पाल्पाका १० हजार ३ सय वढी किशोरीहरुलाई एचपिभी खोप लगाइने

स्वास्थ्यसमाचार/पाल्पामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि. खोप अभियान सुरु हुने भएको छ । पाठेघरको मुखको क्यान्सर रोक्न १० देखि १४ वर्ष उमेर समुहका किशोरीहरु र ६ देखि १० कक्षा सम्मका विद्यार्थीहरु लक्षित गरेर एच.पि.भि. खोप अभियान सुरु हुने भएको हो ।

स्वास्थ्य कार्यालय, पाल्पाले तानसेनमा आयोजना गरेको जिल्ला स्तरीय खोप समन्वय समिति बैठक तथा सञ्चारकर्मी अभिमुखीकरणमा अभियान सञ्चालन हुने जानकारी दिएको हो । अभिमुखीकरणको सहजिकरण गर्दै स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोखरेलले पाल्पामा यही माघ २२ गतेदेखि रम्भा, माथागढी, पुर्वखोला, रामपुर र निस्दी तथा माघ २८ गतेदेखि रैनादेवी छहरा, रिब्दीकोट, तानसेन, बगनासकाली र तिनाउ गाउँपालिकामा अभियान सुरु हुने बताउनुभयो ।

उहाँले अभियान अन्तरगत स्वास्थ्य संस्थाबाट प्राप्त तथ्याङ्क अनुसार रामपुरमा १ हजार ९ सय ४३, पुर्व खोलामा ६ सय ९६, रम्भामा ६ सय १६, बगनासकालीमा ५ सय ४८ किशोरीहरुलाई खोप लगाउने लक्ष्य रहेको बताउनुभयो । त्यस्तै तानसेनमा २ हजार ३ सय ९०, रिब्दीकोटमा ६ सय ५८, रैनादेवी छहरामा १ हजार ७८, तिनाउमा ७ सय ११, माथा गढीमा ९ सय ६१, निस्दीमा ७ सय ८९ र विद्यालय बाहिरका ७० जना गरि जम्मा १० हजार ४ सय ५८ जना किशोरीहरुलाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ ।

एच.भि.पि. खोप पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लगाइने खोप हो । नेपालमा प्रत्येक वर्ष १ हजार ३ सय १३ जना (प्रत्येक दिन ४ जना) महिलाको मृत्यू पाठेघरको मुखको क्यान्सरबाट हुन्छ ।अभिमुखीकरणको सहजिकरण गर्दै खोप अधिकृत विश्वनाथ न्यौपानेले गर्भवती महिला र क्यान्सर भएका, एलर्जी हुने, अपरेसन गरेका सिकिस्त बिरामी बाहेक अन्य व्यक्तिले खोप लगाउन मिल्ने बताउनुभयो ।

उहाँले विद्यालय नजाने किशोरीहरुलाई गाउँ, टोल र पिछडिएका वर्ग समुदायका किशोरीहरुलाई समेट्ने उद्देश्यले थप खोप केन्द्र सञ्चालन गरिएको बताउनुभयो । विद्यालय बाहिर रहेका किशोरीहरुलाई समेट्न ५ प्रतिशत बढी खोप डोज आउने हुँदा खोप संख्या नपुग्ने संभावना नरहेको न्यौपानेले बताउनुभयो ।

एच.पि.भि. खोप अभियानमा महिला स्वास्थ्य स्वयंसेविका, विद्यालय नर्स, शिक्षिका र तालिम प्राप्त स्वास्थ्यकर्मी परिचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ । लक्षित किशोरीहरु सम्म पुग्न संघसंस्था पहिचान तथा पैरवी बैठक, सञ्चारमाध्यम मार्फत सचेतनामुलक सुचना सामग्री उत्पादन तथा प्रचारप्रसार र समाजिक सञ्जालको प्रयोग गरी खोपको महत्व बुझाउनुपर्ने र सोही अनुरुपको योजना बनाएको पोखरेलको भनाई छ ।

अभिमुखीकरणमा पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले खोप अभियानलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले लक्षित समूहसम्म अभियानको जानकारी पुर्‍याउनका लागि सञ्चारमाध्यमले प्रचारप्रसारलाई प्राथमिकता दिन अनुरोध गर्नुभयो । पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमल राज तिमिल्सिनाले अभियान सफल बनाउन पाल्पाली पत्रकार र सञ्चारमाध्यमले पुर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

जिल्ला समन्वय समितिकी उपप्रमुख काशिका गैरेले अभियान सफल बनाउन विद्यालय बाहिर रहेका किशोरीहरुलाई थप प्राथमिकता दिएर अघि बढ्न अनुरोध गर्नुभयो । समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख टंक प्रसाद खनालले अभियान सञ्चालन गर्न जिल्ला स्वास्थ्य कार्यालयको टिम सक्षम रहेको भन्दै अभियान सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

सम्बन्धित शिर्षक :