स्वास्थ्यसमाचार/नेपाल जनस्वास्थ्य संघ, लुम्बिनी प्रदेशको आयोजनामा जनस्वास्थ्य प्रशासक, स्वास्थ्य प्रशासक, फार्मेसी अधिकृत र तथ्यांक अधिकृतमा नियुक्ति तथा बढुवा भएकाहरुलाई नेपालगन्जमा बधाई ज्ञापन गर्दै प्रदेशभित्रका जनस्वास्थ्यसँग सम्बन्धित समसामयिक विषयमा छलफल गरिएको छ।
लुम्बिनी प्रदेशभित्रका स्वास्थ्य मन्त्रालय अन्तर्गतका स्वास्थ्य कार्यालय, अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्रहरूको संगठन संरचना तथा हाल भइरहेको संगठन संरचना सर्वेक्षणमा रहनुपर्ने पद र कार्यालयका विषयमा विस्तृत छलफल गरिएको नेफा लुम्बिनीका प्रदेश सचिव नरेश श्रेष्ठले बताए ।
उनका अनुसार, सहभागीहरूले लुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुझावसहित प्रतिवेदन पेस गर्ने तयारी गरेका छन्। छलफलका क्रममा स्वास्थ्य मन्त्रालय अन्तर्गतका कार्यालयहरूमा जनशक्ति व्यवस्थापनमा स्पष्ट कार्य जिम्मेवारी नहुँदा देखिएका समस्या र संरचनागत असंगतिबारे स्वास्थ्य मन्त्री खेम सारु मगर र सचिव दुर्गा लक्ष्मी श्रेष्ठको ध्यानाकर्षण गराइने पनि श्रेष्ठले बताए।
कार्यक्रममा रुपन्देही, बाँके र दाङजस्ता मेडिकल कलेज तथा निजी अस्पतालहरू रहेका ठूला जिल्लाहरूमा ११औँ तहको दरबन्दी कायम गर्नुपर्ने र ती जिल्लाहरूका स्वास्थ्य कार्यालयमा कार्यरत जनस्वास्थ्य प्रशासक वा जनस्वास्थ्य अधिकृतलाई निजी मेडिकल कलेज तथा अस्पतालहरूको नियमन तथा अनुगमनका लागि फोकल पर्सन तोक्नुपर्ने सुझाव पनि जनस्वास्थ्य संघले दिएको छ।
यस्तै, स्थानीय तहमा जनस्वास्थ्य अधिकृतहरूको पदपूर्तिका विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, लोकसेवा आयोग, स्वास्थ्य मन्त्रालय र लुम्बिनी प्रदेशका ३२ नगरपालिका तथा ४ उपमहानगरपालिकासँग समन्वय गर्दै एडभोकेसी अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ।
कार्यक्रममा सहभागीहरूले लुम्बिनी प्रदेशको जनस्वास्थ्य प्रणालीलाई अझ व्यवस्थित, उत्तरदायी र प्रभावकारी बनाउन जनस्वास्थ्य संघले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।
संघका अध्यक्ष सरोज रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. राजेन्द्र गिरी, वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नोदनारायण चौधरी, जनस्वास्थ्य प्रयोगशालाका निर्देशक राजेश गुप्ता लगायतले आआफ्ना धारणा राखेका थिए।
कार्यक्रममा लुम्बिनी प्रदेशका अधिकांश स्वास्थ्य कार्यालयका प्रमुख तथा जनस्वास्थ्य विज्ञहरू सहभागी थिए। कार्यक्रमका क्रममा नवौं तहमा बढुवा भएका स्वास्थ्य कार्यालय रुपन्देहीका उमा देवी थापा बर्दियाका प्रमुख नारायण चौधरी, गुल्मी प्रमुख पुष्पा थापा, कपिलवस्तु प्रमुख गौरव ढकाल, दाङ प्रमुख टिबि गुरुङ, स्वास्थ्य निर्देशनालयका प्रशासक डा. अच्युत न्यौपाने, शिक्षा प्रशासक नेत्र अर्याल, तथ्यांक अधिकृत मनबहादुर ओली र सातौं तहमा बढुवा भएका फार्मेसी अधिकृत पुस्प क्षेत्रीलाई सम्मान गरिएको थियो।



प्रतिकया दिनुहोस्