्यसका विरुद्ध खोप लगाउनुपर्ने डा रायमाझीले बताए ।

नेपालमा सबैभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर र त्यसपछि स्तन क्यान्सर रहेको छ ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :