डब्लूएचओद्वारा ‘पब्लिक हेल्थ च्याम्पियन’ घोषणा : नेपाली स्वास्थ्य स्वयंसेविकालाई सम्मान

स्वास्थ्यसमाचार/विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयले सार्वजनिक स्वास्थ्य च्याम्पियन पुरस्कारका विजेताहरूको घोषणा गरेको छ । यस वर्षको पहिलो संस्करणमा नेपालका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका (एफसीएचभी), भारतका अपाङ्गता समावेशीकरणका अगुवा डा. सतेन्द्र सिंह र लेप्रा सोसाइटी विजेता घोषित भएका छन् ।

डब्लूएचओले सार्वजनिक स्वास्थ्य च्याम्पियन पुरस्कार स्थापना गरेर क्षेत्रीय सदस्य राष्ट्र वा समुदायको स्वास्थ्यमा असाधारण योगदान पु¥याउने व्यक्ति वा संस्थालाई सम्मान गर्ने उद्देश्य राखेको छ । यसपटक बंगलादेश, भारत, नेपाल र थाइल्यान्डबाट जम्मा ५० नामांकन प्राप्त भएकोमा तीन समूह÷व्यक्तिहरू छनोट भएका हुन् ।

नेपालका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले देशका सबैभन्दा भौगोलिक र सामाजिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा समेत मातृ तथा बाल स्वास्थ्य सुधार, खोप कभरेज विस्तार, पोषण प्रवद्र्धन र रोग प्रकोप व्यवस्थापनमा उल्लेखनीय योगदान दिएका छन् । सन् १९९० मा हरेक एक लाख जीवित जन्ममा ९ सय १ रहेको मातृ मृत्युदर २०२१ मा १ सय ५१ मा झरेको छ ।

त्यस्तै, पाँच वर्षमुनिका बाल मृत्युदर सोही अवधिमा १ सय ६२ बाट २८ मा झरेको छ । स्वास्थ्य तथ्याङ्क (एनडीएचएस २०२२, युनिसेफ) अनुसार यो उपलब्धिमा स्वयंसेविकाहरूको सक्रियताले निर्णायक भूमिका खेलेको डब्लूएचओले जनाएको छ ।

कम लागत र उच्च प्रभाव पार्ने मोडेलका रूपमा विश्वभर मान्यता पाएको एफसीएचभी कार्यक्रम समुदाय–नेतृत्व, दिगो र लैङ्गिक–समान स्वास्थ्य प्रणाली सुदृढीकरणको उदाहरण मानिएको छ । व्यक्तिगत श्रेणीमा भारतका डा. सतेन्द्र सिंहलाई विजेता घोषणा गरिएको छ । उनी दिल्लीस्थित युनिभर्सिटी कलेज अफ मेडिकल साइन्सेस र जीटीबी अस्पतालका फिजियोलोजी विभागका निर्देशक प्राध्यापक हुन् ।

अपाङ्गतासँगै जीवन बिताइरहेका डा. सिंहले आफ्नो अनुभवलाई नीतिगत वकालतमा रूपान्तरण गर्दै चिकित्सा शिक्षामा समावेशी दृष्टिकोणको लागि संघर्ष गर्दै आएका छन् । उनले भारत र अन्तर्राष्ट्रिय स्तरमा स्वास्थ्य प्रणाली, शैक्षिक पाठ्यक्रम र संस्थागत अभ्यासमा उल्लेखनीय प्रभाव पारेका छन् । अपाङ्गतालाई मात्र चिकित्सकीय सीमितता होइन, मानव अधिकारको सवालका रूपमा उठाउँदै सिंहले दिगो र न्यायपूर्ण स्वास्थ्य प्रणालीको पक्षमा नेतृत्व गरेको डब्लूएचओले जनाएको छ ।

संस्थागत श्रेणीमा भारतकै गैरसरकारी संस्था लेप्रा सोसाइटी विजेता बनेको छ । सन् १९८९ मा स्थापना भएको यो संस्थाले कुष्ठरोग उपचारमा क्लोफाजिमिनको विकास, बहु–औषधि थेरापीको प्रयोग र अल्सर रोकथामका लागि अनुकूलित जुत्ताको विकासजस्ता महत्वपूर्ण योगदान दिएको छ ।

हाल यो संस्था भारतका नौ राज्य र १ सय ४३ जिल्लामा १ सय ४६ स्वास्थ्य सेवा केन्द्रमार्फत कार्यरत छ । कुष्ठरोगविरुद्धको अभियानसँगै यसले क्षयरोग, एचआईभी, लिम्फेटिक फाइलेरियासिस र कोभिड–१९ जस्ता चुनौतीहरूको व्यवस्थापनमा पनि काम विस्तार गरेको छ । नवप्रवर्तन, अनुसन्धान र करुणालाई जोड दिँदै सीमान्तकृत समुदायलाई केन्द्रमा राखेर सेवा उपलब्ध गराउँदै आएको डब्लूएचओले जनाएको छ ।

डब्लूएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयले सार्वजनिक स्वास्थ्य च्याम्पियन पुरस्कार यस वर्ष पहिलोपटक घोषणा गरेको हो । कोलम्बो (श्रीलंका) मा यही सेप्टेम्बरमा हुने डब्लूएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७८औं सत्रको छेउमा विजेताहरूलाई सम्मान गरिनेछ ।

डब्लूएचओले सार्वजनिक स्वास्थ्य च्याम्पियनलाई ‘जनस्वास्थ्यमा दीर्घकालीन प्रभाव पार्ने असाधारण योगदानको मान्यता’का रूपमा परिभाषित गरेको छ । विजेताहरूको योगदानले न केवल आफ्ना मुलुकका नागरिकलाई लाभान्वित गरेको छ, बरु सम्पूर्ण क्षेत्रकै सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ गर्न प्रेरणा प्रदान गरेको उल्लेख गरिएको छ ।

नेपालका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सम्मानले ग्रामीण भेगमा लामो समयदेखि मौन तर महत्वपूर्ण योगदान दिँदै आएका स्वास्थ्यकर्मीको कामलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाएको स्वास्थ्य विज्ञहरूले बताएका छन् । यसले नेपालका स्वास्थ्य नीतिहरूलाई समुदाय–आधारित मोडेल अझ सुदृढ बनाउन प्रोत्साहन गर्ने अपेक्षा गरिएको डब्लूएचओले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

सम्बन्धित शिर्षक :