जोहाङ स्वास्थ्यचौकी अलपत्र

ठेकेदारको लापरवाहीले आधुनिक पक्की भवन अलपत्र, जीर्ण भवनबाट सेवा प्रवाहमा समस्या

गुल्मी/ गाउँ–गाउँमा १५ शड्ढयाको अस्पताल निर्माणको लहड चलेको छ । तर, जोहाङ स्वास्थ्यचौकीको आधुनिक सुविधासम्पन्न भवन अलपत्र छ । ०५२ सालमा निर्माण भएको जीर्ण भवनले घामपानी नै छेक्दैन । साँघुरो र जीर्ण भवनमा प्रशासन, स्टोर, स्वास्थ्य परीक्षण, ड्रेसिङ र सुरक्षित मातृत्वका सबै काम गर्नुपर्ने बाध्यता छ ।

मासिक बैठक चौरमा हुन्छ । सेवाग्राहीको भिड लागे पानी र घामको ओत दिने ठाउँ छैन । ‘जेनतेन बिरामीको गोपनीयता राखेका छौँ । थुप्रै समस्या छन् । तर, दुईकोठे जीर्ण भवनमा के–के व्यवस्थापन गर्ने,’ स्वास्थ्यचौकी इन्चार्ज लक्ष्मण कामी भन्छन्, ‘भवन निर्र्माण समयमै नहुँदा ठूलो समस्या भइरहेको छ ।’ कच्ची र जीर्ण भवनमा महत्वपूर्ण फाइल र औषधि उपकरणको सुरक्षा चुनौती छ । स्वास्थ्यचौकी इन्चार्ज कामीले पुराना भवनमा पानी चुहिएर र मुसाले फाइल काटेर हैरान बनाएको गुनासो गरे ।

तीन स्वास्थ्यचौकी स् एक निर्माण व्यवसायी

०७६ मा सत्यवती गाउँपालिकाका तीन स्वास्थ्यचौकी निर्माणका लागि डी एन्ड डी कन्स्ट्रक्सनले निर्माण सम्झौता गर्‍यो । योजना कार्यान्वयनको काम संघीय आयोजना कार्यान्वयन एकाइ रुपन्देहीले गर्छ । निर्माण व्यवसायीको काम सुस्ताएका कारण सत्यवती गाउँपालिका ४, ५ र ६ वडाका क्रमशः लिम्घा, हँसरा र जोहाङ स्वास्थ्यचौकीको स्ट्रक्चरबाहेकका काम भएको छैन । पछिल्लो एक वर्ष काम नै भएन ।

व्यवसायीले कहिलेकाहीँ मात्रै कामदार ल्याएर काममा आलटाल गरिरहेकाले समयमै काम हुने सम्भावना कम रहेको सत्यवती गाउँपालिका–६ जोहाङका अगुवा डिल्लीराज न्यौपानेले बताए । ‘भवन पिल्लरले उभिएको मात्रै धेरै भयो । अझै थुप्रै काम गर्न बाँकी छ,’ उनले भने, ‘निकै जीर्ण भवनमा स्वास्थ्यकर्मी र सेवाग्राहीले अभैm कति दुःख पाइराख्नुपर्ने हो ’।

एउटै निर्माण व्यावसायीलाई तीनवटा ठेक्का दिइएको छ । निर्माण व्यवसायीले जनशक्ति बाँड्ने र आवश्यक सामग्री समयमै व्यवस्थापन गर्दैनन् । जसकारण योजनाको काम समयमै नहुने समस्या बल्झिने गरिरहेको छ । ‘करिब एक वर्षमा एउटा टिपर र दुईवटा कामदार फिल्डमा पठाएर कार्यालय र नागरिकलाई छारो हाल्ने काम मात्रै हो,’ सत्यवती–४ का एक युवाले भने, ‘नियामक निकाय निकम्मा भएकाले अहिलेको समस्या आएको हो ।

संघीय आयोजना कार्यान्वयन एकाइ रुपन्देहीका इन्जिनियर टीका थापाले निर्माण व्यावसायीले समयमै काम नगरेकाले समस्या आएको बताए । उनले तीनवटै स्वास्थ्यचौकीको काम डी एन्ड डी कन्स्ट्रक्सनले गरिरहेको र सबैको काममा ढिलासुस्ती भएको विषयमा कार्यालयसमेत गम्भीर भएको प्रतिक्रिया दिए । उनले कार्यालयबाट निर्माण व्यवसायीलाई पेस्की फिर्ताको पत्रसमेत पठाइसकेकाले काम पूरा हुने विश्वास व्यक्त गरे ।

उनले तीव्र गतिमा काम गरे सम्झौताअनुसारकै चैत मसान्तमा काम सम्पन्न हुने बताए । सत्यवती गाउँपालिकाका प्रवक्ता भीमलाल पाण्डेयले निर्माण व्यवसायीले ढिलासुस्ती र गुणस्तरहीन काम गरेको आरोप लगाए । निर्माण व्यवसायीले चाहे सम्झौताअगाडि नै काम गरेका कैयन् उदाहरण भएकाले डी एन्ड डी कन्स्ट्रक्सनले विभिन्न बहानामा काम नगरेको बताए । नयाँपत्रिकामा टोपलाल अर्यालले लेखेका छन ।

सम्बन्धित शिर्षक :