संजीवनी शिक्षण अस्पताल, दाङ्गको ‘शुभसाइत कार्यक्रम’ सम्पन्न

स्वास्थ्यसमाचार/ बडादशैंको पहिलो दिन घटस्थापनाको अवसरमा घोराही उपमहानगरपालिका–३, भानपुरस्थित संजीवनी शिक्षण अस्पतालको ‘शुभसाइत कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ।

करिब ४ अर्ब लगानीमा स्थापना भएको अस्पताल दशैंलगत्तै पूर्ण सञ्चालनमा आउने तयारीमा छ। हाल ३०० शैयाबाट सेवा प्रारम्भ हुने र आगामी तीन वर्षभित्र ५०० शैयामा विस्तार गर्ने लक्ष्य राखिएको अस्पतालले आइसियु, सिसियु, एनआइसियु, पिआइसियु, एमआइसियु, डायलासिस, क्याथ ल्याब तथा ५० शैयाको आकस्मिक सेवा २४ घण्टा उपलब्ध गराउनेछ।

अस्पतालमा न्युरोलोजी, कार्डियोलोजी, युरोलोजी, नेफ्रोलोजी, ग्यास्ट्रोलोजी लगायतका विशिष्टिकृत सेवा उपलब्ध हुने जनाइएको छ। साथै ‘बी’ श्रेणीको अत्याधुनिक प्रयोगशाला, एमआरआई, सिटी स्क्यान, भिडियो एक्सरे, डिजीटल एक्सरे जस्ता रेडियोलोजी सेवासमेत सञ्चालनमा आउनेछन्।

करिब पाँच विघा क्षेत्रफलमा तीन तले नौ भवनमार्फत सञ्चालनमा आएको अस्पतालका सञ्चालक समितिका अध्यक्ष युवा उद्यमी खुमा प्रसाद अर्याल रहेका छन्। उनी भैरहवाको युनिभर्सल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज र गण्डकी मेडिकल कलेजमा पनि लगानीकर्ता हुन्।

अस्पताल सञ्चालनसँगै करिब ४ सयभन्दा बढी रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ। निकट भविष्यमै एमबिबिएस, बिडिएस, ल्याब, फार्मेसी, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स लगायतका शैक्षिक कार्यक्रम सुरु गर्ने तयारीसमेत अस्पतालले गरेको छ।

शुभसाइतकै दिनदेखि सुरु गरिएको निःशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकबाट परामर्श, चेकजाँच, ल्याब सेवा, इसिजी, भिडियो एक्सरे र औषधि निःशुल्क उपलब्ध गराइएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले जानकारी दिए।

सम्बन्धित शिर्षक :