१३ सय डाक्टर बिरामी जाँच्न अयोग्य ,लाइसेन्स परीक्षामा कतिपय डाक्टर ३६ पटकसम्म फेल

फेल हुने अधिकांश बंगलादेशमा अध्ययन गरेर आएका

एमबिबिएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न भने अयोग्य छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स ९नाम दर्ता० परीक्षामा फेल हुँदा उनीहरू अयोग्य ठहरिएका हुन् । लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन् । विश्वविद्यालयबाट हुने परीक्षा उत्तीर्ण भए पनि बिरामी जाँच्ने वैधानिकता लिन काउन्सिलले लिने लाइसेन्स परीक्षा पास हुनैपर्छ । काउन्सिल स्रोतका अनुसार फेल हुने अधिकांश बंगलादेशमा अध्ययन गरेर आएकाहरू छन् ।

काउन्सिलले भने १० पटकसम्म निरन्तर फेल भएपछि लाइसेन्स परीक्षामा सामेल नै हुन नपाउने नियम बनाएर स्वास्थ्य मन्त्रालयमा पठाएको छ । तर, मन्त्रालयमा फाइल अड्किएको छ । यो नियम पास भयो भने १३ सयमध्ये सबैजसो डाक्टर लाइसेन्स परीक्षामा सहभागी हुन पाउँदैनन् । ‘यो नियम पास भए अहिले आन्दोलनमा आउने सबै डाक्टर परीक्षा दिन अयोग्य ठहरिनेछन्,’ काउन्सिल स्रोतले भन्यो ।

नौपटक फेल भएका डाक्टर आन्दोलनको नेतृत्व गर्दै
पटक–पटक फेल भएका डाक्टरहरू लाइसेन्सको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरूले बिहीबार स्वास्थ्य मन्त्रालय र शुक्रबार मेडिकल काउन्सिलमा ज्ञापनपत्रसमेत बुझाएका छन् । यो आन्दोलनको अगुवाइ डा। राम थापा क्षेत्रीले गरेका छन् । काउन्सिलका रजिस्ट्रार डा। दिलीप शर्माले बंगलादेश पढेर आएका क्षेत्री लाइसेन्स परीक्षामा नौपटकसम्म फेल भएको बताए । क्षेत्री नेतृत्वको आन्दोलनमा ३६ पटकसम्म फेल भएकासमेत रहेको उनले बताए । सबै १३ सय डाक्टरलाई लाइसेन्स दिलाउन उनीहरूको माग छ ।

बंगलादेशमा पढेर आएका, तर लाइसेन्स परीक्षामा असफल भएकाहरूले आन्दोलनका लागि चिकित्सक संघ गठन गर्ने अभियानसमेत अघि बढाएका थिए । तर, स्वास्थ्य मन्त्रालयले रोकेको थियो । काउन्सिलका कार्यबाहक अध्यक्ष डा। नारायणबहादुर थापाले विज्ञहरूसँग छलफल गरेर सहजीकरण गर्न सकिने बताए ।

एमबिबिएस पास भएका डाक्टरले नै प्रश्नपत्र बनाउनुपर्ने माग
आन्दोलनरत डाक्टरले एमबिबिएस पास गरेका चिकित्सकलाई नै काउन्सिलले लिने परीक्षाको प्रश्नपत्र बनाउनुपर्ने माग गरेका छन् । विज्ञहरूले बनाएको प्रश्नपत्रको उत्तर दिन नसकेको उनीहरूको तर्क छ । तर, काउन्सिल यो मागमा सहमत छैन । एमबिबिएस पास भएका डाक्टरले एमबिबिएसकै प्रश्नपत्र बनाउनुपर्छ भन्ने माग नाजायज भएको काउन्सिलका कार्यबाहक अध्यक्ष थापाले बताए ।

उनीहरूले लाइसेन्स परीक्षाको प्रश्नपत्र र नतिजा पुनरावलोकन गरिनुपर्ने, फेल भए पनि सरकारी अस्पतालमा सिनियर चिकित्सकको सुपरभिजनमा चिकित्सकीय अभ्यास गर्न पाउनुपर्ने, परीक्षाको प्रश्न प्रतिस्पर्धात्मकभन्दा पनि स्नातक तहमा हासिल गरेको ज्ञान, सीप र अनुभवको आधारमा हुनुपर्नेलगायत माग पनि गरेका छन् ।    नया पत्रिकामा अजुर्न अधिकारी ले लेखेको साभार ।

सम्बन्धित शिर्षक :