वैदेशिक रोजगार स्वास्थ्य परीक्षण संस्थाहरूको नयाँ संघ गठन, सिन्डिकेटविरोधी अभियान घोषणा

स्वास्थ्यसमाचार/ वैदेशिक रोजगारका लागि स्वास्थ्य परीक्षण गर्दै आएका स्वास्थ्य संस्थाहरूले नयाँ संघ गठन गरी कार्यालय उद्घाटनसँगै नेपालीहरुको महानचरण पर्वको शुभकामना आदानप्रदान गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका उपाध्यक्ष रामहरि थापाले सिन्डिकेटको विरोधमा संघको स्थापना भएको उल्लेख गर्दै व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाए। उनले व्यवसायीलाई ढुक्क भएर व्यवसाय गर्न आग्रह गरे।

त्यस्तै, सोमराज लिम्बू र नुरपति भण्डारीले स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघको साठगाठमार्फत मन्त्रालयमार्फत अनुगमन गराएर व्यवसायीलाई त्रसित पार्ने प्रयास भएको आरोप लगाए। उनीहरूले ‘सी’ ग्रेडमा उपलब्ध सामग्री र उपकरणमार्फतै वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सबै संस्थालाई आग्रह गरे।

कार्यक्रममा स्वास्थ्य व्यवसायी महासंघका पूर्व उपाध्यक्ष तथा नेपाल मेडिकल व्यवसायी संघका पूर्व अध्यक्ष शम्शेर नेपालीले विगतका संस्थाले व्यवसायीको हितमा काम गर्न नसकेको आरोप लगाए।

उनले विधानअनुसार संस्था नचलेको र दोहोरो मापदण्ड व्यवसायीलाई थोपरिएकाले समस्या देखिएको बताए। श्रम ऐन र कानुनअनुसार स्वास्थ्य परीक्षण नियमन स्वास्थ्य मन्त्रालयकै अधिकार क्षेत्र भएकाले नियमन गर्न मन्त्रालयमै पठाउन उपयुक्त हुने सुझाव पनि उनले दिए।

कार्यक्रम संस्थाका अध्यक्ष मदनकुमार पुर्बेको अध्यक्षता र खिमराज अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो।

सम्बन्धित शिर्षक :