स्वास्थ्यसमाचार/रुपन्देहीको बुटवल उपमहानगरपालिका पछिल्लो केही वर्षयता स्वास्थ्य सेवा प्रवाह र स्वास्थ्यकर्मी उत्पादन दुवैमा उल्लेखनीय प्रगति गर्दै आएको छ। एउटै सहरभित्र सरकारी, निजी र सामुदायिक गरी तीनवटै खालका अस्पतालहरूको सन्तुलन, दक्ष जनशक्तिको उपस्थिति, र सेवा पहुँचको विस्तारले बुटवललाई प्रदेशको स्वास्थ्य केन्द्रको रुपमा स्थापित गराउँदै लगेको छ ।
विगतमा काठमाण्डौ वा भारत पुग्नुपर्ने बाध्यता हटाउँदै बुटवलका अस्पतालहरूले अहिले सामान्यदेखि जटिल सम्मका उपचार सेवा दिन थालेका छन्। लुम्बिनी प्रादेशिक अस्पताल, गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा), तिलोत्तमा अस्पताल, चौराहा अस्पताल, साझा अस्पताल जस्ता स्वास्थ्य संस्थाहरूले दैनिक हजारौं बिरामीलाई सेवा दिइरहेका छन ।
बुटवल उपमहानगरपालिकाले वडा नं. ९ बाहेक सबै १८ वडामा स्वास्थ्य केन्द्र स्थापना गरिसकेको छ। कतिपय वडामा ल्याब, फिजियोथेरापी, अक्सिजन सेवा, आयुर्वेद, योगा सेवा पनि विस्तार गरिएको छ। नगरभित्रकै ६५ जना स्थायी तथा करार स्वास्थ्यकर्मी (नर्स, एचए, अहेब, ल्याब, आयुर्वेद) खटिएका छन्। नगरको योजना अनुसार, आगामी वर्षभित्र सबै वडामा स्तरीय स्वास्थ्य सेवा पु¥याउने लक्ष्य लिइएको छ ।
जनशक्ति उत्पादनमा अग्रसरता
बुटवलको अर्को उपलब्धि भनेकै स्वास्थ्य जनशक्ति उत्पादन तर्फको अग्रसरता हो। आम्दा अस्पतालबाट एचए, नर्सिङ, फार्मेसी तहको पढाइ सुरु भइसकेको छ। लुम्बिनी प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा स्तरोन्नति गर्ने तयारी भइरहेको छ ।
त्यस्तै बुटवलमा निजी तहका नर्सिङ कलेज, ल्याब टेक्निसियन तालिम संस्थाहरू पनि सञ्चालनमा छन् । यी संस्थाहरूले बुटवलमै पढेका विद्यार्थीलाई स्थानीय अस्पतालमै इन्टर्नसिप तथा रोजगारीको अवसर पनि प्रदान गर्दै आएका छन ्।
विशेषज्ञ सेवा विस्तार हुँदै
बुटवलमा अहिले कार्डियोलोजी, न्यूरो, ग्यास्ट्रो, डेन्टल, स्त्रीरोग, छाला, यौनरोग, सिटी स्क्यान, आईसीयू, एनआईसीयू, इको, भिडियो एक्स–रे, क्यान्सरको प्रारम्भिक स्क्रिनिङ, युरोलोजी जस्ता सेवा दिइँदै आएका छन्। यी सेवाहरू लिन भारत र देशका अन्य जिल्लाबाट समेत बिरामी आउँछन ।
नगरले ८ वटा जटिल रोगको उपचारका लागि आर्थिक सहयोग पनि दिन थालेको छ। त्यस्तै, एचआईभी संक्रमित बालबालिकालाई पोषण खर्च, सुत्केरीपछिको आर्थिक सहयोग, निःशुल्क रगत वितरण, डेंगु नियन्त्रण अभियान जस्ता कार्यक्रमले सेवा गुणस्तर अझ बढाएको छ ।
स्थानीय तहको दृष्टिकोण
नगरप्रमुख खेलराज पाण्डे ले बुटवललाई शिक्षा, स्वास्थ्य र सीपको सहर बनाउने लक्ष्य लिएका बताउँछन् । स्वास्थ्य सेवा मात्रै होइन, जनशक्ति उत्पादन पनि हाम्रो प्राथमिकता भएको बताउछन् । उनले स्वाथ्य सेवा विस्तारमा नगरपालिकाले अ गाडी बढ्दै गएको बताए । पालिकाका उपप्रमुख सावित्री अर्याल ले निजी अस्पतालहरूलाई पनि मापदण्डमा ल्याएर समन्वय गर्दै, सरकारी सेवाको पहुँच र गुणस्तर बढाउँदै गएका बताउछिन् ।
स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेका अनुसार, संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य सेवा सबै नागरिकसम्म पु¥याउने काममा बुटवल अघि छ उनका अनुसार बुटवलले आगामी दिनमा विशेषज्ञ डाक्टरको उपलब्धता सुनिश्चित गर्नु, सबै वडामा फार्मेसी र ल्याब सेवा अनिवार्य गर्र्ने काम अगाडी बढाएको छ ।
यस्तै नर्सिङ, पब्लिक हेल्थ र टेक्निकल तालिम केन्द्र विस्तार गर्ने योजना बनाएको छ भने निजी अस्पतालहरूको नियमन, सेवा मूल्य अनुगमन अगाडी बढाएको हो ।
स्वास्थ्य स्वयंसेविकाको भत्ता र सम्मान योजना थप व्यवस्थित गर्नेको साथै बुटवलले स्वास्थ्य क्षेत्रमा सेवा र स्रोत दुबै तर्फको सन्तुलन मिलाउँदै अघि बढिरहेको छ । जनताको विश्वास जित्दै, दक्ष जनशक्ति उत्पादन र व्यवस्थापनमा उदाहरणीय अभ्यास देखाउँदै बुटवल अब प्रदेश मात्र होइन, देशको ‘स्वास्थ्य राजधानी’ बन्ने दिशामा उन्मुख देखिन्छ ।
प्रतिकया दिनुहोस्