स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवल मा एमआरआई सेवाको शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले अस्पतालको ११६ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उक्त सेवाको उद्घाटन गर्नुभएको छ ।
लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा एमआरआई मेसिन जडानपछि सेवा सञ्चालनमा ल्याइएको हो । सेवाग्राहीको बढ्दो चाप र जनअपेक्षालाई ध्यानमा राख्दै सीमित स्रोत र साधनको अधिकतम प्रयोग गरी सेवा प्रवाहलाई गुणस्तरीय बनाउँदै लगिएको जनाइएको छ ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रादेशिक अस्पताललाई थप उचाइमा पु¥याउन प्रतिष्ठानको रूपमा विकास गर्ने गरी पहल भइरहेको बताउनुभयो । विशिष्ट र विशिष्टीकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच थप सुनिश्चित गर्न प्रतिष्ठानको अवधारणा अघि सारिएको उहाँले स्पष्ट पार्नुभयो ।
शुक्रबार बुटवलमा आयोजित वार्षिकोत्सव उद्घाटन कार्यक्रममा उहाँले प्रदेशभित्रै सबै प्रकारका रोगको उपचार सम्भव हुने गरी अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।‘प्रादेशिक अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गरेर लैजाने योजना छ । त्यसमा हामीले ध्यान दिएका छौं,’उहाँले भन्नुभयो,‘यसलाई नमुना अस्पतालका रूपमा विकास गर्न प्रदेश सरकारले काम अघि बढाएको छ । सबैको साझा प्रयासबाट आमूल परिवर्तन सम्भव भएको छ । समन्वय र सहकार्यकै कारण अस्पताल यहाँसम्म आइपुगेको हो ।’
प्रदेश सरकारले सेवा विस्तारलाई प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले सेवाग्राहीले सस्तो र सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बनेको बताउनुभयो ।‘एमआरआई मेसिन जडान भएपछी सेवाग्राहीले अब सस्तो र सुलभ ढंगले सेवा लिन पाउने अवसर प्राप्त भएको छ । गोरखपुर वा काठमाडौं जानू पर्ने बाध्यताको अन्त्य भएको छ’उहाँले भन्नुभयो,‘एक हजार दुई सय शैयाको अस्पताल निर्माणको काम अघि बढेको छ । २१ महिनाको अवधिमा ४० प्रतिशत भौतिक प्रगति भएको छ ।
तीन वर्षभित्र सबै सेवा नयाँ भवनबाट सञ्चालन गर्ने योजना छ ।’
स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न प्रदेश सरकारले आवश्यक कानुनी व्यवस्था समेत गरिसकेको उल्लेख गर्दै उहाँले जिम्मेवारीपूर्वक सेवा प्रवाह गरिरहेकोमा धन्यवाद व्यक्त गर्नुभयो । साथै, अझ सक्रिय र समर्पित भएर जनसेवामा लाग्न आग्रह गर्नुभयो ।
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ को अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य मन्त्री खेमबहादुर सारु ले लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशकै गौरव भएको उल्लेख गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनेगरी काम भइरहेको बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । अस्पतालका सुपरिटेन्डेन्ट डा. इन्द्र ढकाल ले अस्पतालको प्रगति र भावी योजनाबारे जानकारी दिनुएको कार्यक्रममा अवकाशप्राप्त कर्मचारीहरूलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
साथै २५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो । यसैगरी लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव तथा पूर्व नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण अस्पतालका प्रशासन प्रमुख प्रेम गौतम ले गर्नुभएको थियो ।

प्रतिकया दिनुहोस्