बुटवलको नीति कार्यक्रम :स्वास्थ्य क्षेत्रलाई बिषेश प्राथामिकता

मुटु, मिर्गौला, क्यान्सर,अटिज्म, अल्जाइमर, हेड इन्जुरी, स्पाइनल इन्जुरी सिकलसेल उपचारमा अनुदान

–मोतियाविन्दुको शल्यक्रियामा अनुदान
–मुटु, मिर्गौला, क्यान्सर, अटिज्म, अल्जाइमर, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल ऐनिमियाका बिरामीको उपचारमा अनुदान
–हरेक वर्ष विद्यार्थीको निशुल्क आँखा जाँच
–मजदुरहरुका लागि निशुल्क घुम्ति स्वास्थ्य शिविर

स्वास्थ्य समाचार /बुटवल उपमहानगरपालिकाले स्वास्थ्य, शिक्षा, रोजगारी र वातावरणमैत्री पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।नगरसभाको नवौं अधिवेशनमा प्रमुख शिवराज सुवेदीले नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

उपमहानगरपालिकाले जनस्वास्थ्यमा नौला र आकर्षक नीति कोरोना महामारीको सम्भावित तेस्रो लहरको पूर्वतयारी लक्षित ल्याइएको नीति कार्यक्रमले जनस्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेको छ । सरकारी स्वास्थ्य संस्थालाई सुदृढ, सुविधासम्पन्न बनाउँदै मोतियाविन्दु भएर पनि आर्थिक अभावका कारण शल्यक्रिया गराउन नसक्नेहरुका लागि शल्यक्रिया गर्दा लाग्ने खर्चमा अनुदान दिने घोषणा बुटवलले नीति कार्यक्रममार्फत् गरेको छ ।

नीति तथा कार्यक्रममा महिलाहरुमा स्तन क्यान्सर, प्रसुती तथा गर्भवती परीक्षण, पाठेघर परिक्षण र १४ वर्ष मुनिका बालबालिकाहरुको स्वास्थ्य समस्याको पहिचान र उपचारमा सहयोग पु¥याउने उल्लेख गरिएको छ । नगरका गर्भवती महिलालाई आइरन, क्याल्सियम लागायतका औषधीहरु निशुल्क वितरण गर्दै आधारभूत प्रयोगशाला सेवा निशुल्क प्रदान गर्ने, ‘नगर प्रमुख ज्येष्ठ नागरिक घरदैलो कार्यक्रम’लाई प्रभावकारी बनाई निशुल्क औषधी वितरण गर्ने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

विद्यार्थीहरुमा बढ्दो आँखा सम्बन्धी समस्या समाधान गर्न उपमहानगरपालिकाले सबै सामुदायिक विद्यालयका विद्यार्थीहरुको वर्षमा एकपटक निशुल्क आँखा जाँच तथा परामर्श एवं चस्मा र उपचार सेवा संचालन गर्ने घोषणा नीति कार्यक्रम मार्फत् सार्वजनिक गरेको छ । तीबाहेक उपमहानगरपालिकाले जटिल र संवेदनशिल मुटु, मिर्गौला, क्यान्सर, अटिज्म, अल्जाइमर, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल ऐनिमियाका बिरामीलाई औषधि उपचार खर्चमा अनुदान दिने नीति लिएको छ ।

उपमहानगरपालिकामा सञ्चालन गरिएका सरकारी स्वास्थ्य संस्थाहरुलाई सुविधा सम्पन्न बनाउँदै पूर्ण खोप शुनिश्चितताका लागि सम्पूर्ण खोप क्लिनिक, कोल्ड चेन सेन्टरलाई थप प्रभावकारी बनाउँदै शहरी स्वास्थ्य केन्द्रबाट साप्ताहिक रुपमा खोप प्रदान गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

उपप्रमुख गुमादेवी आचार्यको अध्यक्षतामा भएको बैठकको दोस्रो सत्रमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख सुवेदीले कोरोना भाइरस महामारीको दोस्रो र सम्भावित तेस्रो लहरसँग जुध्दै त्यसको रोकथाम, व्यवस्थापन र उपचारमा केन्द्रित हुनेगरी कार्यक्रम लक्षित गर्ने नीति लिइएको वताए ।

उनले महामारी र अन्य विपद्बाट नागरिकको जीवन रक्षलाई नीति कार्यक्रमको केन्द्रविन्दुमा राखेको जानकारी दिंदै संघीय र प्रदेश सरकारको समन्वयमा सबै नगरवासीलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चिताका लागि पहल गरिने वताए ।

सम्बन्धित शिर्षक :