लुम्बिनी आयुर्वेद चिकित्सालयमा ४१ हजार बढी बिरामीले लिए सेवा, २ हजार बढी भारतीय

स्वास्थ्यसमाचार/लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलले आर्थिक वर्ष २०८१/८२ मा ४१ हजार ७ सय ८२ जनालाई उपचार सेवा प्रदान गरेको छ। यो सङ्ख्या लुम्बिनी प्रदेशका सबै आयुर्वेद अस्पताल तथा स्वास्थ्य संस्थामध्ये सबैभन्दा धेरै हो।

चिकित्सालयका निमित्त प्रमुख गणेश सापकोटाका अनुसार उक्त अवधिमा ११ हजार २६ जनाले प्रयोगशाला सेवा, १३ हजार ३१२ जनाले पञ्चकर्म सेवा, र २२७ जनाले भर्ना सेवाबाट उपचार लिएका छन्। सेवा लिनेहरूमध्ये २ हजार १३५ जना भारतीय सीमा क्षेत्रका बिरामी रहेका छन्, जसमा ५१ जना भर्ना भएका थिए।

प्रदेशभरका आयुर्वेद अस्पतालमध्ये बिजौरीमा ४० हजार बिरामीले सेवा लिएका छन् भने सबैभन्दा कम रुकुममा २ हजार ३५ जनाले सेवा लिएको स्वास्थ्य निर्देशनालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखाले जनाएको छ।

अस्पतालको पृष्ठभूमि

रुपन्देहीको बुटवल–११ मा अवस्थित १५ शैय्यायुक्त लुम्बिनी आयुर्वेद चिकित्सालय २०४३ सालमा आयुर्वेद औषधालयका रूपमा स्थापना भई २०७५ सालमा वर्तमान स्वरूपमा रुपान्तरण भएको हो। यसलाई पञ्चकर्म विशेष अस्पतालका रूपमा विकास गरिएको छ र लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयअन्तर्गत सञ्चालन हुँदै आएको छ।

उपलब्ध सेवाहरू

अस्पतालको प्रमुख सेवा बहिरङ्ग (ओपीडी) हो, जहाँ ग्यास्ट्राइटिस, हाडजोर्नी, नाक–कान–घाँटी, छाला, प्रजननसम्बन्धी समस्या र दीर्घ रोगका बिरामी बढी आउने गरेका छन्।

हरेक शुक्रबार डायबिटिज तथा लाइफस्टाइल काउन्सिलिङ ओपीडी सञ्चालन हुन्छ।मातृ–शिशु सेवाअन्तर्गत स्तनपान गराउने आमा लागि दुग्धवर्धक औषधि वितरण कार्यक्रम विशेष मानिन्छ।

निःशुल्क फार्मेसी सेवाबाट आर्थिक अवस्था कमजोर बिरामीलाई राहत मिल्ने गरेको छ।यहा २३ प्रकारका निशुल्क औषधी पाईने अस्पतालका चिकित्सक डा संदिप कार्काले बताउनु भयो ।

पञ्चकर्म उपचार

लुम्बिनी आयुर्वेद चिकित्सालयकोे सेवा क्षेत्रको आधार पञ्चकर्म इकाई हो। वमन, विरेचन, नस्य, शिरोधारा, रक्तमोक्षण, अग्निकर्म लगायतका उपचारहरू प्रभावकारी मानिन्छन्। वमन–विरेचन पद्धति २५ दिन लामो उपचार हो, जसमा शरीरभित्र सञ्चित विकार पदार्थ बाहिर निकालिन्छ यो महत्व पुर्ण र लामो समयको उपचार बिधि भएको डा कार्कीको भनाई छ ।
सामुदायिक कार्यक्रम

चिकित्सालयले गृहिणीका लागि भान्सा सुधार, विद्यालय शिक्षक तथा विद्यार्थीका लागि योग–आयुर्वेद शिक्षा, सुत्केरी आमाको स्वास्थ्य जाँच, ज्येष्ठ नागरिक कार्यक्रम, धन्वन्तरी दिवस तथा आरोग्य दिवसलगायतका कार्यक्रम समुदायमै पु¥याउँदै आएको छ।

समस्या र चुनौती
बढ्दो बिरामी सङ्ख्यासँगै जनशक्ति अभाव, शल्यक्रिया विभागको अभाव, औषधि आपूर्तिमा समस्या, र २०४४ सालकै दरबन्दीमा अस्पताल सञ्चालन हुनु प्रमुख चुनौतीका रूपमा देखिएका छन्।

आगामी योजना

स्वर्णबिन्दु प्राशन कार्यक्रम सुरु गर्ने तयारी, जसबाट नवजात शिशु देखि १६ वर्षसम्मका बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने अपेक्षा गरिएको आस्पतालका निमित्त प्रमुख सापकोटाले बताउनु भयो ।

सम्बन्धित शिर्षक :