फेसबुक आईडी फेक, डाक्टर महिलाको भेष : धन्दा ३२ वर्षीय पुरुषको, लाग्यो साइबर केस

सामाजिक सञ्जालको दुरुपयोग : फेक आईडीको जालोमा नफसौँ

स्वास्थ्यसमाचार | सामाजिक सञ्जाल फेसबुकमा नक्कली आईडी बनाएर आफूलाई महिला डाक्टर तथा नर्सको रूपमा चिनाउँदै युवती र बालिकालाई झुक्याउने तथा अनलाइनमार्फत मनोवैज्ञानिक दबाब सिर्जना गर्ने आरोपमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–४ निवासी ३२ वर्षीय निर्मल थापा क्षेत्री विरुद्ध रूपन्देही जिल्ला अदालतमा साइबर अपराधसम्बन्धी मुद्दा दर्ता गरिएको छ।

अभियोगपत्र अनुसार प्रतिवादीले फेसबुकमा सरिता मगर र रेजिना थापा नामका नक्कली आईडी बनाएर आफूलाई पाल्पा मिसन अस्पतालकी महिला डाक्टर तथा नर्सको रूपमा चिनाउँदै विभिन्न व्यक्तिसँग सम्पर्क गरेको आरोप छ। अनुसन्धानका क्रममा उनले सामाजिक सञ्जालमार्फत स्वास्थ्य जाँचको बहाना बनाउँदै विश्वास जित्ने प्रयास गरेको र त्यसपछि निजी प्रकृतिका सामग्री मागेर मनोवैज्ञानिक दबाब सिर्जना गरेको आरोप लगाइएको छ।

एक घटनामा १४ वर्षीया बालिकालाई आफू स्वास्थ्यकर्मी भएको दाबी गर्दै अनलाइन परीक्षणको नाममा झुक्याइएको र पछि सामाजिक सञ्जाल तथा आफन्तसमक्ष सामग्री सार्वजनिक गरिदिने धम्की दिएर दबाब सिर्जना गरिएको अनुसन्धानमा उल्लेख छ। त्यस्तै अर्को घटनामा पनि नक्कली परिचय प्रयोग गरी युवतीसँग विश्वासको सम्बन्ध बनाउने प्रयास गरिएको र अस्वीकार गरेपछि डिजिटल माध्यमबाट दुरुपयोगको प्रयास गरिएको आरोप छ।

प्रहरी अनुसन्धान अनुसार प्रतिवादी वैदेशिक रोजगारीबाट फर्किएपछि विदेशी नम्बर प्रयोग गरी आफ्नो वास्तविक परिचय लुकाउने प्रयासमा थिए। उजुरीपछि इलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरेको थियो। हाल उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दायर गरिएको छ र कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

सामाजिक सचेतना सन्देश :

सामाजिक सञ्जालमा कसैले आफू डाक्टर, नर्स, प्रहरी, सरकारी कर्मचारी वा अन्य परिचित व्यक्ति भएको दाबी गरे पनि तुरुन्त विश्वास नगर्नुहोस्।

अपरिचित व्यक्तिलाई निजी फोटो, भिडियो वा व्यक्तिगत विवरण नपठाउनुहोस्।
स्वास्थ्य परीक्षण, जागिर, प्रतियोगिता वा अन्य प्रलोभनका नाममा आउने अनलाइन आग्रहप्रति सचेत रहनुहोस्।
शंका लागेमा परिवार, अभिभावक वा प्रहरीसँग तुरुन्त जानकारी साझा गर्नुहोस्।
साइबर दुव्र्यवहार वा ब्ल्याकमेलको शिकार भए लुकाएर बस्नु भन्दा कानुनी सहयोग लिनु सुरक्षित विकल्प हो।

डिजिटल युगमा सावधानी नै सबैभन्दा ठूलो सुरक्षा हो।

सम्बन्धित शिर्षक :