स्वास्थ्यसमाचार/ एशिएन फर्मास्युटिकल्स ले ग्यास्ट्राइटिस तथा पेटमा अत्यधिक एसिडिटी सम्बन्धी समस्याको उपचारमा प्रयोग हुने नयाँ औषधि ‘भिप्राज’ (भोनोप्राजन) नेपाली बजारमा ल्याएको छ।
‘प्यान्टप’ जस्ता लोकप्रिय औषधि उत्पादन गर्दै आएको कम्पनीले नेपालमै पहिलो पटक भोनोप्राजन समूहको औषधि सार्वजनिक गरेको जनाएको छ। यो औषधि ‘पोटासियम कम्पेटिटिभ एसिड ब्लकर’ (पी–क्याब) वर्गअन्तर्गत पर्ने नयाँ पुस्ताको मोलिक्युल हो, जसलाई ग्यास्ट्राइटिस तथा एसिड रिलेटेड डिसअर्डरको प्रभावकारी उपचारका रूपमा विभिन्न देशमा प्रयोग गरिँदै आएको छ।
कम्पनीका कार्यकारी निर्देशक शंकर घिमिरेका अनुसार जापानमा सन् २०१५ र अमेरिकी औषधि नियामक निकाय यूएसएफडीएबाट सन् २०२२ मा स्वीकृति पाएपछि नेपाली चिकित्सकहरूले पनि यसको आवश्यकता औंल्याउँदै आएका थिए।
सोही आवश्यकतालाई ध्यानमा राख्दै करिब चार वर्षको अध्ययन, अनुसन्धान तथा सरकारी प्रक्रिया पूरा गरी औषधि नेपाली बजारमा ल्याइएको उनले बताए। ‘हामीले नेपाली बिरामीलाई विश्वस्तरीय र आधुनिक उपचारसँग जोड्ने प्रयास निरन्तर गरिरहेका छौँ। ‘भिप्राज’ को आगमनसँगै नेपालमा ग्यास्ट्राइटिस र पेटको एसिड सम्बन्धी समस्याको उपचारमा नयाँ विकल्प थपिएको छ,’ घिमिरेले भने।
कम्पनीका अनुसार विशेषगरी परम्परागत औषधिबाट पर्याप्त लाभ नपाएका बिरामीमा ‘भिप्राज’ प्रभावकारी देखिएको छ। औषधि ‘भिप्राज–१०’ र ‘भिप्राज–२०’ गरी दुई मात्रामा उपलब्ध रहेको कम्पनीले जनाएको छ। चिकित्सकको सल्लाहअनुसार यसलाई खाना खानुअघि वा पछि सेवन गर्न सकिने बताइएको छ।यसैबीच, एशिएन फर्मास्युटिकल्सले पहिलो पटक औषधिको बट्टामा ब्रेल लिपिमा नाम प्रिन्ट गर्ने व्यवस्था पनि गरेको छ।

प्रतिकया दिनुहोस्