स्वास्थ्यसमाचार/ सहमति अनुसार चिकित्सक र नर्स नपठाईएको भन्दै युनिभर्सल मेडिकल कलेजलाई प्रदेश ५सरकारले कारवाही गर्ने चेतावनी दिएको छ ।
भैरहवामा बनाईएको कोरोना अस्थायीअस्पतालमा युनिभर्सल मेडिकल कलेजले दुई जना कन्सल्ट्यान्ट डाक्टर र १० जना नर्स उपलब्ध गराउने प्रतिवद्धता जनाएको अहिले सम्म नपठाएकोले कलेजलाई सहमति अनुसार नगए कावार्हि गर्ने भएको छ ।

तर अस्पताल र प्रदेश स्वास्थ्य निर्देशनालयले पटक पटक डाक्टर र नर्स उपलब्ध गराइदिन आग्रह गर्दा पनि मेडिकल कलेज प्रशासनले सरकारको निर्देशन अवज्ञा गरेपछि पत्र काटेर कारवाहीबारे जानकारी गराएकोे सामाजिक विकास मन्त्रालयका अस्पताल बिकास तथा चिकित्सक महाशाखा प्रमुख डा उमासंकर चौधरीले बताए ।
मेडिकल कलेज कोरोना विशेष अस्थायी अस्पताल भैरहवाको सञ्चालक समिति सदस्य समेत हो ।‘हामीले पटकपटक सहमति अनुसार डाक्टर र नर्स पठाइदिनुपर्यो भन्यौं तर मेडिकल कलेजले उल्टै हामीलाई पत्र लेखेर पठायो’, डा चौधरीले भने ‘अब मेडिकल कलेजले प्रतिवद्धता अनुसार कि त डाक्टर र नर्स तत्काल पठाउनुपर्छ होइन भने तोकिए अनुसार मेडिकल कलेजमा कोरोना संक्रमितलाई भर्ना गर्नुपर्छ, अन्यथा कारवाही अघि बढ्छ ।’
मेडिकल कलेजले अब पनि सरकारको निर्देशन मान्न अटेर गरे महामारीमा असहयोग गरेको आधारमा प्रचलित कानून अनुसार कारवाही गर्ने डा चौधरीले बताए।मेडिकल कलेजलाई पठाइएको पत्रको बोधार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मुख्यमन्त्री कार्यालय, उपकूलपतिको कार्यालय, त्रिभुवन विश्वविद्यालय, स्वास्थ्य निर्देशनालय प्रदेश ५ र जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई पठाइएको छ ।
मेडिकल कलेजका मानव संशाधन विभागका संयोजक कमलराज ढकालले भने कलेजले आफै ‘फिबर क्लिनिक’ सञ्चालन गरेकाले जनशक्तिको अभाव भएकाले पठाउन नसकेको बताए ।सरकारले निजी संस्थालाई पेल्ने मात्र काम गरेको र सरकार आफ्नो दायित्वबाट पन्छिन खोजेको ढकालले वताए ।

 
 
सामाजिक विकास मन्त्रालयले कोरोना विशेष अस्पतालमा जनशक्ति खटाउन प्रदेशमा रहेका देवदह मेडिकल कलेज रुपन्देही, लुम्विनी मेडिकल कलेज प्रभास पाल्पा, कोहलपुर मेडिकल कलेज बाँके र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज गरी ४ वटा निजि क्षेत्रको मेडिकल कलेहरु जनशक्ति माग गरेको थियो ।
नीजि क्षेत्रको उक्त स्वास्थ्य संस्थाले जनशक्ति परिचालन नगर्दा सेवा प्रवाहमा असहजता भएको मन्त्रालयको भनाई छ । अहिले प्रदेश नं ५ मा ४ वटा कोरोना विशेष अस्पतालमा संचालन गरिएको छ । त्यसैगरी आईसोलेसन अस्पताल वेड भएको ५० वटा अस्पताल रहेका छन । अहिलेसम्म ४ वटा विशेष अस्पतालका अलवा केही निजी सहित विभिन्न अस्पतालहरुमा कोरोना संक्रमित राखिएको छ ।
प्रदेशमा ७ सय स्वास्थ्यकर्मीहरु अहिले २४ सै घण्टा खटिएका छन । यो जनशक्ति अपुग हो । माग गरिएको जनशक्ति नआउदा अस्पतालहरुमा समस्या दखिएको मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले जानकारी दिए । अहिले सम्म प्रदेश नं ५ मा २ सय बढी संक्रमित पुगेका छन । त्यसैगरी क्वरेन्टाईनमा १८ हजार भन्दा वढि व्यक्ति रहेका छन ।

 
				
					 
			 
                             
                             
                            
प्रतिकया दिनुहोस्