नेत्रज्योति संघ जिल्ला शाखा, गुल्मीको २८औं जिल्ला सभा सम्पन्न

स्वास्थ्यसमाचार/ नेपाल नेत्रज्योति संघ जिल्ला शाखा, गुल्मीको २८ औं जिल्ला सभा सम्पन्न भएको छ । “हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी” भन्ने नाराका साथ सदरमुकाम तम्घासमा भएको जिल्ला सभामा प्रमुख अतिथि रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले थोरै लगानीले पनि जनताको मुहारमा खुसी देख्न सकिने बताउनुभयो ।

उहाँले आफु निर्वाचित भएर आएपछि गरेको निर्णयले अहिले रेसुंगा नगरपालिकाका मोतियाबिन्दुका बिरामीहरुले निःशुल्क शल्यक्रिया सेवा लिन पाएका उल्लेख गर्नुभयो । स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर गुल्मी अस्पतालमा हाडजोर्नी बिशेषज्ञ सेवा, मृगौलाका रोगीहरुका लागि डायलायसिस सेवा सञ्चालन लगायतका थुप्रै काम गरिरहेको बताउनुभयो ।

स्थानीय सरकारसँग स्रोत, साधनको कमी भए पनि यहाँका नागरिकहरुको सेवाका लागि रेसुंगा नगरपालिका अग्रपंक्तिमा उभिएर काम गर्ने बताउनुभयो ।

मालिका गाउँपालिका अध्यक्ष देविराम अर्यालले आँखा उपचार र स्वास्थ्यलाई बिशेष प्राथमिकतामा राखेर आफुहरुले काम गरिरहेको बताउनुभयो । तर राज्यको नीति लगायतका विभिन्न कारण अझ सोंचेअनुरुप काम गर्न बाँकी रहेको बताउनुभयो ।नेत्र ज्योति संघका केन्द्रीय उपाध्यक्ष सागरप्रताप राणाले अहिले आँखाका डाक्टर पाउन समेत ज्यादै मुस्किल परेको बताउनुभयो । उहाँले आँखाको क्षेत्रमा अध्ययन गर्ने पनि कम रहेको भन्दै डाक्टरहरु टिकाइ राख्न ज्यादै गारो हुने गरेको बताउनुभयो ।

आँखाको क्षेत्रमा विपन्न नागरिकहरुलाई सेवा प्रवाहका लागि स्थानीय सरकारको सहयोग अति आवश्यक रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले नेत्र ज्योति संघ गुल्मीले आँखा उपचारको क्षेत्रमा अनुकरणीय कार्य गरेको पाएको भन्दै प्रशंसा गर्नुभयो ।

यस्तै निवर्तमान सभापति तथा नेपाल नेत्र ज्योति संघ लुम्बिनी प्रदेश उपसभापति शेरबहादुर थापाले अन्य रोगहरु लागे उपचारका लागि देश बाहिर जाने गरिएकोमा आँखाका बिरामीहरु भने उपचारका लागि नेपालमा आउने गरेका बताउनुभयो ।

नेत्र ज्योति संघ गुल्मीको सभापतिमा रहँदा पु¥र्याएको योगदानको कदर गर्दै हालै केन्द्रीय समितिमा स्थापना भएको डा.रामप्रसाद पोखरेल पुरस्कारबाट नगद सहित सम्मानित हुनुभएका थापाले पुरस्कृत रकम सोही समारोहमा नेत्र ज्योति संघ गुल्मीका सभापति अखिलेश्वरप्रसाद पाण्डेलाई हस्तान्तरण गर्नुभयो ।

उहाँले यस अघि पनि आर्थिक वर्ष २०७६मा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान अन्र्तगतका सम्पूर्ण शाखाहरुमध्ये उत्कृष्ट भई प्राप्त गरेको नगद पुरस्कार समेत संस्थालाई हस्तान्तरण गर्नुभएको थियो ।भने नेत्र ज्योति संघका लेखापाल वीर बहादुर कार्की पनि नेत्रज्योति सम्मान पुरस्कारबाट पुरस्कृत हुनुभएको थियो । सो अवसरमा सम्मानित हुनुभएका निवर्तमान सभापति थापा र लेखापाल कार्कीलाई जिल्लासभामा बधाई ज्ञापन गरिएको थियो ।

राजनैतिक दलहरुको तर्फबाट बोल्दै नेपाली काँग्रेस जिल्ला सह–सचिव धर्म पाण्डेले आँखा मानवीय जीवनको सबैभन्दा महत्वपूर्ण अंग भएको भन्दै आँखालाई बचाउन जनचेतनाको क्षेत्रमा काम गर्न पनि आवश्यक रहेको बताउनुभयो । प्रत्येक नागरिकहरुको स्वास्थ्यको क्षेत्रमा सरकारले दायित्व लिनुपर्ने भन्दै स्थानीय सरकारहरुले पनि नागरिकहरुको स्वास्थ्य सेवालाई प्रमुख प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो । सरकारले जनताको स्वास्थ्य उपचारका लागि सुरक्षा दिन सक्नुपर्नेमा जोड दिनुभयो ।

कृष्ण हरि आँखा उपचार केन्द्र मुसिकोट नगरपालिका वामीटक्सारका अध्यक्ष अग्निधर लोहोनी, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेल, रुपन्देही शाखाका कोषाध्यक्ष राजेश ढकाललेले शुभकामना मन्तव्य राख्दै गुल्मी जिल्लामा नेत्र ज्योति संघले आँखाका बिरामीहरुको उपचारका लागि खेलेको भूमिका अतुलनिय रहेको बताउनुभयो ।

नेत्र ज्योति संघको वार्षिक प्रतिवेदन सचिव पदमप्रसाद पाण्डे, कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष वीरेन्द्र भुसालले प्रस्तुत गर्नुभएको थियो । नेपाल नेत्र ज्योति संघले सञ्चालन गरेका अभियानमा महत्वपूर्ण सहयोग पुर्याएको भन्दै मालिका गाउँपालिकालाई नेत्र ज्योति संघले प्रशंसा पत्रसहित सम्मान समेत गरेको छ ।

सचिव पाण्डेले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार मोतिया विन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रियाका लागि रेसुंगा नगरपालिका, इस्मा गाउँपालिका, गुल्मीदरबार गाउँपालिका, छत्रकोट गाउँपालिका र रुरक्षेत्र गाउँपालिकाले नेत्र ज्योतिसँग सम्झौता गरेका छन् । जसबाट अन्धोपनलाई निवारण गर्ने उद्देश्य सहित आर्थिक अभावमा कारण आँखा उपचार तथा शल्यक्रिया सेवाबाट वन्चित भई दृष्टिविहिन हुन नपर्ने पाण्डेले बताउनुभयो ।

सम्झौता अनुसार रेसुंगा नगरपालिकाका ९८ जना, गुल्मीदरबार गाउँपालिकाका ५६ जना, इस्मा गाउँपालिकाका ३४ जना, छत्रकोट गाउँपालिकाका ३९ जना र रुरुक्षेत्र गाउँपालिकाका १९ जनाले मातिया विन्दुको अप्रेशन सेवा लिएका पाण्डेले जानकारी दिनुभयो ।

सभापति अखिलेश्वर प्रसाद पाण्डेको अध्यक्षता रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीको प्रमुख आतिथ्यता एवम् नेपाल नेत्र ज्योति संघका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश सभापति सागरप्रताप राणाको बिशेष आतिथ्यता रहेको कार्यक्रममा सह–सचिव कृष्णप्रसाद पोखरेलको स्वागत मन्तव्य तथा सचिव पदमप्रसाद पाण्डेको सञ्चालन सम्पन्न भएको थियो ।

सम्बन्धित शिर्षक :