मानव बिकासका चरणहरु र स्वास्थ्य
मानव बिकासका चरणहरु भन्नाले गर्भावस्थादेखि मृत्युसम्मका अवस्थाका चरणहरुलाइ जनाउछ | यसलाई जीवन अवधिका विभिन्न अवस्था पनि भनिन्छ | मानव बिकासका चरणहरु विभाजन गर्ने मुख्य आधार शारीरिक उमेरलाइ मानिन्छ | ढुंगे युगमा अन्य जनावर सरह जीवनयापन गर्ने मानव बर्तमान विश्वको सबैभन्दा बिकसित र समुन्नत प्राणी हो | मानवजातिको उदभव भन्नाले बर्तमानमा पृथ्बीबाट लोप भएका मानव पुर्खाहरु (Primate) जस्तै: नरवानर (Ape) बाट क्रमिक रुपमा विकास भई अहिलेको मानव अवस्थासम्मको प्रकृयालाइ बुझिन्छ | नरवानर जस्तै पुर्खाबाट क्रमिक रुपमा विकास हुदै अहिलेको मानवका रुपमा आइपुग्न करिब ६०००००० ( साठी लाख) बर्ष लागेको थियो |
वृद्धि व्यक्तिको शारीरिक आकार तथा संरचनामा आउने परिवर्तनलाइ वृद्धि भनिन्छ | जस्तै बालकको आकार, लम्बाई, उचाई, तौल बढ्नु | वृद्धि परिमाणात्मक प्रकृतिको हुन्छ | वृद्धि मानव शरीरमा हुने परिमाणात्मक परिवर्तनसँग सम्बन्धित हुन्छ | त्यसैले यसलाई शारीरिक प्रकृया पनि भनिन्छ | बृद्धिले शरीरको मुटु,कलेजो, आन्द्रा, जस्ता भित्री अंगमा हुने परिवर्तन र हातखुट्टा, पाखुरा, तिघ्रा जस्ता बाहिरी अंग दुबैमा हुने परिवर्तनलाइ जनाउछ | वृद्धिलाई सजिलै नाप्न, तौलन सकिन्छ | वृद्धि निश्चित समयसम्म रहन्छ | खासगरी वृद्धि गर्भावास्थाबाट शुरु भई प्राय किशोरावस्थाको अन्त्यतिर टुंगिन्छ |
बिकास व्यक्तिको शारीरिक, मानसिक, संवेगात्मक, नैतिक, भाषिक आदि सबै पक्षमा हुने परिवर्तनको एकीकृत रुपलाई नै विकास भनिन्छ | यी सबै पक्षमा आउने गुणात्मक परिवर्तन नै विकास हो | विकास बिस्तृत एवं ब्यापक धारणा हो | बालकको शारीरिक, मानसिक लगायत सम्पूर्ण पक्षसँग सम्बन्धित व्यवहारको अवलोकन गरेर बिकासको अवस्था पत्ता लगाउन सकिन्छ |
बिकास जन्मदेखि नमरुन्जेलसम्म निरन्तर रुपमा चलिरहने एक मनोबैज्ञानिक एवं वातावरणीय प्रकृया हो | यसलाई वृद्धि परिपक्कता, वातावरण, सिकाइ आदि सबै पक्षले प्रभाव पारेको हुन्छ | यसले परिमाणात्मक र गुणात्मक दुवै पक्षलाई समेट्दछ |
गर्भधारण जब पुरुष र महिलाको परिपक्व यौनकोषहरू मिल्न पुग्दछन अथार्त यौन सम्पर्कको समयमा पुरुषको शुक्रकिट र महिलाको अण्डाको एक आपसमा मिलन हुन्छ तब गर्भधारण हुन्छ | गर्भाधारणको समयमा नयाँ जीवकोषमा पुरुषबाट २३ वटा र महिलाबाट २३ वटा गरी जम्मा ४६ वटा क्रोमोजोम्स प्राप्त हुन्छ | सबै क्रोमोजोम्स भित्र स-साना धागो आकारमा हजारौ/लाखौ जिनहरु हुन्छन | यिनीहरुले आमाबाबुमा रहेको गुणहरु सन्तानमा सार्ने काम गर्दछन |
गर्भावस्था गर्भधारण गरे देखि दुई हप्तासम्मको अवधिलाई जाइगोट (Zygote) को अवस्था, दुई हप्ता देखि दुई महिनासम्मको अवधिलाई भ्रुणको (Embryo) अवस्था र दुई महिना देखि जन्मसम्मको अवधिलाई फेट्स (Fetus) को अवस्था भनिन्छ | गर्भधारण गरेको ६ हप्ता बाट साल बन्न शुरु गर्छ र पूर्ण रुपमा १२ हप्तामा तयार हुन्छ | सालले बच्चालाई अक्सिजन र पोषणतत्व पुर्याउने काम गर्नुको साथै हानिकारक पद्धार्थलाइ बच्चा सम्म पुग्न नदिएर रोकेर राख्ने छेकबारको (Barrier) रुपमा काम गर्छ र बच्चाको रगतमा भएको बेकारको पदार्थ बाहिर निकाल्ने काम गर्छ | जसले गर्दा बच्चा विभिन्न किसिमको रोगको आक्रमण हुनबाट बच्ने गर्दछ | गर्भावस्थाका बिशेषताहरुमा बंशाणुगतगुणको प्रसारणको अवस्था, तीब्र वृद्धि र बिकासको अवस्था, लिंग निर्धारण गर्ने अवस्था हो | बालकको बिकास आमाको वातावरणबाट प्रभावित हुने र जिम्मेवार मानिसको मनोवृत्तिले प्रभाव पार्ने अवस्था हो | यो संकटपूर्ण अवस्था हो किनकि यस अवस्थामा शारीरिक तथा मनोबैज्ञानिक संकट बढी देखिन्छ |
- नवजात अवस्था (Neonate stage)
बालक जन्मे देखि ४ हप्तासम्मको अवस्थालाई नवजात अवस्था भनिन्छ | यस अवस्थामा बालकले चुस्ने, निल्ने, दिसापिसाब त्याग गर्ने, श्वासप्रस्वास फेर्ने र तापक्रममा समायोजन हुने गर्दछ | बालक असहायक अवस्थामा हुन्छ | शिशुको जीवन कष्टकर हुन्छ | बालक जन्मदासाथ रुन थाल्दछ, यसलाई राम्रो रुपमा हेरिन्छ | यो मानव जीवनको सबैभन्दा छोटो अवस्था पनि हो |
- शैशवास्था (Babyhood)
शिशु जन्मेको २ हप्ताको अन्त्यदेखि २ बर्षसम्मको बिकासात्मक अवस्थालाई शैशवास्था (Babyhood)भनिन्छ | अघिल्लो अवस्थाको तुलनामा यस अवस्थाका बालबालिकाहरु कम असहाय र अधिक स्वतन्त्र हुन्छन | परनिर्भरबाट केहि हदसम्म आत्मनिर्भरतर्फ लाग्दछन | तिब्र वृद्धि तथा बिकास हुन जान्छ | बालबालिकाहरु लखर-लखर लडबढाउदै हिड्न थाल्दछन | त्यसैले यस अवस्थाका शिशुलाई लर्खराउदै हिड्ने शिशु (Toddler) पनि भनिन्छ | यस अवस्थाका बालबालिकाहरु बढी जिज्ञाशु हुन्छन | वातावरणीय क्रियाकलापको नक्कल गर्दछन | खाना खान,बोल्न,हिड्न,उठ्न,बस्न,खेल्न सक्दछन | उनीहरुको प्रकृति “कुमालेले मुछेको माटो जस्तै हुन्छ” | उनीहरुलाइ जस्तो रुपमा पनि बिकसित गर्न सकिन्छ | यस अवस्थालाई मनोबैज्ञानिकहरुले जीवनको नाजुक अवस्था मानेका छन |
शैशवास्थाका विशेषताहरु
- वास्तविक आधारको उमेर
- तिब्र वृद्धि र परिवर्तनको उमेर
- घट्दो निर्भरताको उमेर
- वैयक्तिकता वृद्धि हुने उमेर
- सामाजिकीकरणको सुरुवातको उमेर
- यौन भूमिका छुटयाउने शुरुवातको अवस्था
- आकर्षण उमेर
- सिर्जनात्मकताको सुरुवातको उमेर
१००० सुनौला दिनहरु गर्भधारण गरे देखि बच्चा जन्मिएको २ बर्ष सम्मको अवस्थालाई १००० सुनौलो दिनहरु भन्ने गरिन्छ | यो अवस्थालाइ बिकासको हिसाबले अति संबेदनशील मानिन्छ | किनकि यो अवधीमा बच्चाको ८० प्रतिसत दिमागको बिकास हुने गर्दछ | जसमा ३० प्रतिसत गर्भावस्थामा, २५ प्रतिसत बच्चा जन्मिएको पहिलो बर्ष र २५ प्रतिसत दोश्रो बर्षमा हुने हुदा सबैभन्दा बढी आमा र बच्चाको स्याहार सुसार सहित सन्तुलित खाना र स्तनपान यहि बेलामा बढी आवश्यकता पर्दछ जुन बच्चा पछि गएर भविष्यमा कस्तो हुने भन्ने भाग्य निर्धारण गर्न पनि सक्दछ | हुन त मान्छे कस्तो व्यवहार र प्रकृतिको हुन्छ भन्ने कुरामा केही वैज्ञानिकले बंशानुगत र केही वैज्ञानिकले वातावरणले निर्धारण गर्छ भनेका छन तर यसको बारेमा बैज्ञानिकहरुमा आफ्नो आफ्नो तर्क रहेतापनि दुवैपक्ष २ वटै तत्वको भूमिका हुन्छ भन्नेमा सहमत रहेको पाइन्छ | एउटा स्वस्थ बच्चाको जन्म दिनको लागि आमाको स्वास्थ्य राम्रो भएको हुनु पर्छ किनकि आमाको स्वास्थ्य सँग बच्चाको स्वास्थ्य अन्तर सम्बन्ध रहेको हुन्छ | त्यसैगरी किशोरीहरूमा भएको कुपोषणको चक्रलाई तोडनु पनि आवश्यक हुन्छ |
बाल्यावस्था:
- प्रारम्भिक वाल्यावस्था (Early childhood) : बालबालिकाको २ बर्षदेखि ६ बर्षसम्मको अवधीलाई प्रारम्भिक वाल्यावस्था भनिन्छ | यस अवस्थाका बालबालिकाहरुको शारीरिक स्वरुपमा हुने वृद्धि भन्दा संवेगात्मक वाचन एबं मानसिक क्षमताको बिकासमा तिब्रता आउछ | बालबालिकाहरु घरायसी वातावरणबाट भिन्न किसिमको बिधालयको वातावरणमा समायोजनका लागि तयारी अवस्थामा लाग्दछन | उनीहरु ज्यादै जिज्ञासु, चकचके, जिद्दी र अटेरी खालका हुन्छन |
विशेषताहरु : समस्यापूर्ण उमेर, खेलौनाको उमेर, पुर्व बिधालयको उमेर, पुर्व बाल समुहको उमेर, अन्वेषणात्मक उमेर, नक्कल गर्ने उमेर, रचनात्मक उमेर |
- उत्तर बाल्यावस्था (Late childhood) : बालबालिकाको ६ बर्षदेखि १२ बर्षसम्मको अवधीलाई उत्तर बाल्यावस्था भनिन्छ | यस समुहलाई यौन परिपक्कता प्राप्त नगरुन्जेलसम्मको अवस्था पनि भन्ने गरिन्छ | यस अवस्थालाई औपचारिक बिधालय प्रवेशको उमेर पनि भनिन्छ | बिधालय प्रवेशसंगै उनीहरुमा प्रारम्भिक बाल्यावास्थामा बिकसित भएका आधारशिलाहरु बिकसित हुदै जान्छन | आधारभूत मुल्य मान्यता, मनोवृत्ति, एबं व्यावहारिक क्षेत्रमा परिवर्तन आउदै जान्छ | त्यसैले यस अवस्थालाई एक महत्वपूर्ण अवस्था भनिन्छ |
विशेषताहरु : दु:खपूर्ण उमेर, प्रारम्भिक बिधालयको उमेर, बालसमुह उमेर, फोहोरी उमेर, खेल्ने उमेर, सोचनीय/नाजुक अवस्था, सिर्जनात्मक उमेरको साथै मेहनती र हिनताबोधको उमेर पनि भनिन्छ |
- किशोरावस्था : मानव जीवनको विभिन्न अवस्थामध्ये बाल्यावस्थापछि लगतै एउटा रमाइलो अवस्था सुरु हुन्छ । यसरी बाल्यावस्था पुरा भएको तर वयस्क अवस्था प्रवेश गरी नसकेको उमेर अवस्थालाई किशोरावस्था भनिन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक मानव जीवनको १० देखि १९ वर्षको उमेरलाई किशोरावस्था भनिन्छ । यस अवस्थामा मानवको शारीरिक, मानसिक र सामाजिक परिवर्तनहरु भई यही अवस्थाको अन्त्यमा व्यक्ति वयस्क अवस्थामा प्रवेश गर्दछ । त्यस्तै गरि ११/१२ बर्षदेखि १५/१६ बर्षसम्मको अवस्थालाई यौवनावस्था (Puberty) भनिन्छ भने १३ देखि १९ बर्षको उमेर समुहलाई टिनेजर (Teenager) भन्ने गरिन्छ |
किशोरावस्थाका परिवर्तनहरु : किशोरावस्थामा शारीरिक परिवर्तनको प्रमुख कारण त मानब बिकासको प्रक्रिया नै हो | प्रकृतिले त्यसबेला रागरस (Hormone) उत्पन्न गराउछ र यो मानब शरीरको एक ग्रन्थी पिट्युटरी ग्रन्थी (Pituitory) ले नियन्त्रण गर्दछ | यसै ग्रन्थीले नै अरु विभिन्न किसिमका ग्रन्थी तथा रागरसहरु उत्पादनलाइ नियन्त्रण गर्दछ | त्यसैगरी प्राकृतिक रुपमा बालक र बालिका भएर जन्म लिएका मानब शरीरमा किशोरावस्थामा प्रजनन अंगहरु र प्रजनन प्रक्रियाको विकास हुने हुदाँ यस अवस्थामा नै ग्रन्थी र रागरसहरु सक्रिय भई विभिन्न शारीरिक परिवर्तन देखा पर्ने तथा शारीरिक परिवर्तन र प्राकृतिक एवं सामाजिक अपेक्षा अनुरुपका मानसिक परिवर्तनहरु देखा पर्दछन |
किशोरावस्था किशोर किशोरीहरूमा शारीरिक परिवर्तन आउने र मानसिक संवेगहरुले उत्तेजित तुल्याउने चुनौतीपूर्ण अवस्था हो | यस अवस्थामा उनीहरुले उपयुक्त मार्गदर्शन पाउन सकेभने मात्र उनीहरुले स्वस्थ, सफल र सन्तुष्ट जीवनयापन गर्न सक्छन | त्यसको अभावमा जटिल समस्याको सिकार पनि बन्न सक्छन |
आज सामाजिक परिवर्तनहरु, द्वन्द, गरिबी, अभिभावकहरुबाट उपयुक्त मार्गदर्शनको अभाव, कुसंगत, संचारको प्रभाव, सामाजिक लिंगभेद, जातीय भेदभाव जस्ता तत्वहरुले पनि जोखिमलाई बढावा दिएका हुन्छन | यस कारणबाट किशोर किशोरीहरु विभिन्न खराब बानी व्यवहोरामा फसेका हुन्छन | जस्तै:
- धुम्रपान तथा मधपान गर्ने र लागु पदार्थको सेवन गर्ने |
- हिंसात्मक क्रियाकलापमा संलग्न हुने |
- असुरक्षित यौन सम्पर्कमा पर्ने |
- जथाभावी सवारी साधन चलाउने आदि |
यसबाट किशोर किशोरीहरु विभिन्न स्वास्थ्य सम्बन्धी जोखिममा पर्दछन जस्तै: यौन रोग तथा एच.आइ.भी. एड्स, विभिन्न सरुवा रोगहरु, कुपोषण, चोटपटक र असुरक्षित गर्भपतनबाट आईपर्ने स्वास्थ्य समस्याहरु आदि | त्यसै कारण किशोरावस्थालाई अन्य अवस्थाभन्दा छुट्टै बिशेष अवस्थाको रुपमा लिइएको छ | हाल नेपालमा १०-१९ बर्षका किशोर किशोरीको जनसंख्या २४% रहेको छ |
- किशोरावस्थामा मन चनचल हुने
- साथीभाईको नजिक हुन मन लाग्ने
- अभिभावकवाट टाढा रहन मन लाग्ने
- कुनै सानो कुराले कहिले धरै खुसी हुने र कहिले निराश हुने
- उत्तेजित हुने
- प्रष्टसंग आफ्नो कुरा अभिभावकसगं राख्न नसकी दिक्क हुने र रिसाउने साथै आफ्नो सोचाई नै ठीक हो भन्ने सोच रहन्छ । किशोरहरुमा हुने मुख्य शारीरिक परिवर्तनहरु
- शरीर हर्लक्क बढनु
- रागरस (ज्यचmयलभ) हरुमा तीव्र वृद्धि हुनु
- लिङ्ग वरिपरी, काखीमा ,छातीमा रौहरु उम्रनु, दाह्री जुङ्गाको रेखी वस्नु
- लिङ्ग र अण्डकोषको आकारमा वृद्धि हुनु
- आवाजमा परिवर्तन आउनु र स्वर धोद्रो हुनु ।
- डण्डीफोर आउनु
- उचाई बढनु, काध, छाती चौडा हुनु
- पसिना ग्रन्थी बढी सक्रिय हुनु पसिना धेरै आउनु र गन्धमा परिवर्तन हुनु
- स्वप्नदोष हुनु – यौन उत्तेजना सपना देख्नु र वीर्य स्खलन हुनु
किशोरीहरुमा हुने मुख्य शारीरिक परिवर्तनहरु
- शरीर हर्लक्क बढनु
- कम्मर मुनिको भाग चौडा हुनु तिघ्रा (त्जष्नज) सोली आकारको हुनु ।
- रागरस (ज्यचmयलभ) हरुमा तीव्र वृद्धि हुनु
- योनी वरिपरी काखीमा रौहरु उम्रिनु
- स्तन विकास हुदै जानु
- योनीको आकारमा वृद्धि हुनु
- आवाजमा परिवर्तन भई सुरिलो हुदैे जानु
- महिनावारी सुरु हुनु
- डण्डीफोरा आउनु
- पसिना बढी आउनु
किशोर तथा किशोरीहरुमा हुने मनोसामाजिक (मानसिक तथा सामाजिक) परिर्वतनहरु
- लाज लाग्न सुरु हुनु
- एकोहोरो टोलाएर वस्ने र कल्पनाशील हुनु
- आफ्ना भावनाहरु अरुले बुझुन भन्ने लाग्नु
- विपरीत लिंग व्यक्तिप्रति आकर्षण बढनु
- यौन चाहना विकास हुनु
- आफुलाई अरुले उछिनेको कुराले पिरोलनु
- समाज र व्यक्ति वारे उत्सुकताको वृद्धि हुनु
- पुस्तैनी भिन्नता देखा पर्नु । जस्तै आफ्ना अघिका पुस्ताका मानिसको सोचाई र विचार पुरानो भएको वारेमा प्रतिक्रिया दिनु ।
- समाजले केटा र केटी (किशोर र किशोरी) का लागि दुई छुट्टै भुमिका निर्धारण गर्न थाल्नु, जस्तै किशोरलाई परिवारीक जिम्मेवारी र किशोरीलाई विवाह गरी अरुको घर जाने व्यक्तिका रुपमा हेरिनु
- किशोर किशोरीहरुको आ आफ्नो छुट्टाछुट्टै समुह निर्माण गर्न र छलफल गर्न सुरु हुनु
किशोरावस्थाको बिशेषता
- किशोरावस्था एउटा महत्वपूर्ण उमेर हो
- किशोरावस्था दोधारको अवस्था हो
- किशोरावस्था परिवर्तनको अवस्था हो
- किशोरावस्था समस्याको उमेर हो
- किशोरावस्था परिचय खोज्ने समय हो
- किशोरावस्था एक डरलाग्दो उमेर हो
- किशोरावस्था एक अवास्तविक समय हो
- किशोरावस्था वयस्क अवस्थाको संघारको अवस्था हो
४) वयस्क अवस्था (Adulthood)
एडल्ट शब्द ल्याटिन भाषाको एडल्टस शब्दबाट आएको हो | यसको अर्थ पुरा आकार र शक्तिमा वृद्धि भएको र परिपक्क भएको भन्ने हुन्छ | यसरि हेर्दा आकार र शक्तिमा पूर्ण वृद्धि भएको वा परिपक्क भएको अवस्थालाई वयस्कवस्था भनिन्छ | किशोरावस्था पछिको सम्पूर्ण उमेर नै वयस्कवस्था हो | यस आधारमा हेर्दा मानव जीवन अवधीमध्ये यस अवस्थालाई सबैभन्दा लामो (१८ बर्ष माथि सबै) अवधि मानिन्छ | यो अवस्था अरु प्रौढसंगै बसेर सामाजिक स्तर कायमका लागि तयारीको अवस्था हो | वयस्कवस्थालाई निम्नानुसार ३ भागमा बाडिएको छ |
क)प्रारम्भिक वयस्कवस्था (Early Adulthood)
ख)मध्यवस्था (Middle Age)
ग)उत्तरवयस्कवस्था /बृद्धावस्था (Late Adulthood/Old age)
प्रारम्भिक वयस्कवस्था : मानव जीवनको १८ बर्षदेखी ४० बर्षसम्मको अवधिलाई प्रारम्भिक वयस्कवस्था भनिन्छ | यो अवस्था नयाँ सामाजिक चाहनाहरु तथा जीवनसँग समायोजन हुने अवस्था हो | पुरै वयस्क जीवनका लागि आधार तयार गर्नुपर्ने अवस्था हो | यस अवस्थामा विवाह गर्नु पर्ने, पेशा छनौट गर्नुपर्ने, आमाबाबुको भूमिका खेल्नुपर्ने, बालकको पालनपोषण र शिक्षा दिनुपर्ने जस्ता समस्याहरुको समाधान गर्नुपर्छ | त्यसैले यस अवस्थालाई संघर्षपूर्ण र रसस्यमयी अवस्था पनि भनिन्छ | यस अवस्था जीवनका नयाँ ढाँचाहरु र नयाँ सामाजिक आकांक्षाहरुसँग समायोजन हुने अवस्था हो | यस अवस्थामा विभिन्न नयाँ भूमिकाहरू निर्वाह गर्नुपर्ने हुन्छ | यस अवस्थाका व्यक्तिहरु नयाँ मुल्य मान्यता, प्रबृत्ति, रुची र भूमिका बिकास गर्न चाहन्छ |
यो उमेर समुहलाई युवा पनि भन्ने गरिछ र यो समुह भनेको उत्पादनशील समुह वा श्रमशक्तिको समुह पनि हो जसले देशको उत्पादन बढाएर अर्थतन्त्रमा नै परिवर्तन ल्याउन सक्छ | अहिले नेपालमा श्रमशक्ति धेरै छ तर श्रम बजार नपाएर श्रम बजारको खोजीमा बैदेशिक रोजगारमा जानेको समुह निकै ठुलो रहेको छ | यदि हामीले यो शक्ति नेपालमा नै लगाउन सक्ने हो भने देशको अर्थतन्त्र सुधार गर्न समय लाग्दैन |
स्वास्थ्यको हिसाबले हेर्दा यो समुह अरु समुह जस्तो जोखिम समुहमा पर्दैन किनकि यो समुहमा सबैकुरामा परिपक्कता आउनुको साथै रोग प्रतिरोधात्मक शक्ति पनि बलियो हुन्छ | त्यसैले रोगको आक्रमण सहित संक्रमण हुने सम्भावना पनि कमै रहन्छ तर रोजगारीको लागि घर बाहिर जानु पर्ने हुदा एच.आइ.भी. तथा यौन रोग, हेपाटाइटिस, नयाँ किसिमका रोगहरु, कार्य क्षेत्रको वातावरण प्रतिकुलको प्रभाव र कार्य क्षेत्रमा हुने दुर्घटना आदि हुने सम्भावना रहन्छ |
मध्यावस्था (Middle Age) : मानव जीवनको ४० बर्षदेखि ६० बर्षसम्मको उमेरलाई मध्यावस्था भनिन्छ | ४० बर्षदेखि शारीरिक शक्ति घट्न थाल्दछ भने सँगसंगै मानसिक क्षमतामा पनि शिथिलता आउन थाल्दछ | यस अवस्थामा महिलामा सन्तान जन्माउने क्षमता पूर्णतया सकिन्छ भने पुरुषमा पनि यो क्षमता निकै कम रहन्छ | यस अवस्थालाई मानोबैज्ञानिक हिसाबले निम्नानुसारले २ भागमा बाडेको छ |
- प्रारम्भिक मध्यावस्था : ४० बर्षदेखी ५० बर्ष सम्मको उमेर
- बिकसित मध्यावस्था: ५० बर्षदेखी ६० बर्ष सम्मको उमेर
मध्यावस्थाका मुख्य बिकासात्मक कार्यमा, व्यक्तिलाई बृद्धवास्थामा सफल समायोजनका लागि तयारी गर्नु हो | यस अवस्थाका बिकासात्मक कार्यहरु खासगरी शारीरिक परिवर्तनहरुसँग, परिवर्तित रुचिहरुसँग, व्यवसायीक समायोजनाहरुसँग र पारिवारिक जीवनसँग सम्बन्धित छ | यस अवस्थाका स्वास्थ्य समस्याहरुमा प्रारम्भिक वयस्कवस्था जस्तै हो त्यस बाहेक दिर्घ रोगहरुको शुरुवात हुन्छ जस्तै मधुमेह, ब्लडप्रेसर बढ्नु, कोलेस्ट्रोल बढ्नु, थाईराइड, श्वासप्रश्वासको समस्या तथा नसर्ने रोगको सम्भावना बढी हुन्छ |
मध्यावस्थाको संकट (Midlife Crisis)
एउटा अवस्थाबाट अर्को अवस्थामा परिवर्तन हुने अवधी हो, जहाँ व्यक्तिले आफ्नो परिचान र आत्मविश्वासको लागी संघर्ष गर्ने हुदा यो अवधीलाई संकटपूर्ण अवस्था पनि भनिन्छ | यो अवस्था कुनै रोग नभएर मनोबैज्ञानिक समस्या हो |
मध्यावस्था संकटका लक्षणहरु
- उदास वा आत्मबिश्वासको कमीको महशुस गर्ने | मुख्यरुपमा ठुलो सफलता, पूर्ण प्राप्ती वा जन्मदिन पछी |
- नरमाइलो महसुस गर्ने | जीवनको अर्थ र उद्देश्य हराएको महसुस गर्ने |
- पूर्ण नभएको महसुस गर्ने |
- बितेको जीवनको बारेमा अत्याधिक सोच्ने |
- आवेगको रुपमा कार्यहरु गर्ने |
- पश्चातापको महसुस हुने |
- बितेका दिनहरुमा गरेका रमाईला क्षणहरुलाई सम्झने र आफ्नो बिचार राख्ने |
बिशेषता
- भयावह डरलाग्दो अवस्था
- एउटा अवस्थाबाट अर्को अवस्थामा परिवर्तन हुने उमेर
- मध्यावस्था दबावको समय/कठिन अवस्थाको समय
- खतरनाक उमेर
- मध्यावस्था अकुशल अवस्था हो
- मध्यावस्था प्राप्तिको/उपलब्धीको समय हो
- मध्यावस्था मुल्यांकनको समयको उमेर हो
- मध्यावस्था खाली गुडको समय हो
- मध्यावस्था पट्यारलाग्दो अवस्था हो
उत्तर वयस्कवस्था (बृद्धावस्था)
उत्तर वयस्कवस्था मानव जीवन अवधीको अन्तिम अवस्था हो वा अन्त्य हुने अवस्था हो | पहिलाका रहर लाग्दा बिकासात्मक अवस्थाबाट टाढा हुने अवस्था हो | यस अवस्थामा वृद्धवृद्धाहरु अगाडिका जीवनलाई सम्झन्छन र भविष्यलाई हेला/धिक्कार गर्दछन | ६० बर्षदेखि मृत्युसम्मको यस अवधीलाई २ भागमा बाडिएको छ |
- प्रारम्भिक बृद्धावस्था: ६० देखि ७० बर्षसम्मको अवधी
- बिकसित उत्तर वयस्कवस्था /बृद्धावस्था: ७० बर्षदेखी जीवनको अन्त्यसम्म |
नेपालमा ६० बर्ष उमेर पुरा भएकालाई ज्येष्ठ नागरिक भन्ने गरिन्छ र ज्येष्ठ नागरिक कार्ड प्रदान गरिन्छ तर बृद्ध भत्ता भने ६८ बर्ष पुरा भएकालाई उपलब्ध गराइन्छ | ज्येष्ठ नागरिकमा शारीरिक, मानसिक र सामाजिक परिवर्तन आउने हुन्छ | स्वास्थ्यको हिसाबले ज्येष्ठ नागरिक जोखिम समुहमा पर्छन किनकि रोग प्रतिरोधात्मक शक्ति घटेर गएको हुन्छ र पोषणको सन्तुलन पनि मिलेको हुदैन जसले गर्दा कुनै पनि रोगले सजिलै आक्रमण गर्न सक्छ | यो समुहका मानिसहरुमा उच्च ब्लड प्रेसर, मधुमेह, उच्च कोलेस्ट्रोल, क्यान्सर, मुटुको रोग, नशाको रोग, अल्जाईमर, पार्किन्सन्स, डेमेंसिया, ट्रेमोर, भिजिबल (आँखा)तथा हिअरिंग(कान) मा समस्या आउने, हड्डीको समस्या, पेट र श्वासप्रश्वासको (दम,सिओपीडी) समस्या, थाईराइड, छालाको समस्या, मानसिक समस्या, मृगौला र कलेजोको समस्या आदि देखा पर्ने गरेको छ |
यो उमेर समुहका मानिसहरुमा दौतरी साथीको कमी, मनोरन्जनमा कमी, पोषणको कमी,समयमा उपचार नपाउने, सामाजिक सुरक्षामा कमी, श्रीमान तथा श्रीमतीको मृत्यु पछी एक्लोपनको महसुस, सहयोगीको कमी, आर्थिक समस्या आदि समस्या आउने गर्दछ |
हाल नेपालमा सामाजिक सुरक्षा अन्तरगत बृद्धहरुको लागि बृद्ध भत्ता, ज्येष्ठ नागरिक मिलन केन्द्र, स्वास्थ्य बिमाको साथै निशुल्क उपचारको व्यवस्था, ज्येष्ठ नागरिक मंचको स्थापना, आरक्षणको व्यवस्था आदिको व्यवस्था गरेको छ | जे होस हाल आएर ज्येष्ठ नागरिकको समस्याको बारेमा सरकारबाट केहि भएपनि सम्बोधन भएको छ |
यसरी गर्भधारणबाट वृद्धि र बिकास हुदै आएको मानव जीवन विभिन्न चरणहरु पारगर्दै बृद्धावस्थाको अन्त्यमा आएर समाप्त हुन्छ | २०७८ को जनगणना अनुसार नेपालीहरुको औषत आयु ७१.३ रहेको छ |
– लेखक बुटवल उपमहानगरपालिकामा हेल्थइस्पेक्सनको रुपमा कार्यरत हुनुहुन्छ |
प्रतिकया दिनुहोस्