स्वास्थ्यसमाचार/ गुल्मीको रूरूक्षेत्र गाउँपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि पेन्सन योजना अगाडि बढाएको छ।
स्वयंसेविकाहरूको लामो समयदेखि स्वास्थ्य क्षेत्रमा रहेको ईमानदारीपूर्वकको योगदानको कदर गर्दै गाउँपालिकाले यो महत्त्वपूर्ण सामाजिक सुरक्षा योजना सुरु गरेको हो। यस योजनालाई कार्यान्वयनमा ल्याउन गाउँपालिकाले नागरिक लगानी कोषसँग औपचारिक सम्झौता गरेको छ।
सम्झौता अनुसार, अब महिला स्वास्थ्य स्वयंसेविकाहरूले सेवा अवकाशपछि पेन्सन सुविधा प्राप्त गर्न सक्नेछन्। गाउँपालिकाका अध्यक्षले यदु ज्ञाबलीले भने, “महिला स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा पुर्याउनु भएको योगदान अविस्मरणीय छ।
उहाँहरूको मेहनत, लगनशीलता र निष्ठाले रूरूक्षेत्र स्वास्थ्य सेवामा अग्रपंक्तिमा उभिएको छ। पालिकाको तर्फबाट हामी उहाँहरूप्रति सम्मान प्रकट गर्दछौं।” अध्यक्ष ज्ञाबललीले थपे, “यस योजनाले स्वयंसेविकाको मनोबल उच्च बनाउने विश्वास लिएको छ।
साथै, आगामी आर्थिक वर्षदेखि करार सेवामा कार्यरत कर्मचारीहरूलाई पनि नागरिक पेन्सन योजनामा समावेश गर्ने तयारी भइरहेको छ।” गाउँपालिकाले महिला स्वयंसेविकालाई सम्मान र सुरक्षाको प्रत्याभूति गर्दै गरेको यो पहललाई स्वास्थ्य सेवा प्रणाली सुदृढीकरणतर्फको सकारात्मक कदमको रूपमा हेरिएको छ।
प्रतिकया दिनुहोस्