सधैं चिकित्सकमात्र भएर कति बस्नु भनेर एकाएक घुम्ने योजनामा सामेल हुन पुग्छौं हामी । केही समय बिरामी भन्दा पर, अस्पताल भन्दा पर , आफ्नो वासस्थानभन्दा कतै पर । कसैले आफुलाई नचिन्ने स्थानमा भ्रमण गर्नु आफ्नो मनको नजिक हुनु हो । सबैबाट पर तर आफैं भित्र नजिक ।
यो नितान्त एउटा यात्राको वर्णन हो सम्झनाको लागि । धैर्यता र समयको अभावमा यस कथामा प्रवेश नगर्नुहोला । Bored भएमा कुनै क्षतिपूर्तिको व्यवस्था भने छैन । घुम्ने ठाउँको एकीन नहुनाले राम्रोसँग तयारी गर्ने कुरा पनि भएन । विदा पनि मिलाउन पर्यो । कता जाने भन्दाभन्दै भारतको जयपुर , दिल्ली र आग्रा जाने कुरामा निचोड बन्यो । विदेशको नाममा भारतको सुनौली पुगेको मलाई त उत्साह हुने नै भयो ।
हाम्रो टिममा सबैलाई यी स्थानहरु नयाँ नै हुनाले घुम्न जान सजिलो भयो । तीन जोडी गरेर हामी ६ जना जाने पक्का नै भयो । त्यसमा हीरामणिलाई जाने इच्छा हुँदाहुँदै पनि अझै विवाहित बन्धनमा नबाधिसकेकोले एक्लो हुने हो कि भनेर दुविधामा थिए । तर अघिल्लो दिन नै निर्णय गरेर हामीसँग जाने कुरामा मन फिरेछ । त्यही सुखद समाचारपछि यात्रामा रौनक पनि थपिन्छ । गुणस्तरीय फोटो निकाल्ने कला भएको मिलनसार व्यक्ति ग्रुपमा हुनु खुसीको कुरा नै हो ।
रुपमा – प्रकाश भट्टराई र सपत्नी कल्पना न्यौपाने , मिलन के सि र सपत्नी मनिषा थापा , म र मेरी सविता । र हीरामणि पौड्याल गरी सात जनाको ग्रुप सुनौली हुँदै गोरखपुर पुगिन्छ बस स्टेशनमा । वीचमा एउटा ठाउंमा चिया खान रोकिन्छौं हामी । माटोको कपमा दिने चिया धेरै मीठो त होइन । तर फरक स्वाद चाहिँ हुने रहेछ । मात्रा भने साह्रै कम । जिब्रोमा नै हराउने जति होला ।
हुन त चिया स्वास्थ्यको लागि गुणस्तरीय कुरा पनि होइन । गोरखपुर बाट स्लिपर बसमा चढ्दा मलाई भने नयाँ अनुभव हुन्छ । हाम्रोतिर त्यसरी सुतेर जान मिल्ने बस सजिलो गरी पाइँदैन । संस्कार एउटै होला , बाध्यता एउटै होला । बस स्टेसनमा झोला तान्न आउनेहरु नेपाल र भारतमा केही फरक रहेनछ ।
गोरखपुर देखि आग्रासम्म
बसको एउटा क्याबिनमा दुई जना सुत्न मिल्ने ठाउँ हुने रहेछ । तर क्याबिनको लम्म्याइने अग्ला व्यक्तिलाई पुग नपुग हुने रहेछ । तनक्क तन्काउन पर्यो भने ठोक्किने । जे होस् विहान ८ बजे आग्रानजिकै बस रोकिन्छ। बसबाट ओर्लेर अटो रिक्सा हुँदै आग्रा जाने क्रममा सबै दृश्य देखिन्छ ।
त्यो बेला सम्म पनि सुनौलीजस्तै महसुस हुन्छ मलाई । आग्रामा एउटा होटेलमा नित्यकर्मआदि सकेपछि संसारकै आठौं आश्चर्य मानिने यमुना नदी किनारमा बनेको भव्य ताज महल दृश्यावलोकन गर्न हिँड्छौँ ।
बाटोमा केही प्रशंसा योग्य कुरा केही भेट्दिन म । जताततै फोहर । फोहरको थुप्रो। प्लास्टिक आदि खोलहरू बाटोमा यत्रतत्र । अटोमा आग्रा प्रवेश गर्ने बेला देखि नै ढलको गन्धले राम्रै स्वागत गर्छ । ताज महल प्रवेश नगर्दासम्म ढल र फोहरको दुर्गन्धले जिस्क्याइरहन्छ । आफ्नै देशसँग तुलना गर्न मन लागि हाल्ने रहेछ । सपाट वाक्य निस्किन्छ “ हाम्रै देश अलि सफा छ यार । “
ताज महल प्रवेश गर्न शुल्क निकै महङो रहेछ । गैर भारतीय पर्यटकलाई प्रति व्यक्ति रु ७४० । अर्थात् १३० नेपाली रुपैयाँ । ताज महल भित्र प्रवेश गर्न भारतीयलाई रु ५० र गैर भारतीयलाई रु ७४० मा धेरै अन्तर रहेछ । यति धेरै अन्तर नेपालमा सायद कतै छैन होला । मन खिन्न हुन्छ । सम्पुर्ण भावभङ्गी नेपाल र भारतको उस्तै छ तर ताज महलको दृश्य हेर्न त्यति धेरै अन्तर गरेको कता हो कता चित्त बुझ्दैन ।
प्रवेश गर्दा पानीको बोतल र क्यामेरा बाहेक अरु लिएर जान नमिल्ने रहेछ । किताबपनि लैजान नदिने रहेछ । प्रकाश दाइले किताबमा फोटो सुट गर्ने इच्छा गेटमै तुहिन्छ । क्यामेरालाई कहिल्यै नदेखेजस्तो गरि ओल्टाइ पल्टाइ खोलेर सबै केरकार गरेर मात्रै अनुमति प्राप्त हुन्छ ।
ताजमहलको भव्यता
ताजमहल परिसर प्रवेश गरेपछि सुरुमा देखिने दृश्य भने मनमोहक नै रहेछ । त्यो सिङमरमरबाट चम्केको प्रकाशले ताजमहलको शोभा निकै बढाउने रहेछ । त्यो अदभूत कला १७ औं शताब्दीमा रहेछ भनेर बोध हुँदा नै आश्चर्यमय लाग्छ ।
स्कुलदेखि किताबमा देखेको ताजमहलको चित्र मानसपटलमा यसरी छापिएको छ कि आफ्नै अगाडि देख्दा पनि त्यही चित्र अगाडि ल्याएर राखेको अनुभूति हुन्छ । फोटो खिच्दा पनि पृष्ठभूमिमा ताज महल देख्दा फोटो स्टुडियोमा खिचेको जस्तो प्रतीत हुन्छ । जे होस् ताजमहल बनाउन जति श्रम पसिना धन र पागलपन खर्च भएको छ त्यो सायदै अब कहिल्यै दोहोरिनेछ ।
एउटा प्रेमिका प्रतिको मुगल बादशाहको पागल पनले निर्माण भएको ताज महल हाल विश्वको कलाकृतिको आश्चर्यजनक नमूना भएकोमा कुनै दुविधा छैन । बाहिरबाट जति सुन्दर देखिन्छ भित्र प्रवेश गर्दा खासै केही लाग्दैन । सायद हामीलाई कुनै देवीदेवताको मूर्ति हेर्ने बानी परेकोले पनि हुन सक्छ । शाहजहाँको समाधि भनेर राखिएको एउटा स्थानमात्र हुन्छ । ताजमहलको सौन्दर्य सूर्यको किरण, यमुना नदीको प्रतिबिम्ब र सिङमरमरको चमक सबैले बढाउने रहेछ ।
जे होस् फोहर र ढलको दुर्गन्धको सास्ती लिँदै सफा र अद्भुत ताजमहल परिसरभित्र विचार गर्दै कला अवलोकन गर्न , फोटो खिच्न रमाइलो नै हुने रहेछ । हिलो वीचमा फुलेको कमलको फुलजस्तै अत्यन्तै फोहर र अव्यवस्थित सहरको बिचमा ताजमहलको भव्यता सधैं रहिरहोस् । मन अघाउने गरी फोटो खिचेर ताजमहलबाट निस्किन्छौं । नाच्न , टिकटक बनाउन भने वर्जित रहेछ । हामी उफ्रेर फोटो खिच्ने क्रममा एक जना पुलिस आएर “ नाच्ना कुद्ना मना हे । “ भन्दै फोटो डिलिट गर्न लगाउँछ ।
आग्रा देखि जयपुर यात्रा
दिउँसो तीन बजेको ट्रेन समाउन दौडिन्छौं । जयपुरसम्म तीन घन्टाको यात्रा रहेछ । पहिलो पटक ट्रेन चढेको हुनाले नयाँ अनुभव पक्कै हुने भयो । ट्रेनमा निकै कम हल्लिने हुनाले गफ गर्न , पढ्न , तास खेल्न मिल्ने रहेछ । जे होस् ट्रेन सफा नै थियो । त्यत्तिकै सफा राख्न सक्नु निकै उत्तम मान्न सकिन्छ । जयपुर स्टेशनमा ओर्लेर हामी होटेलको खोजीमा हिँड्छौँ ।
भारत भ्रमण कहिल्यै नगरेको हुनाले एउटा ट्रेनमा यात्रा गर्न पनि तीन दशक कुर्न परेछ । हाम्रो देशमा व्यवस्था धेरै परिवर्तन भए । तर सबै प्रयोग मात्रै भए । देश नै एउटा राजनीतिको प्रयोगशाला बनेको छ । लोकतन्त्र निकै विकृत भयो । विकासको मोडेल माटो सुहाउँदो नहुनु नै हाम्रो देश नेपाल एसियाको सबैभन्दा गरिब राष्ट्र हुनुको कारण हो ।
रेल सेवा नहुनु पनि विकासमा पछाडी पर्नु हो भन्ने मनन हुन्छ । समय र सुविधाको हिसाबले रेल निकै प्रभावकारी यातायातको माध्यम हो ।
सांस्कृतिक ऐतिहासिक सहर – जयपुर
जयपुरको होटेल चित्तबुझ्दो भने थिएन । साँझ परिसकेकाले त्यही होटेलमै निर्वाह गर्ने हेतुले बसिन्छ । तर स्याहारसुसार नगरेको कोठाहरूमा सुत्न पर्दा सबै जनालाई अप्ठेरो भएकै हो । अर्को बिहान सबेरै जयपुर घुम्नको लागि अटो लिएर निस्किन्छौँ।
आमिर किल्ला घुम्न जानको लागि निस्किन्छौ । बाटोबाट नै त्यो भव्य महलको दृश्य देख्न सकिन्छ । राजा मानसिंहले बनाएको त्यो गढ निकै विशाल रहेछ । तत्कालिन राजाहरुले आफ्नो सुरक्षाको लागि चारैतिरबाट ठूलो पर्खाल लगाएर घेर्नु नौलो त होइन । त्यो विशाल महल निर्माण गर्दा वैज्ञानिक नियम पुर्याउन सक्नु त्यो समयको कारिगरहरूको सीप अद्वितीय नै मान्नुपर्छ ।
त्यो किल्लामा धेरै फिल्महरूको छायांकन हुने गरेको रहेछ । हिन्दी ऐतिहासिक फिल्म जोधा अकबरको छायांकन पनि त्यही महलको प्राङ्गणमा भएको रहेछ । त्यो ऐतिहासिक स्थलको संरक्षण गर्न राजस्थान सरकारले कुनै कसर बाकी राखेको देखिन्न । पर्यटकहरुको उस्तै घुइँचो लाग्ने हुनाले आम्दानीको राम्रो श्रोत रहेछ । त्यस्तै गरेर बाटोमा जल महल पनि रहेछ ।
ठूलो तालको वीचमा एउटा पुरानो ऐतिहासिक दरबार रहेकोले त्यसलाई जल महल भनिएको रहेछ । तर विडम्बनाको कुरा – त्यो जल महलको संरक्षण गर्न भने त्यति चासो नरहेको देखेँ । जताततै फोहरको थुप्रो देख्न सकिन्छ । पानी पनि अस्वच्छ देखिन्छ । त्यहाँ डुङ्गा परिचालन गरेर जल महलको दृश्य नजिक बाट हेर्ने हुटहुटी जो कोहि पर्यटकलाई हुन्छ नै ।
हामी फेवा ताल जाँदा वीचमा रहेको बाराही मन्दिर दर्शनलाई जाने गरेजस्तै नै हो । त्यो ताल हेर्दा फेवा तालको झल्को देख्न सकिन्छ, तर पुर्ण अव्यवस्थित ताल । सरसफाइमा कमी, विचरण गर्न डुङ्गा आदिको कमी ।
The pink city : Jaipur
जयपुर सहर अटोमा घुम्दा जताततै एउटै रङको भवनहरु देख्न सकिन्छ । ती भवनहरु पुरानो ऐतिहासिक महत्व बोकेको प्रतीत हुन्छ। सबै एकै किसिमको भवन । पसलहरूको नाममा पनि कुनै तडकभडक देखिन्न । एउटै किसिमका अक्षर एउटै आकारको लेखाइ । सबै गुलाफी रङको भवनहरु । त्यसैले जयपुर सहरलाई The pink city पनि भन्ने गरिन्छ ।
जयपुरको भ्रमणले आफ्नो ऐतिहासिक धरोहरको जगेर्ना गर्नु प्रत्यक व्यक्तिको धर्म हो भन्ने सन्देश दिन्छ । मुगल राजाहरुको शासनबाट त्यो ईतिहास संरक्षण गर्नु सामान्य कुरा भने होइन । हाम्रो देशमा त अग्रगमन आदिको नाममा पुरानो ईतिहास मेटाउने मात्रै प्रयास गरेको देख्न सकिन्छ । इतिहासको बिचमा वर्तमानमा रमाएर जिउन र विकास गर्न नसकिने त होइन नि ।
तर नेपाल त पूरै राजनैतिक प्रयोगशाला नै रह्यो ।जयपुर सहरको अर्को आकर्षण भनेको हावा महल पनि रहेछ । बत्तीले जाज्वल्यमान हावा महलको दृश्य निकै मनमोहक देखिन्छ । हृदयलाई शीतलता प्रदान गर्दछ । एकाएक मस्तिष्कमा खुसीका हर्मोन कुदेको महसुस हुन्छ । हजारौं आँखी झ्यालबाट बनेको त्यो महल भित्र हावा निर्वाध खेल्न सक्ने हुनाले हावा महल भनिएको रहेछ ।
त्यही महललाई दिउँसो हेर्दा भने सामान्य लागेको थियो । प्रकाशले कुनै वस्तुलाई सुन्दरता कसरी प्रदान गर्दछ भनेर हेर्न हावा महल हेर्दा हुन्छ । हुन त ताजमहल पनि साझा बल्बको लाइटको प्रकाशमा अझै अदभूत देखिन्छ भनेर सुन्न मात्रै पाइयो । दर्शन गर्न समय भएन ।
जयपुरमा जन्तरमन्तर भन्ने ठाउँ रहेछ । जहाँ पुरानो जमानामा घडीले दिने समय अन्दाज गर्न विभिन्न यान्त्रिक कुराहरु बनाइएको रहेछ ।
सूर्यको किरण विभिन्न राशी , नक्षत्र आदिमा पर्ने रहेछ । र त्यो गणित अत्यन्तै सटिक देख्न सकिन्छ । हामीहरु पुग्दा ३:१० भएको थियो । हाम्रो घडीमा पनि त्यति नै बजेको थियो । ज्योतिष शास्त्रमा रुचि हुने व्यक्तिहरुलाई त्यो स्थान निकै महत्त्वपूर्ण मानिन्छ । हाम्रा पुर्खाहरू पनि समकालीन विकासमा पाश्चात्य देशहरूभन्दा कम थिएनन् भन्ने पुष्टि पनि हुन्छ ।
त्यस दिनको रात पनि जयपुरमा नै बिताइन्छ । हिँड्दा हिँड्दै थाकेको ज्यानले विस्तार पाउने बित्तिकै निद्रामा लिन हुन्छ । अर्को दिन बिहान १० बजेतिर हामी दिल्लीको लागि रमाना हुन्छौं । त्यो जयपुर यात्रा पुरै घुम्नलाई मद्दत गर्ने अटोको भइया निकै सज्जन रहेछन् । न कमिसनको लोभ न किचकिच । केवल सहयोग र आत्मीयता । सायद भगवानले नै हाम्रो यात्रा सुमधुर बनाउन पठाएको हुनुपर्छ ।
यात्रा रमाइलो हुनुमा साथीहरुको विशेष भूमिका हुन्छ । हाम्रो सातै जनाको ग्रुपमा सबै रमाइलो गर्न मन पराउने नै हुनाले यात्रा कत्ती निरस भएन । प्रकाश दाइका साहित्यक लवजका हास्यास्पद कुराहरु, मनिषाको खट्टोपिरो, बरफ, कुल्फी , चिया र आइसक्रिम प्रतिको लगाव विशेष गरी मनोरञ्जनका विषय हुन्छन् ।
मैले जीवनमा कहिल्यै नखाएको फुटपाथमा पाइने आइसक्रिम र कुल्फी पनि धेरै पटक स्वाद लिएर खाएँ । चटपटे भने खाइन । त्यो चटपट वालाको पसिना र भाडाको पिँध हेरेको भए कसैले खान्थेनन् होला !! जे होस् यात्रा रमाइलो नै हुँदै थियो ।
जयपुरदेखि दिल्लीसम्म निरस यात्रा
जयपुरबाट दिल्ली जाने बस भने कमसल परेछ । निद्रा लागेर सिटमा हीरामणि र म पल्टेका थियौं । माथिल्लो सिटबाट उल्टि गरेको रहेछ । सबै फोहर मेरो खुट्टामा पर्छ । हाफ पैन्ट लगाएको भएर कपडाको भागमा चाहिँ परेन । त्यो देखेर नै वमन होला जस्तो भयो । गाडीले रोक्ने पनि रहेनछ ।
एक बोतल पानीले पखाल्छु । तर त्यो सिक सिक लागेर दिनभर सताउँछ । दिल्ली सम्मको यात्रा निकै निरस हुन लागेको थियो । सबै जनाको अनुहार थकित र निराश देखिन्थ्यो । त्यस्तै हुँदा Dumb charade भन्ने खेलले गर्दा दिल्लीसम्म सजिलै कट्छ । दिल्ली सहर रातिको ९ बजेतिर पुगिन्छ । भारतको केन्द्रविन्दु – दिल्ली ।
पहिला कहिल्यै नचढेको मेट्रो ट्रेनको सिस्टम देखेर म निकै रनभुल्ल पर्छु । एउटा प्रश्न पनि उब्जिन्छ ” हाम्रो देशमा अझैसम्म किन मेट्रो ट्रेन छैन ? ” यातायातको लागि सजिलो , सस्तो, सुरक्षित मेट्रो देखेर म निकै प्रभावित हुन्छु । रातिको १० बजे पनि मान्छेको भिड धेरै थियो । सबैजना दौडिरहेकै देखिन्छ । सायद घर फर्कंदै होलान् । कसैलाई कसैको मतलब छैन ।
सबै दौडेका छन् । सायद दिल्ली सहर कहिल्यै सुत्दैन होला । आफ्नो गन्तव्यको मेट्रोमा चढ्ने अनि ओर्लिने । चड्ने र ओर्लिने मान्छेहरुको संख्या उस्तै हुने । जे होस् विकासको एउटा कडी मेट्रो ट्रेन पनि हो जुन अझै हाम्रो देशमा छैन । के गर्नु ? हाम्रो देशमा त नेताहरु बकम्फुसे चार चार वटा अन्तराष्ट्रिय एयरपोर्ट बनाएर ऋणको भारी थोपर्दै मा मस्त छन् !!
करोलबाग भन्ने स्थानमा होटेलको खोजी गरेर हामी बस्छौं । जयपुर देखि दिल्लीसम्मको यात्राको दिन केवल यात्रामै बित्दछ । न कुनै फोटो खिच्ने स्थान न कुनै नयाँ पर्यटकीय स्थानको रौनक । अर्को दिन हामी अक्षर धामको लागि हिँड्छौ ।
अक्षर धाम भगवान स्वामिनारायाणको मन्दिर रहेछ । १० वर्षको उमेरमै शास्त्रार्थमा सम्पुर्ण सनातन धर्मका गुरुहरुलाई प्रभावित पार्न सफल स्वामीनारायाण गुरुको पदमार्गको संरक्षण हेतु बनाइएको जस्तो लाग्छ त्यो मन्दिर । त्यसैको प्रतिलिपी नेपालमा सि जि धाम भनेर नवलपरासीमा देख्न सकिन्छ । अक्षर धामको निकै भव्य मन्दिरमा कलाकृति पनि विशेष देख्न पाइन्छ ।
त्यहाँ प्रवेश गर्दा कुनै पनि वस्तु लैजान नपाइने रहेछ । निकै कडा सुरक्षाको प्रबन्ध रहेछ । सायद संसद भवनको भन्दा कडा सुरक्षा !! भित्र क्यामेरा, फोन आदि केही पनि लैजान नपाइने हुनाले मस्तिष्कमा मात्रै चित्र खिच्न सकियो । जे होस् अक्षर धाम सायद दिल्लीको कोलाहल वीचको सबैभन्दा शान्त र सफा ठाउँ हुनुपर्छ ।
भारत भ्रमणमा हुँदा धेरै होटेलहरु पनि भोग्ने मौका मिल्यो । हरेक किसिमका होटेलहरु पाइने रहेछन् । तर कुनै पनि होटेलमा रुममा चप्पल राख्ने चलन रहेनछ सायद । वा संयोग त्यस्तै पर्न गएको हो भन्ने कुरा थाह भएन । शौच आदि गर्न पनि चप्पल विना नै जानुपर्ने बाध्यता भयो हामीलाई ।
ध्वनी प्रदुषणको नमुना : दिल्ली सहर
दिल्ली सहर एक दिन भन्दा बढी बस्न नसकिने रहेछ । निकै प्रदुषित सहर । ध्वनि प्रदुषण त चरम सीमामा छ । म नेपाल फर्केपछि कानको श्रवण शक्तिको जाँच अवश्य गर्ने इच्छा हुन्छ । अटो रिक्सा, बाइक, कार सबैले केवल हर्न मात्रै बजाउने । कुन कताबाट हर्न बजिरहेको छ भनेर एकिन पनि नहुने । कानको जाली फाट्ने गरि हर्न बजाउने । त्यस्तो ध्वनी प्रदुषणले गर्दा टाउको दुख्नु स्वभाविक नै हो ।
हर्न सिटी भनेर नामकरण गर्दा कत्ती फरक नपर्ने दिल्ली सहर । केवल दस मिनेटको लागि सम्पुर्ण गाडीहरूको हर्न बन्द भए कति शान्त र सुन्दर हुने थियो होला !! जे होस् सामानहरु पनि निकै सस्ता पाइने रहेछन् । र गुणस्तरीय पनि । नेपालमा सबै सामानहरु आयात गरिने हुनाले जिविकोपार्जनको लागत बढी पर्ने हुन्छ । प्रजातन्त्र आदि तन्त्र तन्त्र आएको हाम्रो देशले फड्को मारेको केवल दक्ष र अदक्ष जनशक्ति निर्यातमा मात्रै हो त ! हाम्रो देश वास्तवमै सुन्दर छ ।सफा छ । तर राजनीति निकै अस्थिर छ ।
साँझको आठ बजेको हम सफर एक्सप्रेसबाट फर्किने तय हुन्छ। चाडपर्वको समयले गर्दा ट्रेनको टिकट काट्दा सबै जना एउटै डब्बामा परिनन् । हीरामणिको सिट बि ११ नम्बर परेर छेउको डब्बामा पर्छ । अरु ६ जनाको सिट बि १ नम्बरमा अगाडिको डब्बामा पर्छ । एक जनाको सिटमा दुई जना हलचल नगरी सुत्नुपर्ने बाध्यताले गर्दा नयाँ अनुभव हुन्छ ।
तनक्क तन्केर मुडो जस्तै सुत्दा शरीर त गुन्जिएको महसुस हुन्छ । सबैजना दिनभरको हिँडाइले थाकेको हुनाले पल्टिन त पल्टिन्छन् । तर निद्रा कसैको पर्दैन । राती एउटा संकास्पद व्यक्तिले मनिषा र सविताको सिट माथी बसेर मोबाइल चलाउँदै तल माथी गरेको देखेर मिलन सुत्न सक्दैन। उनीहरुको सामान मैले लिएर हाम्रो सिटमा राखेर लुकाउँछौँ ।
त्यहाँ टिकेट कलेकटर आएर दुई तिन झापड हानेर लिएर जान्छन्। अनि बल्ल राहत हुन्छ । केही समयपछि एउटा सिट खाली भएकोले म गएर सुत्छु । ट्रेनको विशेषता नै के रहेछ भन्दा आरामले सुतेर यात्रा गर्न मिल्ने रहेछ । थकान पनि कम महसुस हुने । कुनै दिन त हामी पनि झापाबाट कञ्चनपुरको झोलुङ्गे पुल हेर्न यस्तै गरी ट्रेनको यात्रा गर्न पाइएला त ? सपना अधुरो आउँदो पुस्तालाई भने नहोस् ।
बिहान ९ बजेतिर आनन्द पुर रेलवे स्टेसनमा हामी झर्छौ र सुनौली बोर्डर तिर लाग्छौँ । यसरी हाम्रो यात्रा सकिन्छ । भारत विशाल देश हो । पुरै भारत घुम्न एक वर्षले पनि नपुग्ला । तर उत्तर भारतको झल्को भने यो यात्राले दियो नै । सायद नेपाल प्रचुर सम्भावना बोकेको देश हो ।
भारतभन्दा हाम्रो देश प्राकृतिक, ऐतिहासिक कुरामा कत्ति कम छैन । सिक्नुपर्ने कुरा धेरै छन् । मनन गर्नुपर्ने कुरा धेरै छन् । यहाँ विकासवादको मोडेल आवश्यकता छ । न कि विभिन्न तन्त्रहरूको प्रयोग गर्ने मोडेल ।
यस यात्राको योजनाकार तथा सहजीकरण गर्ने मिलनलाई , निकै गुणस्तरीय फोटोहरु खिच्ने हीरामणिलाई र सम्पुर्ण टिमलाई धेरै धन्यवाद दिँदै यो छोटो संस्मरण यहीँ समापन गर्दछु । धन्यवाद ।डा खनाल लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत छन।
प्रतिकया दिनुहोस्