पाल्पाका नौं हजार बालबालिकालाई पोलियो बिरुद्धको खोप लगाउने

स्वास्थ्यसमाचार/ पोलियो बिरुद्धको खोपबारे पाल्पाका संचारकर्मी तथा पत्रकारहरुलाई अभिमुखीकरण गरिएको छ । कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्रकुमार गिरीले पोलियो बिरुद्धको खोप अभियान प्रभावकारी बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

२०७२ जेठ महिनादेखि २०७५ भदौं महिनासम्म खोप अभावका कारण पाल्पाका नौं हजार बढी बालबालिका पोलियो बिरुद्धको खोप लगाउन छुटेका थिए । ती बालबालिकालाई अहिले खोप लगाउन लागिएको उहाँले जानकारी दिनुभयो । विगतमा छुटेका बालबालिकालाई खोप लगाउने उद्देश्यले यही जेठ १३ गतेदेखि २६ गतेसम्म पोलियो बिरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको डा. गिरीले जानकारी दिनुभयो ।
पाल्पामा नौं हजार ४६७ जना बालबालिकालाई पोलियो बिरुद्धको खोप लगाउने तयारी छ । छुटेका बालबालिकालाई पोलियो बिरुद्धको खोप लगाउने तयारी गरिएको डा गिरीले जानकारी दिनुभयो । विद्यालयभित्रै खोप केन्द्र बनाएर खोप लगाउने तयारी गरिएको छ ।

पहिलो चरणमा जेठ १३ गतेदेखि तानसेन, रिव्दीकोट, बगनासकाली, रैनादेवी छहरा, तिनाउ र माथागढी गाउँपालिकामा खोप लगाइनेछ । यस्तै दोस्रो चरणमा जेठ २१ गतेदेखि रामपुर, रम्भा, पूर्व खोला र निस्दी गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ ।

पोलियो बिरुद्धको खोप लगाउनका लागि विभिन्न विद्यालयमा ४४८ खोप केन्द्र र ८१ वटा स्वास्थ्य संस्थामा केन्द्र तोकिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टिकाराम अधिकारीले जानकारी दिनुभयो । पोलियो बिरुद्धको खोप अभियान प्रभावकारी बनाउन ५२७ जना स्वास्थ्यकर्मी र ५२९ जना स्वयंसेवक परिचालन गरिने उहाँले बताउनुभयो ।

अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, तानसेन नगरपालिकाकी उपप्रमुख प्रतीक्षा सिंजाली, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना लगायतले खोप अभियान सफल बनाउन सबैको सकारात्मक भूमिका रहनुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित शिर्षक :