स्वास्थ्यसमाचार अनलाईन । रुपन्देही, साउन ०९ । रुपन्देहीको सैनामैना नगरपालिका–३ स्थित पर्शावाल आदर्श टोलमा ग्यास चुलोको सुरक्षित प्रयोगसम्बन्धी सचेतना तथा प्रयोगात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
पर्शावाल आदर्श टोल विकास संस्थाको आयोजनामा तथा एलपी संयुक्त किचन ग्यास प्रा.लि.को प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा स्थानीयवासीलाई एलपी ग्यासको सुरक्षित प्रयोग, सम्भावित जोखिम न्यूनीकरण तथा आकस्मिक अवस्थाको व्यवस्थापनबारे व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो।
प्रशिक्षणका क्रममा ग्यास चुहावट पहिचान गर्ने तरिका, सिलिन्डर तथा रेगुलेटरको सही जडान, ग्यास प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, आगलागी हुन नदिन आवश्यक सुरक्षा उपाय तथा आकस्मिक अवस्थामा अपनाउनुपर्ने व्यवहारबारे प्रयोगात्मक प्रदर्शन गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै आदर्श टोल विकास संस्थाका अध्यक्ष मिनबहादुर राकस्कोटी मगरले यस्ता प्रशिक्षणले विशेषगरी दिदीबहिनी, बुवा–आमालगायत स्थानीयवासीलाई ग्यास चुलोको सुरक्षित प्रयोगबारे नयाँ जानकारी प्राप्त गर्ने अवसर मिलेको बताए। उनले घरायसी दुर्घटना न्यूनीकरणका लागि समुदायमा यस्ता जनचेतनामूलक कार्यक्रम नियमित रूपमा सञ्चालन हुनुपर्ने आवश्यकता औँल्याउँदै प्रशिक्षणपछि ग्यास चुलोको प्रयोगमा सबैजना थप सचेत बन्ने विश्वास व्यक्त गरे।
कार्यक्रमको उपयोगिताबारे आदर्श टोल विकास संस्थाकी सचिव पवित्रा पौडेल ज्ञवालीले स्थानीय समुदायमा ग्यास चुलोको सुरक्षित प्रयोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्। सहभागीहरूले व्यवहारिक रूपमा सिक्ने अवसर पाएकाले यसबाट दैनिक जीवनमा सुरक्षा सचेतना बढ्न महत्वपूर्ण सहयोग पुग्ने उनको भनाइ थियो। आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको उनले बताइन्।
कार्यक्रममा सैनामैना नगरपालिका–३ का वडा सदस्य रोहिणी प्रसाद चौधरी, टोल विकास संस्थाका पदाधिकारी, आमा समूहका प्रतिनिधि, स्थानीयवासी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
घर–घरमा एलपी ग्यासको प्रयोग बढ्दै गएको वर्तमान अवस्थामा सुरक्षित प्रयोगसम्बन्धी यस्ता व्यवहारिक प्रशिक्षणले ग्यासजन्य दुर्घटना न्यूनीकरण गर्न, सुरक्षा सचेतना अभिवृद्धि गर्न तथा सुरक्षित समुदाय निर्माणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।



प्रतिकया दिनुहोस्